१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मेरो प्यारो उत्तरे

पाहुनाको स्वागतमा उभिएका श्री टाँडी मावि, सिरानटारका विद्यार्थी।

हेमन यात्री
पानी घट्टजस्तो घुमिरहन्छ समय। मानिस समयको पखेटा समाएर उडिरहन्छ कताकता। तर स्थान कहिले नफेरिँदो रहेछ ! मात्रै दृष्य फेरिने। अझ केही उद्देश्यसहित पहिलोपटक पाइला राखेको ठाउँको सम्झना विशेष हुने नै भयो। हो, उत्तरे स्कुल त्यस्तै स्थान हो मेरा लागि। बत्तीस वर्षअघि, अक्षरको घाम ताप्न पहिलोपटक हिँडेर पुगेको जग्गा हो उत्तरे। मैले पहिलोपटक अक्षर लेख्न सिकेको उत्तरे स्कुलमा, उत्तरे मात्रै छ आज। स्कुल छैन। बरु उत्तरेको छातीमा निर्वाध मोटर गुड्छन् अचेल।

कहिलेकाहीँ म पनि मोटर चढेरै पुग्छु त्यता। एकैछिन रोकिन्छु र उघार्छु आफैसँग छुटिगएका ती घुर्मैला दिनका पुराना दैला।   

कति वर्षको थिएँ हुँला, ठ्याक्कै याद भएन। तर, डेढ घन्टाको उकालो छिचोलेर उत्तरे स्कुल पुग्न सक्ने भइसकेको थिएँ। हामीजस्ता बच्चाको सहजताका निम्ति नजिकमा स्कुल थिएन। हिँडेर त्यतिका टाढा जानुपर्ने भएकाले, उमेर केही उकालो लागिसकेको हुनुपथ्र्यो। आफूले इच्छा गरेर होस् वा आमाबाको चाहनाले मात्रै सम्भव हुँदैन थियो स्कुल जान। तर, स्कुल टाढा भएको क्षतिपूर्तिस्वरूप आमाले घरमै साँवा अक्षर सिकाउनु हुन्थ्यो।

घरमा मभन्दा माथिका दुई नाना स्कुल जानु हुन्थ्यो। कहिलेकाहीँ नानाहरूलाई पछ्याएर जान्थेँ म। स्कुल गएको दिन यति बिजोग हुन्थ्यो, नानाहरूले मलाई सम्हाल्दाकै हैरान। स्कुल जाने बाटो उकालै–उकालो। सकुन्जेल त नानाको पछिपछि हिँड्थे नि। गल्दै गएपछि नानाहरूले उकालोमा ठेल्दै लग्नुहुन्थ्यो। स्कुल पुग्दा थाकेर लखतरान हुन्थेँ। स्कुलमा दिनभर निदाएर फर्कन्थें। अर्को दिनदेखि, मेरो हैरानी थेग्न नसकेर नानाहरू मलाई नलगि टाप कस्नुहुन्थ्यो। सुरुका दिनमा यसरी नै मुस्किलले वर्षभरमा दुई–चार दिन उत्तरे स्कुल गएँ हुँला म !

खाेँचमा थियो स्कुल। मानौँ, त्यहाँ ठूलो पोखरी थियो उहिल्यै। अर्को मञ्जुश्री आएर दुईतिर काटेर पानी बगाईदिए। बाँकी भाग डाँडा बनेर उभिए। हुन पनि केही नमिलेको ठाउँ थियो उत्तरे स्कुल बसेको ठाउँ। कोल्टो परेको जग्गा। बिहान स्कुल सुरु हुँदा पनि घाम राम्ररी आउँदैनथ्यो। दिउँसो आकाश बीचमा घाम पुगेका बेला अलिकति झुल्किएर भागिहाल्ने। साँझ स्कुल छुट्टी भइसक्दा थपक्क जाडो आएर कलिलो शरीरमा काँडैकाँडा भएर बसिसक्थ्यो। जाडोको शासन सहन नसकेर स्कुल छुट्टी नभइ भागिसक्थे विद्यार्थी।

