१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिकेन नयाँ जातको अलैंची

इलामको कोल्बुङमा मकैबारी, करेसाबारी सबैतिर ढाक्नेगरी खेती गरिएको अलैंची। तस्बिर ः भीम÷नागरिक

इलाम - रोङ गाउँपालिका–६, जिर्मलेका किसान टेकबहादुर वाइबाले गत वर्ष २१ मन (प्रतिमन ४० किलो) सुक्खा अलैंची उत्पादन गरे। यो वर्ष पनि उनले अलैंची टिप्न थालेका छन्। तर, वाइबा भन्छन्, ‘उत्पादन घटेर बगानमा पस्ने जाँगरै छैन।’ नयाँ जातको अलैंचीले केही वर्ष त राम्रो उत्पादन दियो। तर, जति बगान पुरानो हुँदै गयो, उत्पादन घटेको घट्यै छ। ‘पहिलो र दोस्रोपटक राम्रै उत्पादन भए पनि तेस्रो पटकदेखि उत्पादनै हुन छाडेको छ,’ वाइबाले भने, ‘पहिलाजस्तो एकपटक रोपेपछि वर्षाैंसम्म फलिरहने आशा अब नगरे पनि हुनेरहेछ।’

वाइबा आफ्नो मात्र नभएर गाउँमा अरू किसानले उत्पादन गरेको अलैंची पनि खरिद–बिक्री गर्छन्। ‘मेरो बगानमा मात्र होइन, अलैंचीले सबैजसो किसानको आस मार्दै छ, उत्पादन ज्यादै कम भएको छ,’ उनले भने, ‘रोपेपछि एक–दुईपटक धेरै उत्पादन हुने, त्यसपछि बगानै सखाप हुने समस्या देखिएको छ।’

माइजोगमाई गाउँपालिकाकी सीता सुवेदीले चार वर्षअघि आफ्नो मकैबारीसमेत मासेर अलैंची लगाइन्। नयाँ जातको अलैंची, त्यसमा पनि सिँचाइ नै नचाहिने भएपछि उनले तरकारी खाने करेसाबारीमा समेत अलैंची नै रोपिन्। पोहोर उनको बगानमा राम्रोसँग अलैंची फल्यो। यो वर्ष पनि बगानमा पोहोरभन्दा राम्ररी अलैंची फलेको छ। तर, उनी अहिले आफ्नो बगानमा धमाधम चियाका बिरुवा रोप्दै छिन्। ‘यो बोटको अलैंची फल्ने यही वर्ष अन्तिम भएकाले चिया लगाउँदै छु,’ उनले भनिन्, ‘यो जातको अलैंचीले मुख्य फसल दिने नै दुई सिजन मात्र हो, बोट सखाप हुने अघिल्लो साल चाहिँ औधी फल लाग्छ। आउँदो सालदेखि यो काम लाग्दैन।’

एकपटक रोपेपछि दशकौंसम्म फलिरहने स्थानीय जातको अलैंचीले केही वर्षअघि देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको थियो। तर, रोग–कीरा संक्रमणले ९० प्रतिशतभन्दा बढी अलैंची सखाप भएपछि किसानका बगान करिब आधा दशक उजाड नै रहे। किसानले पुनः भारतबाट भित्रिएको नयाँ जातको अलैंची लगाए। जिल्लाको जिर्मले गाउँमा पहिलोटक रोपिएको नयाँ अलैंचीले इलाम मात्र होइन, अन्य जिल्लासमेत छायो। किसानले मकैबारी, तरकारी बारी सबै मासेर अलैंची लगाए। जिर्मलेमा यसको बिरुवा बढी पाइने भएकाले यसको नाम नै ‘जिर्मले’ राखियो। तर, जिर्मलेमा अलि बढी समय टिकिरहेको यही अलैंची अन्य स्थानमा चाहिँ भरपर्दाे हुन सकेको छैन।

नगरपालिका–५, बरबोटेका किसान हरि दुलालले जिर्मले र भार्लाङ जातको अलैंची टिकाउ नभएको बताए। ‘पोहोर तीन मन सुक्खा अलैंची भएको मेरो बगानमा अहिले आधा पनि आउँदैन,’ उनले भने, ‘बोटमा रोग त खासै देखिएको छैन तर दुई पटकभन्दा बढी फल्दै फलेन।’ उनले स्थानीय अलैंचीजस्तो जंगलमा नफस्टाउने भएकाले नयाँ अलैंची चाहिँ मकैबारीसमेत मासेर खेती गरेको बताए। ‘नयाँ खालको अलैंची पहिलाको जस्तो उत्तिसको जंगलमा फस्टाएन, खुला ठाउँ चाहिँदोरहेछ,’ उनले भने, ‘तर, दुई पटकभन्दा बढी उत्पादन नै नहुने भएकाले मिहिनेत चाहिँ धेरै लाग्यो।’

डाँठ हरियो र पातमा झुस भएको नयाँ जातको अलैंची पानी नभएको सुक्खा हावापानीमा पनि सुरुमा राम्ररी फस्टाउने गरेको थियो। फाकफोक, सुलुुबुङ, सुम्बेक, माइमझुवा, माबु, सोयाङ, नामसालिङ, साखेजुङ, शान्तिडाँडा, धुसेनी, पञ्चकन्या, बरबोटे, आमचोक, नयाँबजार र माइपोखरीलगायत गाउँका किसानले यो अलंैचीका बिरुवा पाखाभित्ता सबैतिर लगाएका थिए। तर, अलैंची सोचेजस्तो दिगो खेती नहुने देखेपछि किसान अलैंची मासेर अन्य बाली लगाउँदै छन्।

