१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

काठमाडौं – उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रको कर्भडहलमा सम्पन्न फाइनल खेलमा किर्गिस्तानले उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो। यससँगै किर्गिस्तानले एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा दोस्रो पटक उपाधि जित्न सफल भएको छ। यसअघि किर्गिस्तानले तेस्रो संस्करणमा तुर्कमेनिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

सेमिफाइनलमा साबिक विजेता तुर्कमेनिस्तानलाई पराजित गर्दै उपाधि होडमा पुगेको किर्गिस्तानले पहिलो सेटमा उज्बेकिस्तानमाथि २६–२४ को जित निकालेको थियो। निकै प्रतिस्पर्धात्मक सेटमा सुरुआतदेखि अग्रता बनाएको किर्गिस्तानलाई उज्बेकिस्तानले १५ अंकमा भेटाएको थियो। त्यसपछि सँगसँगै अगाडि बढे पनि अन्तिममा किर्गिस्तानले नै बाजी मारेको थियो। सुरुआत राम्रो गरे पनि अग्रता कायम राख्न नसकेको उज्बेकिस्तानले दोस्रो सेट पनि किर्गिस्तानलाई २५–२७ को स्कोरमा सुम्पियो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा किर्गिस्तानले पछि परेको अवस्थामा पुनरागमन गर्दै सेट आफ्नो पक्षमा पारेको थियो। लगातारका दुई सेटमा जित निकालेको किर्गिस्तानविरुद्ध उज्बेकिस्तानले तेस्रो सेटमा उत्कृष्ट खेल्दै खेलमा फर्किने प्रयास गरे पनि असफल रह्यो। दुई सेटमा जित निकाल्दै मनोबल बटुलिसकेको किर्गिस्तानले उज्बेकिस्तानलाई खुलेर खेल्न दिएन। तेस्रो सेटमा पनि उज्बेकिस्तानलाई दबाबमा राख्यो। पुनरागमनका लागि आक्रामक देखिएको उज्बेकिस्तानका खेलाडीले प्रहार गरेका केही स्पाइक सही ठाउँमा नलाग्दा टोलीले सेट २५–१९ ले गुमाउन पुग्यो। सबै सेट गुमाएको उज्बेकिस्तान यसअघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकाले पनि फाइनलमा किर्गिस्तानविरुद्ध निरीह देखियो।

च्याम्पियन किर्गिस्तानले समूहचरणमा नेपाललाई र अर्को सार्क टोली माल्दिभ्सलाई पराजित गर्दै समूहविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनल प्रवेशका लागि साबिक विजेता तुर्कमेनिस्तानलाई पाखा लागाउँदैे किर्गिस्तानले आफूलाई उत्कृष्ट टोलीका रूपमा प्रमाणित गरेको थियो।

नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा भने आयोजक नेपालले इतिहासकै खराब प्रदर्शन ग¥यो। समूहचरणका सबै खेल गुमाएको नेपालले पाँचांै स्थानका लागि भएको खेलमा अर्को सार्क राष्ट्र अफगानिस्तालाई हराउँदै प्रतियोगितामा सान्त्वना जित हात पारेको थियो। प्रतियोगिता आयोजना हुनुपूर्व अफगानिस्तानविरुद्ध भएका दुई मैत्रीपूर्ण खेलमा पनि नेपालले जित निकाल्दै राम्रो संकेत देखाएको थियो। तर प्रतियोगिताअन्तर्गत समूहचरणमा एक सेटमा पनि जित निकाल्न नसकेको नेपालले पाँचांै स्थानको छिनोफानोका लागि अफगानिस्तानविरुद्ध भएको प्रतिस्पर्धामा भने सुधारिएको प्रदर्शन गरेको थियो। सेन्ट्रल जोनकै इतिहासमा नेपालले माल्दिभ्सविरुद्ध पनि राम्रो खेल प्रदर्शन गर्न सकेन। सेन्ट्रल जोन प्रतियोगिताकै लागि भनेर भलिबल संघले विदेशी प्रशिक्षक ल्याए पनि अपेक्षाअनुसारको खेल नेपालले देखाउन सकेन। घरेलु कोर्टमा आयोजना भएको यति ठूलो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको लक्ष्य राखेको नेपालको इच्छा अधुरै रह्यो।

सात टोलीको सहभागिता रहेको प्रतियोगितामा साबिक विजेता तुर्कमेनिस्तान तेस्रो बन्दा माल्दिभ्स चौथौ बन्यो। यस्तै नेपाल पाँचांै बन्दा अफगानिस्तान छैटौं तथा बंगलादेश सातौं रहे। प्रतियोगितामा किर्गिस्तानका केनिबेक ओनोलबेक उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट स्पाइकर उज्बेकिस्तानका सोविरोभ स्लोमजोन, उत्कृष्ट ब्लकर तुर्कमेनिस्तानका गल्येभ मिथुन, उत्कृष्ट सेटर किर्गिस्तानका मुसैभ झामाल्लिदन तथा उत्कृष्ट लिबेरो उज्बेकिस्तानका सातोरोभ दिलमुरोध चुनिए।


सेन्ट्रल जोनको इतिहासमा नेपालको प्रदर्शन
संस्करण    विजेता    उपविजेता नेपालको स्थान
पहिलो    तुर्कमेनिस्तान    माल्दिभ्स    चौथो
दोस्रो    बंगलादेश    किर्गिस्तान    चौथो
तेस्रो    किर्गिस्तान    तुर्कमेनिस्तान    तेस्रो
चौथो     तुर्कमेनिस्तान    बंगलादेश    चौथो
पाँचौं    किर्गिस्तान    उज्बेकिस्तान    पाँचौं

प्रकाशित: ८ भाद्र २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App