लत्रिएको अनुहार बोकेर कुवामा पुगेँ। खुट्टामा बगेर झरेको दिसा जति धोएर फर्किएँ। कक्षामा सरहरू आउनुभयो, नाक छोप्नुभयो। यसरी सरहरू आउँदै नाक छोप्दै फर्किदै गरेपछि त्यसदिनको हाम्रो पढाइ रोकियो। आधा दिनमै कक्षा एकलाई छुट्टी दिइयो। कट्टु हगुवाको बिल्ला भिरेर हारेको जुवाडेजस्तोे भएर घर फर्किएँ म। 

उत्तरे स्कुल वरपर प्रायः जंगल थियो। स्कुलसँगै जोडिएको थियो गोरेटो। जसलाई मूलबाटो भन्थे मानिस। धनकुटा, पानथरदेखिका मानिस त्यही बाटो मोरङको मधुमल्ला बजार झर्थे। मधुमल्ला बजार, सोमबारे हटिया नामले प्रख्यात थियो। प्रत्येक सोमबार लाग्ने हटिया त्यस क्षेत्रको नामी बजार मानिन्थ्यो। हरेक आइतबारका दिन उत्तरे स्कुलको बाटो भएर सोमबारे हटिया जान्थे मानिस र मंगलबार बजार भरेर त्यही बाटो फर्कन्थे।

स्कुल छेवैमा थियो भिमकाय वर–पीपलको बोट। उत्तरे स्कुलको एक पाटे टिनको जस्तालाई छुन लर्किएर आइपुग्थे वर–पीपलका डाला। मध्यान्हको घाममा बटुवा त्यही वरपीपलका फेदमा ढाकर बिसाउँथे। शितल ताप्थे। चौतारीको आडैमा बटुवा र स्कुले केटाकेटीलाई च्याखे थापेर दोकान राखिन्थ्यो। चक्लेट, दालमोट, तरुल, जाँड यस्तै केही सामान बेच्न राख्थे। गोजीमा अलिकति रूपैयाँ बोक्नेहरू खानेकुरा किनेर खान्थे। बाँकीले हेरेर चित्त बुझाउँथे।

२०१७ सालमा खुलेको स्कुलमा पाइला टेक्दै गर्दा, भौतिक रूपमा गतिलो अवस्था थिएन। ढुंगाले बनेको गारोमा गाढा रातो माटो पोतिएको थियो। भित्रपट्टि कक्षाकोठाको पार्टेसन भने काठको फ्लेकले बनाइएको थियो। एकदमै साना कोठा। मुस्किलले दुई–तीन जोडा डेक्स–बेन्च अट्ने। कक्षाकोठा धुलै–धुलोले भरिएको हुन्थ्यो। दिनैजसो स्याउला भाँचेर कक्षा कोठा सफा गर्नु पथ्र्यो। एउटा कोठावाट अर्को कक्षाको गतिविधि प्रष्ट सुन्न सकिने। नजिक–नजिकका कक्षा कोठामा एकसाथ शिक्षकले पढाउँदा अलमलिन्थ्यो हामी। समाधानको अर्को विकल्प हुँदैनथ्यो। कहिलेकाहीँ कक्षाकोठा बाहिर निकालेर पढाउनुहुन्थ्यो शिक्षकले। 

