१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारीवृत्तमा खैलाबैला

काठमाडौं - सरकारले एकैपटक ठूलो संख्यामा वरिष्ठ सहसचिवलाई प्रदेशमा खटाएर कनिष्ठहरूलाई केन्द्रम सरुवा गरेको छ। गत साता बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिवलाई प्रदेशमा खटाएपछि संघका महत्वपूर्ण विभाग र महाशाखा सम्हालेका पाँच दर्जन सहसचिवलाई प्रदेशमा खटाएको हो।

संघीय मामिला मन्त्रालयका प्रवक्ता भूपाल बरालले एकै पटक यती ठूलो संख्यामा सहसचिवलाई प्रदेशमा खटाएको यो पहिलोपटक भएको बताए। उनले भने, ‘यसअघि यसरी यती ठूलो सख्यामा वरिष्ठ सहसचिवलाई प्रदेशमा खटाइएको थिएन। फाट्टफुट्ट वरिष्ठ सहसचिवलाई प्रदेशमा खटाइने गरिएको थियो।’ छ महिनाभित्र अवकाश लिने तयारी गरेका र ६ महिनाभित्रै सचिवमा बढुवा हुन लाइनमा बसेकालाई वरिष्ठ सहसचिवलाई भने प्रदेशमा खटाइएको छैन। मन्त्रालयका प्रवक्ता बराललले पदको वरिष्ठतालाई आधारमा मानेर वरिष्ठ सहसचिवले प्रदेशमा खटाएको जनाए।

प्रदेशमा सरुवा गरिएका केही सहसचिव पहुँचावाला छन्। भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमुनि दवाडी, भन्सार विभागका महानिर्देशक रामेश्वर दगांल, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिहंलाई समेत सरकारले प्रदेशमा सरुवा गरेको छ। लोकसेवा आयोग दुईजना सहसचिवलाई पनि सरकारले सरुवा गरेको छ। संघीय मन्त्रालय स्रोतका अनुसार प्रशासन सेवाका २७ जना वरिष्ठ सहसचिवलाई प्रदेशमा पठाइएको छ। वन, कृषि, कानुन तथा इञ्जिनियङि सेवाका वरिष्ठ सहसचिवलाई पनि प्रदेशमा पठाइएको छ।

संघका सहसचिवहरूलाई प्रदेशमा पठाउँदा सचिव बनाएर पठाउने व्यवस्था छ। उक्त व्यवस्था अनुसार केन्द्रबाट पठाइएका सहसचिव प्रदेशमा पुगे पछि सचिव हुनेछन्। भूमि व्यवस्था विभागका महानिर्देशक दवाडीलाई प्रदेश ३को सामाजिक विकास मन्त्रालयमा सचिव बनाएर पठाइएको छ भने लोकसेवा आयोगका सहसचिव द्धय किशोरजंग कार्की र किरण शर्मालाई प्रदेश २को मुख्यमन्त्रीका कार्यालय र गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सचिव बनाएर पठाइएको छ। यसैगरी भन्सार विभागका महानिर्देशक दंगाललाई गण्डकी प्रदेशको आर्थिक योजना मन्त्रालयमा पठाइएको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक नेपाललाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा र उद्योग विभागका महानिर्देशक सिंहलाई प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयमा सरुवा पठाइएको छ। सामान्यका कृष्णहरि पुष्कर, स्वास्थ्य मन्त्रालयका मधुसुदन बुर्लाकोटी र गृहका वीरेन्द्र यादवलाई पनि प्रदेशमा पठाइएको छ। पुस्करलाई प्रदेश २मा पठाइएको छ। बुर्लाकोटीलाई प्रदेश ३को मुख्यमन्त्रीको कार्यालय र यादवलाई कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सचिव बनाई पठाइएको छ। राष्ट्रपति कार्यालयकी सहसचिव लक्ष्मी बस्नेतको पनि सरुवा भएको छ। उनलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमामा सरुवा गरिएको छ।

पुनर्निर्माण प्राधिकरणका मुकुन्द निरौलालाई प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका तेजराज पाण्डलाई पनि सरुवा गरिएको छ। उनलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा खटाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका डिल्लीराम शर्माको पनि सरुवा गरिएको छ। उनलाई गण्डकी प्रदेशमामा पठाइएको छ।

यसैगरी महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका वीरबहादुर राईलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी निर्वाचन आयोगका शंकर खरेलको पनि सरुवा गरिएको छ। उनलाई प्रदेश ५ को आन्तरिक मामिला मन्त्रालयमा पठाएको छ। प्रदेशमा सरुवा हुने वरिष्ठ सहसचिवमा शिक्षाका टेकनारायण पाण्डे पनि छन्। उनलाई प्रदेश ५ मा सरुवा गरिएको छ। यसैगरी इन्जिनियरिङ सेवाका सुशीलचन्द्र तिवारी, तेजराज भट्ट, गोपालप्रसाद सिग्देल, रामआधार शाहलाई पनि प्रदेशमा सरुवा गरिएको छ।

वन मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यको पनि सरुवा गरिएको छ। उनलाई कर्णाली प्रदेशमा पठाइएको छ। राष्ट्रपति चुरे कार्यक्रमका सहसचिव पे्रमनारायण कँडेलको पनि सरुवा गरिएको छ। उनलाई प्रदेश २ मा सरुवा गरिएको संघीय मन्त्रालयका स्रोतको भनाइ छ।

प्रकाशित: ९ भाद्र २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App