१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

डा. केपी सिंह र डा. तीर्थ खनिया

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले नौ महिनादेखि रिक्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. केशवप्रसाद (केपी) सिंह लाई नियुक्त गरेको छ। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने चार वर्षदेखिको परम्परा मिच्दै नवौं वरीयतामा रहेका डा. सिंहलाई डिन बनाएको हो।

नौ महिनाअघि गठित सिफारिस समितिले शनिबार वरिष्ठता र व्यक्तिको इच्छालाई समेत आधार मानेर नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा डा. जगदीशप्रसाद अग्रवालको नाम एक नम्बरमा थियो। दोस्रो र तेस्रो नम्बरमा क्रमशः डा. सिंह र डा. ज्योति शर्माको नाम थियो। कार्यकारी परिषद्ले भने पहिलो नम्बरका अग्रवाललाई पन्छाएर सिंहलाई नियुक्त गरेको हो।  डिनको कार्यकाल चार वर्षको हुने भए पनि सिंहले उमेर हदका कारण फागुन १० मा अवकाश पाउनेछन्।

समितिले सिफारिस गरेका मध्ये अग्रवाल ०५९ फागुन १६, सिंह २०६२ भदौ २७ र शर्मा ०६२ असोज १६ मा प्राध्यापक बनेका थिए। वरिष्ठतामा अग्रवालभन्दा लगत्तै पछाडि रहेका डा. गीता सायमी र डा. आस्मा राणाले जिम्मेवारी लिन अस्वीकार गरेपछि सिंह र शर्माको नाम सिफारिस भएको थियो।

त्रिवि रेक्टर सुधा त्रिपाठीले सिफारिस समितिबाट अग्रवाललाई पहिलो नम्बरमा सिफारिस गरे पनि उनको नाममा सहमति नबनेकाले सिंहलाई डिन नियुक्त गरिएको बताइन्। उनले वरिष्ठता आधारमा 'अमुक' व्यक्तिलाई डिन नबनाउन भन्दै डाक्टरले आइओएममा ताला लगाइरहेको हुँदा वरिष्ठतामात्रै हेर्दा समस्या समाधान नहुने देखेर सिंहलाई बनाएको बताइन्।  कुनै पार्टी निकट नहुनु, इमानदार र कडा स्वभावका अग्रवाललाई डिन बन्न रोक्ने उद्देश्यले कांग्रेस निकट डाक्टरहरूले केसीले नवौं अनशन सुरु गरेकै समयमा डिन कार्यालयमा तालाबन्दी गरेेका थिए। उनीहरूले अग्रवाललाई डिन बनाए ताला नै नखोल्ने चेतावनी दिएको रेक्टर त्रिपाठीले बताइन्।

सिंहलाई कांग्रेसनिकट चिकित्सकको दबाब एवं एमाले र माओवादी निकटका चिकित्सकको समर्थनमा डिन बनाइएको हो। पछिल्लोपटक आइओएममा रिक्त क्याम्पस प्रमुख र चार सहायक डिन नियुक्ति र नयाँ कलेजलाई सम्बन्धन दिन चलखेल गर्नकै लागि चार महिना मात्र अवधि बाँकी रहेका सिंहलाई डिन बनाइएको हो। विवादित बनेका कारण पहिला डिनबाट बर्खास्त डा. शशी शर्मा र पूर्वडिन डा. अरुण सायमीको योजना र निजी कलेजको चलखेलमा सिंहलाई डिन बनाइएको स्रोतको दाबी छ।

'छोटो अवधि भए पनि चाहेका मान्छेलाई सहायक डिन बनाउने र यो बीचमा काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने भित्री तयारी छ,' त्रिवि स्रोतले भन्यो।

सुरुमा कांग्रेसनिकट चिकित्सकले वरिष्ठतामा ४५ औं नम्बरमा रहेका डा. करवीरनाथ योगीलाई डिन बनाउन दबाब दिए पनि उनको नाममा सहमति हुन नसकेपछि वरिष्ठमध्येका डा. सिंह 'सिन' मा आएका हुन्। यसअघि शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनेका सर्जन डा. सिंह कमजोर कार्यक्षमता भएका चिकित्सक मानिन्छन्। उनी निर्देशक हुँदा नै त्रिवि शिक्षण अस्पताल सबैभन्दा बढी घाटामा गएको थियो।