कक्षा १ मा औपचारिक भर्ना भएपछि मेरो ख्यालमा आउने शिक्षकहरू भीम सर, टंक सर, हर्क सर र दीपेन्द्र सर हुनुहुन्छ। पछि बिमली सर, नवराज सर, यज्ञ सर, नारायण सर, मात्रिका सरकोे माथिल्लो कक्षा लिएँ। तर, कक्षा १ मा पढाउने सरलाई सम्झनुको खास कारण अलि बेग्लै छ। अहिले त्यो घटना सम्झँदा लज्जा र पीडा दुवै हुन्छ।
भर्खर स्कुल जान सुरु गरेको मेरा लागि एउटै कक्षाका साथी समेत आफ्ना भइसकेका थिएनन्। उनीहरूसँग खुलेर कुरा गर्न नसकिरहेको अवस्थामा शिक्षकसँग कुरा गर्न हिमाल चढ्नुजस्तै मुस्किल थियो। त्यसदिन पहिलो घन्टी शिक्षकले पढाइसक्नुभएको थियो सायद !  कक्षामा शिक्षक हुँदाहुँदै मलाई असजिलो महसुस भइसकेको थियो। पेट कटकट दुखेर चुइँकिन सुरु गरिसकेको थियो। बल्ल कक्षा सकेर हर्क सर बाहिर निस्कनुभयो। सर निस्केपछि उहाँको पिछेपिछे निस्कन खोजेको थिएँ। कार्यालय नगइ हर्क सर ढोकाबाहिर उभिएर कुरा गर्न थाल्नुभयो। म भने फर्केर डेक्समा थचक्क बसेँ। पर्वते भाषा राम्रोसँग बोल्न नजान्ने मलाई, सरसँग समस्या राख्ने ल्याकत नै कहाँ थियो र ! गाउँमा मातृभाषा मात्रै बोल्नुको परिणाम थियो त्यो। यता पेट दुखेर खपिसक्नु थिएन। एकैछिनमा फेरि ढोकामा गएर चियो गरेँ, हर्क सर चलमल गरेको भए पो ! फर्केर लुसुक्क बसे आफ्नै ठाउँमा। मलाई के गुज्रिरहेको छ, साथीहरूले अन्दाज पाएको भए मरिजाउँ। म यति निरिह बनेँ कि, अहिले सम्झँदा पनि आफ्नो त्यो अवस्थालाई विचरा भन्न मन लाग्छ।

पेटको दुखाई कम भएको होइन। उठेर बाहिर जान सक्ने सम्भावना क्षिण हुँदै गयो। मेचबाट उठ्ने अवस्था थिएन। उठ्न खोज्यो, पेट हुँडुलिएर दिसा जोडजोडले बाहिर निस्किन खोज्छ। उपाय सकिएपछि डेक्समा थेचारिएर बसँे। दुई हातले बेन्च अठ्याएँ। मेरो संसार मभन्दा पर थिएन। यताउता साथी के गर्दै छन् ? केही थाहा छैन। रिँगटा लाग्लाजस्तो भयो। कक्षाकोठा अध्यारोले छोपेजस्तो। मेचबाट झुन्डिएर तल झरेका खुट्टा आफसेआफ भुइँमा बेस्सरी रगटिन थाले। खुट्टाका पैताला–पैताला आपसमा जोडिएर बेस्सरी कस्सिन थाले। अघिसम्म सिधा भएको टाउको निहुरिएर बिस्तारै निधारले बेन्चमा टेक्यो। आँखा बन्द भयो।

त्यसपछि के–के भयो के–के। आँखा खोल्दा कक्षाकोठामा टंक सर आइसक्नुभएको थियो। ‘तिमरु कस्ले पाद्यो हँ ?’, टंक सरले गोजीबाट रुमाल निकालेर नाक छोप्दै सोध्नुभो। सबै हेराहेर गर्न थाले। मेरो अनुहारबाट उज्यालो खसेर भुइँभरि छरिसकेको थियो। अनुहारको भाका हेरेरै साथीले अन्दाज लगाइसकेका थिए। केहीछिनको केरकारपछि थाहा पाइहाले– मैले पाइन्टमा दिसा गरिसकेको छु। खुट्टामा चुहिदै झरेको पन्यालो दिसा देखाएर छेवैको साथीले भन्यो– ऊ हेमन्तेले पाइन्टमै हगेछ।

