१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एक वर्ष ढिलो हुने निश्चित

तनहुँमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको कार्यालय। तस्बिर : सन्तोष/नागरिक

सन्तोष पोखरेल/श्रीहरि पौडेल
तनहुँ – बाँध क्षेत्रमा काम गर्न नपाउँदा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले गति लिन सकेको छैन। बाँध क्षेत्रमा पूर्वाधार बनाउने जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले काम नगरेपछि सम्झौता रद्द भएको र नयाँ निर्माण कम्पनी छनोट प्रक्रिया लम्बिएपछि गति सुस्त भएको हो। अरू पूर्वाधार बनाउने काम चलिरहे पनि बाँध क्षेत्रको काम भने पुरै ठप्प छ।

सिएमसीको ठाउँमा नयाँ कम्पनि छान्ने प्रक्रिया अघि बढेको आयोजनाले बताएको छ। नयाँ कम्पनी आएपछि मात्र पूर्वाधार बनाउने कामले गति लिने आयोजनाले बताएको छ। आयोजनाका साइट इन्चार्ज रमेशमान श्रेष्ठका अनुसार तीनवटा प्याकेजमा काम गरे पनि पहिलो प्याकेजमा पर्ने बाँध क्षेत्रका पूर्वाधार बनाउने काम पुरै रोकिएको छ। अरू दोस्रो र तेस्रो प्याकेजको काम भने भइरहेको उनले बताए।

श्रेष्ठका अनुसार सिएमसीले काम नगरेपछि गत फागुनमा सम्झौता पनि तोडिएको छ। सिएमसीसँगको सम्झौता तोडिएपछि नयाँ ग्लोबल टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरेर मूल्यांकनको काम भइरहेको उनले बताए। नयाँ टेन्डर आह्वान गर्दा विभिन्न स्वदेशी र विदेशी गरी १९ वटा कम्पनी इच्छुक देखिए पनि चारवटा कम्पनी मात्र छनोटमा परेका थिए। ती चारवटा कम्पनीको मूल्यांकन भइरहेको उनले बताए। ‘पहिलो प्याकेजमा पर्ने बाँध क्षेत्रको पूर्वाधार बनाउन चारवटा कम्पनी छनोटमा परेपछि उनीहरूको अवस्था मूल्यांकन भइरहेको छ,’ श्रेष्ठले भने, ‘मूल्यांकन सकिएपछि एउटा कम्पनी छानिन्छ र त्यही कम्पनीले पहिलो प्याकेजका काम गर्नेछ।’

पहिलो प्याकेजमा जिम्मा पाएको कम्पनीले सेती नदीमा १४० मिटर उचाइको ड्याम बनाउनेछ। ड्यामको लम्बाइ २१० मिटर लामो हुनेछ। त्यसबाहेक ड्यामसम्मको सडक पनि त्यही कम्पनीले निर्माण गर्नुपर्ने भए पनि आयोजना ढिला हुँदै गएको भन्दै सडकको जिम्मा दोस्रो प्याकेजको काम गरिरहेको कम्पनीलाई दिने तयारी भएको श्रेष्ठले बताए। ‘पहिलो प्याकेजको काम छिटो होस् भनेर ड्यामसम्मको १८ सय मिटर दूरीको सडक दोस्रो प्याकेजको जिम्मा लिएको कम्पनीलाई दिने तयारी छ,’ उनले भने, ‘नयाँ कम्पनी छानिएर आउँदा काम छिटो होस् भन्ने चाहेका हौं। पहिलो प्याकेजको जिम्मा पाउने कम्पनीलाई पर्खिंदा झनै ढिला हुने भएकाले सडकको काम पहिल्यै सक्न खोजिएको हो।’ दोस्रो प्याकेजको काम पाएको कम्पनीले पहिलो प्याकेजमा पर्ने सडकको काम तत्काल थाल्ने उनले बताए।

तनहुँ हाइड्रोपावरले यसअघि गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो। तर, सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरूपमा समस्यामा रहेको भन्दै सिएमसीसँगको सम्झौता तोडिएको थियो। आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग सम्झौता भएको थियो। सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो।

पहिलो प्याकेजमा काम गर्न ढिलाइ हुँदा आयोजना कम्तीमा एक वर्ष पछाडि धकेलिने निश्चित भएको श्रेष्ठले बताए। २०२३ डिसेम्बरसम्म काम सक्ने सुरुको योजना भए पनि निर्धारित गतिले काम हुन नपाउँदा कम्तीमा एक वर्ष पछाडि धकेलिने उनले बताए। ‘सुरुको लक्ष्यअनुसार पाँच वर्षभित्र काम सक्ने थियो। तर, बाँध क्षेत्रको काम एक वर्ष रोकिन्छ। त्यसले गर्दा आयोजना पुरै एक वर्ष ढिला हुनेछ,’ उनले भने, ‘पहिलो प्याकेजको काम आगामी जनवरीमा बल्ल सुरु गर्ने लक्ष्य छ।’

