१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

'दद्या' उत्कृष्ट सर्ट फिल्म

काठमाडौं- नेपालको 'दद्या'लाई 'चेन्जिङ पर्सपेक्टिभ सेक्सन'को उत्कृष्ट सर्ट फिल्म घोषणा गर्दै 'एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल' आइतबार सकिएको छ। काठमाडौंको कुमारी सिनेमा हलमा भएको समापन समारोहमा सञ्चारमन्त्री राम कार्कीले 'दद्या'का निर्देशकद्वय पूजा गुरुङ र विभूषण बस्नेतलाई अवार्ड तथा प्रमाणपत्र हस्तान्तरण गरे।

भारत तथा बेलायतको संयुक्त प्रोडक्सन सर्ट फिल्म 'छाया' फ्युचर अफ सिनेमा सेक्सनको उत्कृष्ट ठहरियो। त्यस्तै नेदरल्यान्डको 'होल्ड अन'ले दर्शक छनोट अवार्ड हासिल गर्‍यो। निर्णायक मण्डलले जर्मनी र अस्ट्रियाको 'एभ्रीथिङ विल बि ओके', स्विडेनको 'माद्रे' र नेपालको 'अनन्त यात्रा'लाई 'विशेष प्रोत्साहन' प्राप्त गरे।

'अनन्त यात्रा'ले आइसफल टेक्नलोजिजको प्रायोजन रहेको 'फ्युचर अफ नेपाली सिनेमा' पुरस्कार पनि जित्यो। आइसफलका आरके पोखरेलले 'अनन्त यात्रा'का निर्देशक सुनिल पाण्डेलाई पुरस्कार प्रदान गरे। पुरस्कारमा आगामी सर्ट फिल्म निर्माणका लागि २५ हजार रुपैयाँ र दुई लाख रुपैयाँ बराबरको प्राविधिक सहकार्य रहेको छ।

सञ्चारमन्त्री कार्कीले गीतदेखि साहित्य र फिल्मसम्म पछिल्लो समयमा लोकप्रिय भइरहेकोमा खुसी व्यक्त गर्दै ती सबै विधाको स्रोत प्रेम, प्रकृति र जीवनसंघर्ष रहेको बताए। उनले छोटो फिल्मका पनि सशक्त प्रभाव रहने कुरा एकादेशमा देखाइएका फिल्महरुले पुष्टि गरेको पनि सुनाए।

अवार्ड विजेता 'दद्या'की एक निर्देशक पूजा गुरुङले आफूहरु दर्शक तथा निर्णायक मण्डलका सदस्यहरुको सकारात्मक प्रतिक्रियाबाट उत्साही बनेको र फिल्मयात्रालाई जारी राख्ने बताइन्। त्यस्तै 'अनन्त यात्रा'का निर्देशक सुनिल पाण्डेले नयाँ फिल्मकर्मीलाई मञ्च प्रदान गरेकामा एकादेशमाको आयोजकलाई धन्यवाद दिए।

शुक्रबार सुरु भएको फेस्टिभलको निर्णायक मण्डलमा  राजेश हमाल, छिरिङरितार शेर्पा, सुवर्ण थापा, युवाकर राजकर्णिकार, सोफी बोर्दांे, टासी ग्याल्छेन र छिरिङ छोदेन सदस्य थिए। 'फेस्टिभलका फिल्महरु रचनात्मकता, प्राविधिक र अभिव्यक्तिका तहमा निकै उत्कृष्ट पाएँ,' एक निर्णायक राजेश हमालले समापन समारोहमा बताए। अर्का सदस्य छिरिङरितार शेर्पाका अनुसार विजेता छनोट गर्न निर्णायकहरुलाई निकै गाह्रो परेको अनुभव सुनाए।

चौथों संस्करणमा पनि दर्शकले अपार प्रेम गरेकामा फेस्टिभल निर्देशक सोहम ढकालले खुसी व्यक्त गरे। उनले उल्लेख गरे अनुसार फेस्टिभलमा चार हजार दर्शकको उपस्थिति थियो। आगामी वर्ष अझ बृहत् रुपमा फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पनि उनले जनाए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुनिल शर्माले निर्णायकहरुलाई मायाको चिनो वितरण गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०७३ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App