आज अन्दाजसम्म लगाउन सक्छु– त्यसबखत मेरो हाल के भयो होला। त्यसपछि टंक सरले क्लास लिनुभएन। सफा गरेर आउनु भनेर कक्षाबाट बाहिर निस्कनुभयो। लत्रिएको अनुहार बोकेर कुवामा पुगेँ। पखाला चुहिएर गोडा हुँदै खुट्टासम्म बगेको थियो। कुवामा पुगेर खुट्टामा बगेर झरेको दिसा धोएर फर्कें। फेरि क्लासमा भीम सर पस्नुभयो, नाक छोप्नुभयो। दीपेन्द्र सर आउनुभयो, नाक छोप्नुभयो। यसरी सरहरू आउँदै नाक छोप्दै फर्किदै गरेपछि त्यसदिनको हाम्रो पढाई रोकियो। आधा दिनमै कक्षा १ लाई छुट्टी दिइयो। ‘कट्टु हगुवा’को बिल्ला भिरेर हारेको जुवाडेजस्तोे भएर घर फर्कें म। 

पाइन्टमा दिसा गरेको दुई–चार दिन लाजले स्कुल जानै सकिनँ। तर, नगई धरै थिएन। आपाले स्कुल पढ्न नपाए पनि छोराछोरीले पढ्नुपर्छ भन्ने जोड दिनुहुन्थ्यो। आपाकै कारण स्कुल निरन्तरता दिन सुरु गरेँ। सुरुका दुई–चार दिन साथीहरूले जिस्क्याए। बिस्तारै बिर्सदै गए।

उत्तरे स्कुल सुरु गरेपछि मैले चिनेका स्कुलका साथीहरू  थिए– हेमराज, हर्क, साङ्ले, बिष्णु यस्तैयस्तै। उनीहरू कक्षा १ का मेरा दोस्त थिए। हेमराज बद्मास थियो– कहिले अन्डकोष छोइदिने, कहिले पाइन्ट खोलिदिने। तन्किने इलास्टिकजडित पाइन्ट लाउँथे म। बाहिर उभिएको ठाउँमा पछाडिबाट आएर स्वात्तै तानेर खोलिदिने। हेमराजको हैरानीले आजितै थियौं हामी। प्रतिरोध गरुँ, आँटै आउँदैनथ्यो। उमेरले आफूभन्दा पाको थियो ऊ। जीउडाल पनि अजङ्गको।

कक्षा १ मा मसँगै भर्ना भएका साथीहरूले उत्तरे स्कुलको निमावि तहसँगै छिचोलेको याद छैन मलाई। यी मेरा स्कुलका प्रारम्भिक दोस्तहरू कता के गर्दै होलान् आज ? म उनीहरूसँगका दिनहरू गन्दै छु।  

२००७ सालको प्रजातन्त्रपछि देशैभर गाउँगाउँमा स्कुल स्थापना हुने क्रममा उत्तरे स्कुल पनि अस्तित्वमा आयो। साँच्चै भन्ने हो भने, प्रजातन्त्रले सर्वसाधारणका छोराछोरीलाई दिएको उपहार भने पनि हुन्छ यसलाई। त्यसअघि यस क्षेत्रमा कुनै पाठशाला थिएन। जेनतेन स्कुल स्थापना भयो। तर नाम मात्रको, न पढाउने शिक्षक, न बस्ने भवन। तत्कालीन रमितेखोला गाउँ पञ्चायतका जगतबहादुर लिम्बु र महेश्वरमान श्रेष्ठ क्रमशः प्रधानपञ्च र उप–प्रधानपञ्च थिए। उनीहरूकै रोहबरमा स्कुल आएको थियो। महेश्वरमानले सुरुका केही दिन आफैंले बाह्रखरी पढाउन सुरु गरेछन्। त्यो पनि आफ्नै घरमा। केही समयपश्चात महेश्वरमान त्यस ठाउँबाट स्थानान्तरण भई अन्तै हिँडे। उनी हिँडेपछि धनकुटाबाट रामप्रसाद काफ्ले शिक्षक भएर आए तर पढ्ने स्थानको अभाव। कहिले स्याउलाको गोठ बनाएर पढ्नु पर्ने, कहिले रुखको छहारीमा बसेर।

