१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस, मध्य–मधेस, जानकी र मिथिला–भोजपुरा प्रस्ताव

प्रदेशसभा सचिवालयका कर्मचारीलाई प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पत्र बुझाउँदै सत्तापक्षका सांसद एवं प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत। तस्बिरः सुरेश यादव

जनकपुर - प्रदेश २ को नामकरणबारे एउटै दलका सांसदमा पनि विभाजन देखिएको छ। प्रदेशसभा सचिवालयमा बिहीबार दर्ता भएको प्रस्तावका आधारमा नेपाली कांग्रेस र सत्तारुढ दलका सांसद विभाजित भएको देखिएको हो। नेपाली कांग्रेसकै सांसदले ‘नाम र राजधानी’ दुवै विषयमा फरक–फरक प्रस्ताव दर्ता गराएका छन् भने सत्तारुढ दल समाजवादी पार्टी र राजपाका सांसद पनि राजधानीको सवालमा दुई खेमामा बाँडिएका छन्। प्रदेशसभामा प्रमुख चार दलले प्रतिनिधित्व गरिरहेका छन्। तीमध्ये सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संयुक्त रूपमा एउटै प्रस्ताव दर्ता गराए पनि नामकरणमा चार र राजधानीमा पाँच वटा प्रस्ताव आयो।

दलगत रूपमा नामका लागि आएको प्रस्तावमा नेकपाले ‘जानकी प्रदेश’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र समाजवादी पार्टी तथा राजपाले संयुक्त रुपमा ‘मधेस प्रदेश’ प्रस्ताव गरेको छ। नेपाली कांग्रेसकै अर्को पक्षले भने प्रदेशको नाम ‘मध्य–मधेस प्रदेश’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ।

प्रदेशको स्थायी राजधानी र नामकरणका लागि बिहीबार पाँच बजेसम्म प्रस्ताव दर्ता गराउन समय तोकिएको थियो। नामकरणका लागि ्रदेशको नाम नेकपा सांसद रामकुमार यादवले प्रस्ताव गरेका हुन्। उनको यो प्रस्तावमा नेकपाकै सांसद ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादवले समर्थन गरेका छन्।

मिथिला–भोजपुरा प्रदेशको नाम नेपाली कांग्रेसका सांसद नरेशकुमार यादवले प्रस्ताव गरेका छन्। कांग्रेसका सरस्वती चौधरी, मञ्जु कुमारी र उपेन्द्रप्रसाद कुशवाहाले समर्थन गरेका छन्। मध्य–मधेस प्रदेशको नाम कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रस्ताव गरेका छन्। उक्त प्रस्तावमा कांग्रेसकै ओमप्रकाश शर्मा, शंकरप्रसाद चौधरी र अशियादेवी थरूनीले समर्थन गरेका हुन्।

मधेस प्रदेशको नाम सत्तारुढ दलमध्ये समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले प्रस्ताव गरेका छन्। उनको यो प्रस्तावमा राजपाका सांसद सुरिता साह र बबिताकुमारी चौधरीले समर्थन गरेका छन्।

राजधानीको लागि तीन वटा दलगत रुपमा र दुईवटा असन्तुष्ट सांसदहरुले प्रस्ताव दर्ता गराएका छन्। ती मध्ये जनकपुरको पक्षमा तीनवटै प्रस्ताव अर्थात् चारवटै दलको समर्थन देखिएको छ भने पर्सा र बारा जिल्लाका सांसदहरुले वीरगन्जको नाउँमा प्रस्ताव दर्ता गराएका छन्।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रस्ताव गरेको जनकपुरको नाउँमा नेकपाकै प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, सांसदहरु रविन्द्र बैठा र बेची लुंगेलीले समर्थन गरेका छन्। जनकपुरकै प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई कांग्रेसकै प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहा, नरेशकुमार यादव र सरस्वती चौधरीले समर्थन गरेका छन्। सोही नाम प्रस्ताव गर्ने राजपाका प्रमुख सचेतक परमेश्वर साहलाई समाजवादी पार्टीका सांसद सञ्चमाया मोक्तान र चमेलीदेवी दासले समर्थन गरेका छन्।

चारवटै दलले जनकपुर राजधानी हुनुपर्ने प्रस्ताव गरे पनि राजधानीबारे फरक–फरक प्रस्ताव गरेका छन्। नेकपाको तर्फबाट आएको प्रस्तावमा जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषा जिल्ला तोकिएको छ। कांग्रेसले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र भनेको छ। समाजवादी पार्टी र राजपाले जनकपुरधामको मिथिला मध्यमा परिक्रमा सडकभित्र पर्ने क्षेत्रकासाथै धनुषाको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, कमला नदीदेखि पूर्व र भारतीय सीमादेखी उत्तरको भूभागलाई तोकेको छ।

नेपाली कांग्रेसकै शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशियादेवी थरुनीको समर्थनमा राजेश्वरप्रसाद साहले दर्ता गराएको प्रस्तावमा विरगंज महानगरपालिका क्षेत्रलाई राजधानी तोक्नुपर्ने भनिएको छ।

राजधानीको लागि समाजवादी पार्टी र राजपाका सांसदहरु सिंगासन साह कलवार, प्रह्लाद गिरी गोश्वामी, करिमा बेगम, जनत अन्सारी, अन्जु यादव, भीमा यादव र रागिनीदेवी वनरावलले मिलेर अर्को छुट्टै प्रस्ताव दर्ता गराएका छन्। उक्त प्रस्ताव अनुसार विरगंज राजधानी हुनुपर्ने र यसको चौहदी विन्दावासीनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर, निजगढहुँदै सिम्रौनगढसम्म तोकिनुपर्ने हुन्छ।

बिहीबार दर्ता भएका नाम र राजधानी सम्बन्धी प्रस्तावहरु उपर प्रक्रिया अघि बढाउन शनिबार प्रदेशसभा बैठक बोलाइएको सभामुख सरोजकुमार यादवले जानकारी दिए। प्रदेशसभा बैठकमा सबै प्रस्ताव प्रस्तुत भइसकेपछि नियमानुसार छलफल प्रक्रियामा अघि बढ्ने बताउँदै सभामुख यादवले भने, ‘नियमावलीले निर्देशन गरे बमोजिम प्रक्रियामा लगेर केही दिनभित्रै प्रदेशको नामकरण र राजधानीको विषय टुंग्याइनेछ।’

प्रकाशित: ६ भाद्र २०७६ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App