१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा ‘मुन्दुम’

खोटाङ– त्रिभुवन विश्वविद्यालयमा किराँत जातीसँग सम्बन्धित ‘मुन्दुम’ विषयको पठन–पाठन हुने भएको छ। बिश्वबिद्यालयले मुन्दुम अध्येता भोगीराज चाम्लिङको संकलन र सम्पादनमा किराँत राई चाम्लिङ खाम्बातिमले प्रकाशन गरेको ‘मुन्दुमः सृष्टिकथा’ र ‘मुन्दुमः होसुङ (संस्कार)’ तथा ईमानसिं चेम्जोङद्धारा सम्पादित ‘मुन्दुम खाहुन शिक्षा’लाई शिक्षाशास्त्र संकायको एमएड तहमा दर्शनशास्त्र विषय अन्तरगत पठन–पाठन गर्ने भएको हो। 

पोखरा विश्वबिद्यालय अन्तर्गत एमफिल अंग्रेजी विभागको मानवशास्त्रमा मुन्दुम विषय पढाई सुरु गरिएको केही समयपछि त्रिभुवन बिश्वबिद्यालयले पनि मुन्दुम सम्वन्धी पठन–पाठनको तयारी गरेको हो। ‘विश्व विद्यालयको पाठ्याक्रम निर्माण समितिले मुन्दुम पठाउने निर्णय पास गरिसकेको छ,’ मुन्दुम अध्येता चाम्लिङले भने, ‘नयाँ सेसनबाट यो विषय समेटिने जानकारी पाएका छौँ।’ 

मुन्दुमलाई किरातीको सभ्यता, इतिहास, प्रागइतिहास, दार्शनिक दृष्टिकोण, साँस्कृतिकपक्ष लगायतको अध्ययनको प्रमुख आधार मानिन्छ। अधिकांश विदेशी दर्शनशास्त्रीले तयार पारेको दर्शनशास्त्र मात्र अध्ययन अध्यपपन भइरहेको समयमा त्रिभुवन बिश्वबिद्यालयले सय पूर्णाङ्कको मुन्दुम सम्वन्धी दर्शनशास्त्र पढाउने तयारी गरेको जनाइएको छ। पोखरा विश्वबिद्यालयले यसअघि मुन्दुम अध्येता चामलीङको संकलन र सम्पादन रहेको श्रृष्टिकथा ‘मुन्दुमः सृष्टिकथा’लाई एमफिल अंग्रेजी मानवशास्त्रको कोर्समा समेटिसकेको छ। 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका मुन्दुम अध्येता चामलीङ हालसम्म अलिखित रुपमा रहेको किरातको दर्शनशास्त्र मानिने मुन्दुमलाई दस्तावेजीकरण गरेर पुस्तकको रुपमा प्रकाशनको काममा संलग्न छन्। खाम्बातिमले चामलीङको संकलन र सम्पादन रहेको ‘मुन्दुमः सृष्टिकथा’ २०७१ सालमा र ‘मुन्दुमः होसुङ (संस्कार)’ २०७३ सालमा प्रकाशन गरेको थियो। किरातीहरुको संस्कार संस्कृतिको दस्तावेज गर्ने उद्देश्यले जयकुमार राई संयोजक रहेको मुन्दुम संकलन समितिको पहलमा मुन्दुमको खोज तथा अनुसन्धानको काम हुँदै आएको छ। 

प्रकाशित: ८ भाद्र २०७६ १५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App