समय सर्दै गयो। जेनतेन स्कुल चल्दै थियो। स्कुल सुरु भएको पाँच वर्षपछि बुधबारेबाट कक्षा पाँच पास गरेर भक्तबहादुर राई आइपुगे। स्कुलको अवस्था हेरे। घाम पानी नछल्ने स्याउलाको गोठ हेरे। त्यही गोठमा अक्षर लेख्न सिकिरहेका विद्यार्थी हेरे। दर्दनाक अवस्था देखेपछि उनले स्कुलको भवन बनाउने निर्णय लिए। गाउँलेसँग सहयोग मागे। र, ०२३ सालमा घामपानी छेक्ने भवन बन्यो। स्कुल बनेपछि भक्तबहादुर आफैंले केही वर्ष शिक्षक भएर स्कुल चलाए। हो, त्यही जस्ताको छानो र ढुंगाको पर्खालले बनेको स्कुलबाट निमावि सकें मैले। तर यो त धेरै पछिको कुरा भयो। 

उत्तरे स्कुल ०४३ सालमा निमावि स्वीकृत भएर आयो। निमावि हुनुभन्दा अघिको कथा बेग्लै छ। दुःखले कक्षा ५ सम्म चलिरहेको थियो। एक्कासि २०३० मंसिरमा स्कुल ढल्यो। भएजति शिक्षकले स्कुलबाट हात धोएर हिँडेपछि ३० सालको हिँउदे यामबाट स्कुल सुनसान भयो। स्थापना भएको १३ वर्षपछि यसले आफ्नो लय गुमाउँदै थियो। त्यही वर्षको फागुनपछि अचानक एउटा उज्यालो खस्यो स्कुलमा। उज्यालोका नाम थियो– विजय चाम्लिङ। फागुनमा एसएलसीको जाँच लेखिसकेर उनी सिधै ढलेको स्कुल उठाउन आइपुगे। स्कुल स्थापनाको इतिहासमा सबैभन्दा योग्य शिक्षक भएर आएका थिए उनी। त्यसअघि प्रवेशिका पढेका शिक्षक कोही थिएनन् गाउँमा। 

रमितेखोला र टाँडी क्षेत्रकै पहिलो एसएलसी थिए विजय। उनी आएपछि महिनौँदेखि बन्द स्कुलको दैलो उघ्रियो। विद्यार्थी पुनः आउन थाले। स्कुल बिस्तारै पुरानै लयमा फर्कियो। भनिन्छ– प्रत्येक संकट सामना गर्ने मानिस कोही न कोही जन्मिएका हुन्छन्। उत्तरे स्कुलको संकटसँग जुझ्न विजय चाम्लिङलाई लेखेको रहेछ। ढलेर फेरि एकपटक उठेको त्यही विद्यालयको कक्षाकोठामा लेख्न सिकेका अक्षरका माध्यमबाट यतिका वर्षपछि फेरि एकपटक उत्तरे स्कुलको कक्षाकोठामा पसिरहेको छु म। मजस्ता हजारौँ युवाले यही स्कुलमा लेख्न–पढ्न सिकेर आज दुनियाँ बुझ्न सक्ने भएका छौं।