अलैंचीको जात नै पानीमा फस्टाउने भएकाले पानी नै नलगाएका कारण पनि मासिएको हुनसक्ने जिर्मलेका अर्का किसान टंक थापाले बताए। ‘एकपटक रोपेको अलैंची दुई वर्ष पुगेपछि फल्छ, त्यसको दुई वर्षपछि मासिएर जान्छ,’ उनले भने, ‘कतिपय किसानले पानीबिना पनि उत्पादन हुन्छ भन्ने बुझेकाले पनि यो अलैंची नटिकेको होला, जुनसुकै भए पनि अलैंचीलाई सिँचाइ चाहिँ गर्नैपर्छ।’ उनले अलैंचीको जरामा पानी नपुगे यसको उत्पादन आफै कम भएर जाने बताए। ‘कतिपय अवस्थामा यसको बिरुवा रोपाइले पनि फरक पार्छ,’ उनले भने, ‘जमिनभन्दा एक भित्ताजति गाडेर रोपिएको बिरुवा अलि बढी टिक्ने अनुभव भएको छ।’ एकातिर संक्रमित भएको बिरुवा अर्काेतिर लगेर विस्तार गर्दा रोग सरेर जाने गरेकाले धेरै किसान यसरी पीडित भएको उनको भनाइ छ।

स्थानीय जातको अलैंची पूरै मासिए पनि केही वर्षको अन्तरालमा रोपिएको पुरानै जातको उत्पादन भने राम्रो छ। इलाम नगरपालिका–१२, साङरुम्बाका किसान तिलक राईले आफ्नो बगानमा भने उत्पादन बढ्दो अवस्थामा रहेको बताए। ‘पोहोर १४ मन सुक्खा अलैंची भएको बगानमा अहिले १६ मन हुनसक्छ,’ उनले भने, ‘नयाँ जातको बिरुवा नटिकेर पुरानै अलैंचीको बिरुवा रोपेकाले रोग पनि देखिएको छैन।’ उनले अलैंचीलाई सिँचाइ र हावापानी मिल्दो भए यसले उत्पादन राम्रो दिने बताए।

सुरुमा अलैंची फस्टाएपछि किसानले अलैंची सहकारी नै गठन गरेका थिए। सहकारी गठन गरेपछि उनीहरूले विभिन्न निकायबाट प्राविधिक सहयोगसमेत लिएका थिए। माइमझुवा गाउँमा २०६८ असोजमा नेपालमै पहिलोपटक अलैंची सहकारी गठन भएको थियो। सहकारीले किसानका लागि नयाँ जातका अलैंची बिरुवा वितरण पनि ग¥यो। उत्पादन अत्यन्तै घटेपछि मूल्य अकासिएकाले किसान अलैंचीमा आकर्षित थिए।    

अलैंची खेतीको प्राविधिक पक्ष हेरिरहेको फिक्कलस्थित अलैंची विकास केन्द्रका अनुुसार हावापानी र उचाइ नमिलेकाले नयाँ जातको अलैंची मासिएको जनाएको छ। ‘जुन अलैंची जुन उचाइमा हुन्छ, त्यसलाई त्यहीं खेती गर्दा मात्र फस्टाउने हो,’ केन्द्र प्रमुख पदम अधिकारीले भने, ‘नयाँ अलैंची फल्यो भन्दैमा सबैतिर रोपेर सप्रिने होइन।’

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँबराबरको निकासी हुने अलैंची देशका ४२ जिल्लामा उत्पादन हुने गरेको छ। नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो। कुल उत्पादनको ९४ प्रतिशत पूर्वी पहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम र भोजपुर)मा हुन्छ। फिक्कलस्थित नेपाल अलैंची विकास केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा देशको १७ हजार चार हेक्टरमा अलैंची खेती भएको छ। यसमध्ये १२ हजार सात सय ७९ हेक्टरको उत्पादशील क्षेत्रबाट ६ हजार हजार आठ सय ४९ मेट्रिक टन अलैंची उत्पादन भएको छ।

प्रदेश १ मा सबैभन्दा बढी १३ हजार नौ सय ४० हेक्टरमा गरिएको खेतीबाट ६ हजार एक सय ६ मेट्रिक टन अलैंची उत्पादन भएको छ। प्रदेश ३ मा एक हजार दुई सय ४० हेक्टरमा तीन सय ३८, गण्डकी प्रदेशमा एक हजार चार सय ७७ हेक्टरमा तीन सय १३, प्रदेश ५ मा दुई सय पाँच हेक्टरमा ४८, कर्णालीमा एक सय २० हेक्टरमा ४० र प्रदेश ७ मा २२ हेक्टरमा गरिएको अलैंची खेतीबाट चार मेट्रिक टन उत्पादन भएको केन्द्रका लक्ष्मीनारायण शर्माले जानकारी दिए।

प्रकाशित: ८ भाद्र २०७६ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App