उनका अनुसार अहिलेसम्म भौतिक प्रगति करिब २० प्रतिशत मात्र भएको छ। ‘सुरुमा भौतिक प्रगति निकै नै सुस्त हुन्छ। तर, एउटै काम सकियो भने प्रगति ह्वात्तै बढ्छ,’ श्रेष्ठले भने, ‘कुनै अवरोध नआएको भए तोकिएको समयमा काम सकिन्थ्यो। तर, मुख्यमध्येको एउटा काम रोकिएकाले ढिलाइ हुने निश्चित छ।’ गतिअनुसार काम गर्न नपाउँदा अहिलेसम्मको प्रगतिबाट सन्तोष मान्न नसकिने उनले बताए। ‘पहिलो प्याकेजको काम नै सुरु हुन सकेको छैन। अरू काम भए पनि पहिलो प्याकेजको काम झनै महत्वपूर्ण थियो,’ उनले भने, ‘तर, त्यही नै ढिलाइ भएको छ। एक वर्ष त पहिलो प्याकेजकै कारण ढिलाइ हुनेछ।’ प्याकेज एक र दुईको काम सँगसँगै अघि बढ्नुपर्ने भए पनि गतिमा एकरूपता हुन नसकेको उनले बताए।

प्याकेज दुईमा आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका काम पर्छन्। दोस्रो प्याकेजको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। सिनो हाइड्रोले विद्युत्गृहसम्मको सडक, आउटलेको काम गरिरहेको उनले बताए। आयोजनाको कामलाई केही गति दिनका लागि पहिलो प्याकेजमा पर्ने पहुँचयुक्त सडक बनाउने जिम्मा पनि सिनो हाइड्रोलाई दिने तयारी भएको उनले बताए। बाँधदेखि विद्युत्गृहसम्मको १२ सय मिटर सुरुङ पनि सिनो हाइड्रोले बनाउनेछ। त्यसका लागि विस्फोटक पदार्थ आयात गर्नेलगायतका प्रक्रियागत काम पनि अघि बढिरहेको श्रेष्ठले बताए।

प्याकेज तीनमा भने उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि चितवनको भरतपुरसम्म पु-याउने गरी ट्रान्समिसन लाइन बनाउने काम हुनेछ। तनहुँमा उत्पादित उक्त विद्युत् झन्डै ४० किलोमिटर दूरीको २२० केभीको दोहोरो सर्किट प्रसारण लाइनमार्फत भरतपुर पु-याइनेछ। भारतको केइसी कम्पनीले तेस्रो प्याकेजको प्रसारण लाइनको काम गरिरहेको उनले बताए।

‘केइसीले प्रसारण लाइनको विस्तृत डिजाइन गरिरहेको छ। त्यसबाहेक लाइनका लाथि आवश्यक पोलको डिजाइन पनि भइरहेको छ,’ उनले भने, ‘भरतपुरसम्म पु-याउने भए पनि ट्रान्समिसन लाइनको रुट भने यकिन भएको छैन।’ अहिलेसम्म आयोजनाको बाँधक्षेत्रको ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण गरिसकेको छ। त्यसबाहेक आवास, कार्यालय, पुल, सडकका पूर्वाधार बनिसकेका छन्।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ। यसमध्ये एसियाली विकास बैंक (एडिबी)ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले ८५ मिलियन र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

आयोजनाको विद्युत्गृहमा ७० मेगावाट क्षमताका दुईवटा उत्पादन युनिट रहनेछन्। सेतीमा माटोको अंश रहेकाले हरेक वर्ष जुन र जुलाइमा आयोजना बन्द गरेर बाँध क्षेत्र सफाइ गर्न ‘फ्लसिङ गेट’ राखिनेछ। त्यही योजनामा बाँधमा तीन तहको संरचना निर्माण गरिनेछ। तनहुँको यो आयोजना पूरा भएपछि त्यस क्षेत्रको आर्थिक अवस्था उकासिने व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए।

‘हामीले यो आयोजनालाई निकै नै महत्वका साथ हेरेका छौं। तनहुँको प्रगतिको रूपमा यो आयोजना बन्दै छ,’ उनले भने, ‘विकासमा त यो आयोजनाले तनहुँलाई निकै नै माथि उकास्नेछ। यसको फाइदा हामीले धेरैतिरबाट लिन सकिने भएकाले लाभ पुग्नेछ।’ सकेसम्म कुनै अवरोधबिना आयोजनाले गति लिनुपर्ने उनले बताए।

प्रकाशित: ९ भाद्र २०७६ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App