स्कुल स्थापना भएको ४७ वर्षपछि उत्तरे हरायो। स्कुल मात्रै बाँकी रह्यो। ‘उत्तरे प्रावि’, स्कुलको न्वारानमा राखिएको नाम। हामीले उत्तरेमा पाइला राख्दै गर्दा स्कुलमा भर्खर–भर्खर निमावि तह सुरु भएको थियो। उत्तरे प्रावि बदलिएर ‘श्री टाँडी निमावि, उत्तरे’ भइसकेको थियो। दुई दशकसम्म निमावि तहको साङ्लोमा बेरिएर बस्यो स्कुल। निमावि सञ्चालन भएको २१ वर्षपछि उत्तरे स्कुलको बढुवा भयो। स्कुल मात्रै बढुवा भएन। स्थान समेत बढुवा भयो। साविक उत्तरेबाट अझै माथि सिरानटार पुग्यो स्कुल। सिरानटार पुगेपछि उत्तरे हरायो। उत्तरेको ठाउँ सिरानटारले लियो। यसरी ०६३ सालबाट श्री टाँडी मावि, सिरानटार भयो। उत्तरे भने इतिहासको बेडरुममा निदायो।

डाँडैमा छ सिरानटार। बिहानै झुल्किँदै गरेको घाम आइपुग्छ सिरानटारमा। साँझमा डुब्नै लागेको घामले पनि बिदा मागेर मात्रै डुब्छ। सिरानटारबाट तलतल तराइका फाँट देखिन्छन्। प्रत्येक उज्यालो दिन सस्याना शिवालिक पर्वतको मनोरम दृश्य आँखामा बस्न आइपुग्छन्। सिरसिर चल्ने बतासले हरदम् उत्साहित बनाइदिन्छ मनलाई। वर्षात्मा कहिलेकाहीँ नृत्य गर्दै आइपुग्ने बादलका टुक्राले छोएर जाँदाका आनन्द कम सुन्दर कुरा होइन। होे, अहिले यस्तै परिवेसमा छ मेरो पुरानो उत्तरे स्कुल। आरसिसी भवन, खुला कक्षाकोठा, सफा खानेपानी, व्यवस्थित क्यान्टिन, प्रशस्त खेलमैदान र अनेक खेलसामग्री उपलब्ध छ स्कुलमा।

माध्यमिक तह सुरु भएको छोटो समयमै उल्लेख्य प्रगति गर्दै आइरहेको स्कुल, मोरङकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा परिचय विस्तार गर्दैछ। प्रधानाध्यापक अमृतकुमार राई भन्छन्, ‘अंग्रेजी माध्यमबाट पठनपाठन, कम्प्युटर कक्षा, पुस्तकालय र दिवा खाजाका कारण विद्यार्थी थप आकर्षित भएका हुन्।’

नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ। बाँकी कक्षा नेपाली माध्यम। आगामी शैक्षिक सत्रदेखि कक्षा ११/१२ सुरु गर्ने योजना सुनाए प्रधानाध्यापकले। ‘अहिले पनि दुई–अढाई घन्टा हिँडेर स्कुल आउने विद्यार्थी छन् यहाँ। विहानी कक्षा सञ्चालन गर्दा विद्यार्थी आइपुग्न गाह्रो छ। त्यसैले स्कुलमा, छात्रावासका निम्ति भवनको व्यवस्था भए सजिलो हुने थियो,’ उनले सुनाए। 

आजको टाँडी मावि उत्तरे खोँचबाट सिरानटारमा निस्कनसाथ रातारात बदलिएको होइन। यसको अन्तरमा अनेक दुःख र संघर्षका कथा छन्। माध्यमिक तह सञ्चालन त हुने भयो। तर, स्रोत साधन थिएन। व्यवस्थित भवन, पर्याप्त कक्षाकोठा, डेक्स–बेन्च, योग्य शिक्षक केही थिएन। तर, ‘तिमी आँट म पुर्याउँछु’ भनेजस्तै विद्यालयका तत्कालीन प्रधानाध्यापक मातृकाप्रसाद न्यौपाने, अभिभावक र शिक्षकले आँट गरे। सुरुका केही वर्ष ज्यादै कष्टले कक्षा सञ्चालन भयो। अस्थायी टहरो बनाएर कक्षा सञ्चालन भयो। एउटै कक्षालाई बारेर कक्षा ९/१० का ऐच्छिक विषय सञ्चालन गर्नुपथ्र्यो।

