१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

वैदेशिक प्रशिक्षणमा १० कुस्ती खेलाडी

काठमाडौं- नेपाली कुस्ती खेलाडी उच्चस्तरीय वैदेशिक प्रशिक्षणका लागि शनिबार भारत गएका छन्। अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कुस्ती संघको पहलमा नेपालका १० खेलाडीले उत्तर प्रदेशमा ६ महिनासम्म विशेष प्रशिक्षण गर्नेछन्। भारतीय कुस्ती संघले पनि आफ्ना राष्ट्रिय टोलीका लागि उत्तर प्रदेशको गोन्डास्थित भारतीय खेल प्राधिकरणमा बन्द प्रशिक्षण आयोजना गर्दैछ। नेपाली खेलाडीले भारतीय खेलाडीसँगै संयुक्त प्रशिक्षण गर्ने कुस्ती संघका उपाध्यक्ष समिममियाँ अन्सारीले बताए। शनिबारै ६ खेलाडी भैरहवा हुँदै गएका छन्। अन्य ४ खेलाडी आइतबार जाने तयारीमा रहेको अन्सारीले बताए।

वैदेशिक प्रशिक्षणमा मुकेशकुमार ठाकुर, तवरेज आलम, कुन्दन साह तुरहा, सजाद अली, कृष्ण राजंवशी, लालबहादुर यादव, बन्टु यादव, अशोक यादव, कृष्ण यादव, सरोज यादव र प्रशिक्षकमा ब्रह्मदेव यादवले भाग लिनेछन्। भारतीय कुस्ती संघको सहयोगमा नेपाली खेलाडीले सुविधा सम्पन्न प्रशिक्षण केन्द्रमा प्रशिक्षणको अवसर पाएको अन्सारीले बताए।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल कुस्ती संघ अध्यक्ष राज मोहम्मद अन्सारी, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी निरीक्षक सिंहबहादुर श्रेष्ठ, संघका उपाध्यक्ष समिम मियाँ अन्सारी, रिता कोइराला लगायतले खेलाडीलाई बिदाइ गरे। संघले प्रशिक्षणमा जाने खेलाडीलाई ट्र्याकसुट प्रदान गर्‍यो।

कुस्तीप्रशिक्षक खगेन्द्र बस्नेतले नेपाली खेलाडीले उच्च स्तरको प्रशिक्षण गर्ने अवसर पाउनु उपलब्धिजनक भएको बताए। उनले भने, 'कुस्तीले साग र एसियन स्तरमा पदक जित्ने सम्भावना भएको खेल हो। तर हाम्रा खेलाडीले धेरै अवसर पाउँदैनन्। भारतमा प्रशिक्षण गर्न पाउनु हाम्रा लागि खुसीको कुरा हो।'

गत असोजमा इन्डोनेसियामा सम्पन्न छैटौं तफिसा वर्ल्ड स्पोर्टस फर अल गेम्समा रजत पदक जित्ने मुकेशकुमार यादव प्रशिक्षणका लागि जाँदैछन्। उनले ९० केजीमुनिको तौलमा पदक जितेका थिए।

एनओसी अध्यक्ष श्रेष्ठले नेपाली कुस्तीका लागि नयाँ कार्यको सुरुआत भएको बताए। 'खेलकुदको स्थिरता र उतारचढावले कुस्ती खेलको विकास हुनसकेको छैन।संघले उत्कृष्ट कार्यको पहल गरेको छ,' उनले भने, 'प्रशिक्षणले हाम्रा खेलाडीको स्तर बढ्नेछ। यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा महŒवपूर्ण भूमिका खेल्नेछ।'

श्रेष्ठले कुस्तीमा राजनीतीकरण भएको बताए। उनले भने, 'राष्ट्रिय मान्यताप्राप्त संघ फाइल बोकेर अदालत धाउनमै व्यस्त छ। अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघ खेलाडीको हितमा लागेकोमा छ। यहाँ हामी खुसी छौं। यसले ओलम्पिक कमिटीको सहभागिताभन्दा पनि परिणाममुखी लक्ष्यपूरा गर्न सहयोग पुर्‍याउनेछ।'

भारतमा सम्पन्न १२औं साग खेलकुदमा नेपालले कुस्तीबाट दुई कांस्य पदक जितेको थियो।

दक्षिण एसियामा पदक जिते पनि नेपालको स्तर कमजोर रहेको कुस्ती संघका अध्यक्ष अन्सारीले बताए। उनले भने, 'भारतमा साग हुँदा हाम्रा खेलाडी २० सेकेन्ड पनि म्याटमा टिक्न सक्दैनथे। अन्तर्राष्ट्रिय स्पर्धामा नेपाली खेलाडीको खेल हेर्दा ज्यादै दुःख लाग्यो। खेलाडीको स्तर र मनोबल बढाउन पनि प्रशिक्षणलाई निरन्तरता दिने लक्ष्य हामीले लिएका छौं।'

भारतबाट फर्केर आएपछि फेरि खेलाडीलाई मंगोलिया प्रशिक्षणमा पठाउने तयारी गरिरहेको अन्सारीले बताए। उनले भने, 'हाम्रा खेलाडीमा अन्तर्राष्ट्रिय अनुभव र प्रशिक्षणको कमी छ। तर खेलाडीलाई ढुक्क भएर आफ्नो पदक जित्ने लक्ष्यमा केन्द्रित हुन आग्रह गर्छौं। अन्तर्राष्ट्रियपदक जित्ने खेलाडीको जीवनयापन र परिवारलाई समेत हामी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छौं।'

प्रकाशित: २८ कार्तिक २०७३ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App