सिंह निर्देशक हँुदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदमा ऐनविपरीत गरेको भन्दै छानबिनसमेत गरेको थियो। त्यस आधारमा विभागीय कारबाही गर्न भन्दै त्रिविलाई सिफारिससमेत भएको थियो। त्रिविले उनलाई स्पष्टीकरण पनि  सोधेको थियो। साउन १६ गते डा. डिल्लीराम उप्रेतीले सिंहलाई स्पष्टीकरण सोधेका थिए। त्रिवि उपकुलपति खनियाँले भने त्यसै खालको मुद्दा हुनाले पनि अग्रवाललाई नियुक्त गर्न नसकेको बताए।

अग्रवाललगायत आइओएमका सात प्राध्यापकलाई अनुचित कार्य गरेको बहानामा अख्तियारको निर्देशनमा त्रिविले कारबाही थालेको थियो। तर ती प्राध्यापक अदालत गएपछि कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न त्रिविलाई अन्तरिम आदेश दिएको थियो। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमा समेत यो कारबाही सिफारिस अनुचित भन्दै आरोप लगाइएको छ। तर उपकुलपति खनियाँले यस विषयमा आफूले महान्यायाधिवक्तासँग राय मागे पनि उनले बाटो नखोलिदिएको तर सिंहको विषय अदालत नगई त्रिविमै सीमित रहेकाले उनको नियुक्तिका लागि बाटो खुलेको दाबी गरे।

नवनियुक्त डिन सिंहले भने लामो प्रतिक्रियाबिनै आफू 'हट्ने गरी नआएको' बताए। आफ्ना समर्थक डाक्टर र कर्मचारीको उपस्थितिमा आइतबार पदबहाली गरेका उनले भने, 'म त्यत्तिकै आएको होइन, कानुनी रुपमै आएको हुँ।'

यसअघि आइओएममा वरिष्ठताकै आधारमा नियुक्ति पाएका डिन डा. राकेश श्रीवास्तवले फागुन २१ मा अख्तियारको दबाबमा राजीनामा दिएका थिए। त्यसयता आइओएम निमित्त डिनको भरमा थियो।

केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

त्रिवि उपकुलपति तीर्थ खनियाँले डा. गोविन्द केसीले नाम लिएकै कारण सर्च समितिले सिफारिस गरेका मध्ये एक नम्बरमा नाम रहेका अग्रवाललाई डिन नबनाएको बताएका छन्।

डिन सिफारिस गर्न गठित सर्च समितिले वरिष्ठताकै आधारमा डा. जगदीशप्रसाद अग्रवाल, डा. केपी सिंह र डा. ज्योति शर्माको नाम सिफारिस गरे पनि केसीको 'डिक्टेसन' चल्दैन भन्ने सन्देश दिनकै लागि पहिलो नम्बरमा रहेका अग्रवाललाई डिन नबनाइएको उनले बताए।

डिन नियुक्तिपछि आइतबार मध्याह्न आफ्नै कार्यकक्षमा खनियाँले नागरिकसँग केसीले कार्यकारी परिषद्लाई निर्देश गर्न नसक्ने बताए। वरिष्ठता आधारमा डिन बनाउने परम्परा भए पनि यसपटक त्यो तोडियो नि भन्ने प्रश्नमा उनले नवनियुक्त डिनसमेत आइओएम सुरु प्रवेशका आधारमा वरिष्ठमध्येकै भएको दाबी खनियाँले गरे।

डिन नियुक्तिमा असन्तुष्टि जनाउँदै खनियाँलाई बर्खास्त गर्न माग राखेर डा.केसीले दसौंै अनशन थालेका छन्। खनियाँले भने, 'ककसले केके माग्छन् म जान्दिनँ।' उनले केसी त्रिविमा रहेका ७ हजार प्राध्यापकमध्ये एकमात्र भएको टिप्पणी गरे। 'उहाँ त्रिविको पेरोलमा बसेर काम गर्ने एउटा प्राध्यापक मात्रै हो,' उनले भने, 'उहाँले संस्थाको हितमै सोच्नुहोला।'

उनले सिंहलाई नियमअनुसार नियुक्त गरिएको दाबी गरे। 'योग्य, वरिष्ठ भएर नै उहाँलाई नियुक्त गरिएको हो,' उनले भने।

प्रकाशित: २९ कार्तिक २०७३ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App