सरकारले दरबन्दी दिएको थिएन। चार–पाँच हजार तलब दिएर निजी स्रोतमा शिक्षक राख्नु परेको यथार्थ कम कहालिलाग्दो थिएन। यतिसम्म कि चार–पाँच हजार तलब दिन समेत स्रोत थिएन स्कुलसँग। तर, प्रअ न्यौपानेले उपाय निकाले– तत्काल समस्या समाधानका लागि स्कुल सेवाक्षेत्रमा रहेका प्रत्येक अभिभावकसँग स्वेच्छिक चन्दा संकलन गर्ने। उतिबेलाको रमितेखोला गाविसका सबै वडामा अभियान सुरु भयो। अभिभावकले सक्दो सहयोग गरे। तत्कालका लागि काम ट-यो। 

सधैं चन्दा उठाएर समस्या समाधान हुँदैन भन्ने बुझेका न्यौपानेले दीर्घकालीन उपाय खोज्न थाले। मुख्य त भवन निर्माणका लागि आर्र्थिक स्रोत, शिक्षक नियुक्तिका लागि दरबन्दीमा केन्द्रित रहे। उनले भ्याएजति शक्ति स्कुलमा लगाए। फलस्वरूप विद्यालयले लय समात्न थाल्यो। स्कुलले प्राविका ५ र माविका २ दरबन्दी पायो। व्यवस्थित कक्षाकोठा सहितका भवन बने। ०६४ सालमा एसएलसीको पहिलो ब्याज निस्कियो। एसएलसी सुरु भएको पाँच वर्षपछि, जिल्लाको सामुदायिक विद्यालयमै सर्वोकृष्ट नतिजा प्राप्त गरेर स्कुलले आफूलाई ‘अब्बल’ प्रमाणित ग-यो। यो उपलब्धीको श्रेय तत्कालीन प्रधानाध्यापक न्यौपाने र जुझारू शिक्षकलाई जान्छ नै। साथै मावि स्थापनाकालमा विद्यालयका निम्ति ‘होस्टेमा हैँसे’ गर्ने तमाम् अभिभावक पनि यसको हकदार हुन्।

उबेलाको उत्तरे प्राविको उमेर ५९ वर्ष भएछ अहिले। तर, अस्तित्वमा उत्तरे कतै छैन। उत्तरेको ठाउँ टाँडी माविले लिएर शासन गर्न थालेको धेरै भइसक्यो। ५९ वर्षको लामो कालखन्डमा अनेक व्यवधान भोग्यो स्कुलले। मजस्ता हजारौँ युवालाई स्मृति मात्रै दिएन यसले, सपना देख्न पनि सिकायो। सपना पछ्याउन सिकायो।

आजका दिनमा उत्तरे स्कुलसँगै जन्मिएका मानिसलाई हेर्ने हो भने, कुप्रो हुँदै गइरहेको देखिन्छ। तर, ५९ वर्षीय पाको स्कुल भने झन् जवान बन्दै छ। यसो हुनुको प्रष्ट कारण छ। आज स्कुलको नेतृत्व युवाको हातमा छ। अधिकांश शिक्षक उत्साही छन्। अमृतकुमार राई, कविन्द्र चाम्लिङ, पर्वत राई, तुलबहादुर घिमिरे, सुवास राई, मन्जिता राई, कृष्णमाया राई, पवित्रा राई, सीता राई लगायतका शिक्षक उत्तरेका उत्पादन हुन्। उत्तरे स्कुलको धुलो र साँघुरो कक्षाकोठाबाट सपना देख्न सुरु गरेका तिनै स्वप्नदर्शी युवा, जो उच्च अध्ययन गरेर आफ्नै स्कुल फर्किए। अहिले उनीहरूकै मेहनतले स्कुल चम्केको छ।

प्रकाशित: ७ भाद्र २०७६ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App