१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हाम्रो ठाउँंबाट हामीलाई किन उठाउने’

नगरकोट - भक्तपुरबाट नगरकोट जाने सडकको तेलकोट बसबिसौनीमा गमली विश्वकर्माले टहरामा चियापसल गरी परिवार पाल्दै आएकी थिइन्। दुई छोरा अनि चार छोरीसहित आठजनाको गमलीको परिवार त्यही चियापसलबाट चल्दै आएको थियो। तर अहिले उनको सो चियापसलको टहरा डोजर लगाएर भत्काइएको छ। मिर्गौलाका रोगी उनीसहित उनको परिवार अहिले त्यही कारण बिचल्लीमा परेको छ।

तेलकोटको घुम्तीमै टहरा बनाएर रामबहादुर तामाङले पनि २०३५ सालदेखि चियापसल गरी ११ जनाको परिवार पाल्दै आएका थिए। तर उनको पनि टहराको आधा भाग डोजरले भत्काइदिएको छ। रामबहादुर भन्छन्, ‘हामी यहीँकै स्थानीयलाई आफ्नै गाउँठाउँमा गरिखान दिने भएनन्, उठिबास गराउने भए।’

अर्की पीडित मखमली विश्वकर्मा आफूहरूजस्ता सामान्य परिवारलाई कहीँ पनि गरिखान नदिएको भन्दै दुःख व्यक्त गर्छिन्। भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटका वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरहटरा हटाउने कार्य गरेपछि अहिले स्थानीय दुई सयभन्दा बढी परिवारको बिचल्ली भएको छ। डिभिजन वन कार्यालय भक्तपुरको संयोजनमा जिल्लास्थित विभिन्न निकाय र चाँगुनारायण नगरपालिकाको सहजीकरणमा नगरकोट र आसपास क्षेत्रमा सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनेका घरटहरा हटाउने क्रम यही भदौ १ गतेदेखि हुँदै आएको छ। यस क्रममा यस क्षेत्रमा पर्ने दुई सय पाँचवटा घरटहरा हटाइसकिएका छन्।

आफूहरू जस्ता सामान्य परिवारलाई आफ्नै गाउँठाउँमा पनि गरिखान नदिएको भन्दै पीडितहरू आन्दोलित छन्। उनीहरूले स्थानीय दिलीप गुरुङको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेका छन्। पर्यटकीय नगरी नगरकोटकै स्थानीय बासिन्दा भए पनि आफूहरूले केही नपाएको गुनासो पीडितको छ। ठुल्ठुला होटलवालालाई भने छुनै नसक्ने तर टहरामा बसिरहेका स्थानीयलाई पटकपटक दुःख दिने गरेको उनीहरूको आरोप छ। यसअघि पनि त्यहाँं १९ वटा घरटहरा हटाइएका थिए। जिल्ला प्रशासन कार्यालय भक्तपुर र सरोकारवाला मन्त्रालयहरूमा आफूहरूले निवेदन दिइसकेको स्थानीयले बताएका छन्।

नगरकोट बजार क्षेत्रमा भक्तपुर, काठमाडौं र काभ्रेका गरी करिब तीन सय घरटहरा वनको जग्गा अतिक्रमण गरी बनेका छन् । तेलकोटदेखि नगरकोटसम्म दुई सय सातवटा घरटहरा अतिक्रमण गरी बनेका चाँगुनारायण नगरपालिकाको तथ्यांक छ ।

वन कार्यालयको तथ्यांकअनुसार नगरकोटमा एक सय ६४ रोपनी सामुदायिक वन अतिक्रमित छ । नगरकोटमा सामान्य टहराबाहेक करिब चार दर्जन ठूला तथा साना होटल रहेका छन्। ती होटलहरूले दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने नगरकोट नाल्दुम पर्यटन विकास समितिको तथ्यांक छ। नगरकोटका यी होटलले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्ने तथ्यांक छ।

प्रकाशित: ५ भाद्र २०७६ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App