१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘सहकारी संख्या घटाउनुपर्छ’

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको संख्या धेरै भएकाले मर्जर गरेर सहकारीको संख्या घटाउनुपर्ने बताएकी छन्। सहकारी संस्थाको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन्।

मन्त्री अर्यालले सरकारले सहकारी मर्जरलाई प्रोत्साहन गरेको बताउँदै क्षेत्र, भेग, कामको प्रकृति मिल्ने सहकारीका बीचमा एकता गर्नुपर्ने बताइन्। यसको नेतृत्व सहकारीकर्मीले लिनुपर्ने उनको भनाइ थियो। मुलुकमा १०–१२ हजार सहकारी संस्था भए पुग्ने मन्त्री अर्यालले बताइन्। आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार मुलुकमा सहकारीको संख्या साढे ३४ हजारभन्दा बढी रहेको छ।

‘सहकारीको संख्या धेरै भयो,’ उनले भनिन्, ‘सहकारीको संख्या घटाएर गुणात्मक विकास गर्नुपर्छ।’ संख्या घटाउन मर्जरमा जानुको विकल्प नभएको उनले बताइन्। ‘सरकारले जबर्जस्ती मर्जरमा जाऊ भन्न मिल्दैन,’ उनले भनिन्, ‘सरकारको भावनालाई सहकारीकर्मीले बुझिदिनुप-यो।’ यसका लागि सरकारले वातावरण बनाइदिने उनको भनाइ थियो।

मन्त्री अर्यालले अब सहकारी संस्थाहरू उत्पादनमा जानुपर्ने बताइन्। ‘सहकारी संस्था उत्पादनमा जानुपर्छ,’ उनले भनिन्, ‘बजारीकरणमा जान आवश्यक छ।’ अबको पाँच वर्षमा सहकारी क्षेत्रबाट अर्थतन्त्रमा १० प्रतिशत योगदान आवश्यक रहेको उनको कथन थियो। त्यसका लागि सहकारी क्षेत्रबाट रोजगारी बढाउन पनि आवश्यक रहेको धारणा उनले राखिन्। ‘हरेक सहकारीले अनिवार्य रूपमा उद्योग, व्यवसाय गर्नुपर्छ,’ उनले भनिन्। सहकारी अभियानले केही नयाँपन, नयाँ अभ्यासको खोजी गरेको भन्दै उनले त्यस्तो अभियानलाई साथ दिने बताइन्।

प्रकाशित: ६ भाद्र २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App