१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

खार्तुम– सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले सपथ लिएका छन्।

प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिएका हुन्। मुलुकका प्रधान न्यायाधीश समेतको समुपस्थितिमा राजधानी खार्तुमको राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको थियो। 

हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट छनौट गरिने २० जनालाई मन्त्रिपरिषदमा समावेश गर्नु हुनेछ। नयाँ मन्त्रीहरुले आगामी अगस्ट २८ मा सपथ लिनेछन्।

यसअघि अल–बुरहानले संविधान बमोजिम सार्वभौम परिषदको अध्यक्षको सपथ लिए। 
सुडानको संक्रमणकालीन सैनिक परिषद (टिएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौता बमोजिम सार्वभौम परिषद ११ सदस्यीय हुनेछ। उक्त परिषदमा टिएमसीका पाँच जना सैनिक, पाँच जना विद्रोहीका सदस्यहरु र दुबै पक्षको परामर्शमा एक जना सदस्य रहनेछन्।

सार्वभौम परिषदको गठन लगत्तै टिएमसी विघटन भएको छ। गत अप्रिल ११ मा पूर्व राष्ट्रपति ओमार अल–बासिर सत्ताच्यूत भएसँगै सेनापतिको अध्यक्षतामा गठित टिएमसीले संक्रमणकालीन व्यवस्थापन गरिरहेको थियो।

खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसकेका छन्।

सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गरेका थिए। उनीसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ। 

सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए, तर उनले बासिरको प्रस्तावलाई अस्वीकार गरेका थिए। सिन्ह्वा

प्रकाशित: ५ भाद्र २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App