१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्टी नम्बर एकको बाटोमा

सिनसिनाटी (एएफपी)– अस्ट्रेलियाकी एस्लेघ बार्टीले डब्लुटिए सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा स्थान बनाउँदै विश्व वरीयताको नम्बर एकमा पुग्ने सम्भावना बनाएकी छन्।

विश्वको शीर्ष वरीयतामा रहेकी नाओमी ओसाका चोटका कारण बाहिरिँदा दोस्रो वरीयतामा रहेकी बार्टी सेमिफाइनमा स्थान बनाउँदै नम्बर एकको यात्रामा होमिएकी हुन्। बार्टीले क्वार्टरफाइनलमा ग्रिककी मारिया साक्कारीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। बार्टीले साक्कारीविरुद्धको पहिलो सेट ७–५ ले गुमाए पनि त्यसपछि लगातार ६–२ र ६–० ले सेट आफ्नो बनाइन्।

फ्रेन्च ओपन च्याम्पियन बार्टीले सेमिफाइनलमा रसियाकी भेट्रान्स स्भेतलाना कुज्नेत्सोभाविरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। यता, जापानकी स्टार ओसाका भने क्वार्टरफाइनल खेलमा रिटायर्ट हर्टबाट बाहिरिइन्। अमेरिकी खेलाडी सोफिया केनिनविरुद्धको पहिलो सेट ६–४ ले गुमाए पनि दोस्रो सेटमा भने ओसाकाले ६–० ले पुनरागमन गरेकी थिइन्।

तर, तेस्रो सेटमा २–० ले पछि पर्दा ओसाका चोटका कारण बाहिरिएपछि केनिनले सहजै सेमिफाइनलमा स्थान बनाउन सफल भइन्। युएस ओपन आउन दुई हप्ताभन्दा कम समय बाँकी छँदा चोटका कारण डिफेन्डिङ च्याम्पियन ओसाका बाहिरिएकी छन्। ओसाकाले बायाँ घुँडामा चोट बोकेकी छन्। चोटबाट चाँडै मुक्त नभए आगामी युएस ओपनको उपाधि रक्षामा ओसाका हुने छैनन्।

‘गत वर्ष युएस ओपनको उपाधि जितेको अभैm ताजै छ। यस पटक पनि खेल्ने प्रयासमा हुनेछु,’ ओसाकाले भनिन्,‘तर उपाधि जित्छु चाहिँ भन्दिनँ। यद्यपि, जसरी पनि युएस ओपन खेल्ने योजना छ। यो प्रतियोगिता खेल्न एक प्रतिशतमा पनि सक्षम भइन भने दुःखी हुनेछु।’ ओसाकाले क्वार्टरफाइनल खेलेको पहिलो सेटमै घुँडामा चोटको प्रतिक्रिया दिएकी थिइन्।

तर, तेस्रो सेटमा मात्र उनले फिजियो बोलाएकी थिइन्। यद्यपि, फिजियोबाट पनि उनको चोट ठीक नभएपछि केनिन सहजै सेमिफाइनलमा पुग्न सफल भइन्। तर, केनिनले आफू यस किसिमको जितको आशा नगरेकाले बताइन्। ‘यो तरिकाको जित्ने मेरो चाहना थिएन,’ केनिनले भनिन्,‘म निकै प्रतिस्पर्धाबाट जितको पक्षमा थिएँ।’

केनिनले पनि सेमिफाइनलमा आफ्नै देशकी म्याडिसन किजसँग खेल्नेछिन्। यसअघि म्याडिसनले भेनस विलियम्सलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। यता, पुरुषतर्पm विश्व नम्बर एक नोभाक जोकोभिचले पनि सेमिफाइनलमा स्थान बनाएका छन्। जोकोभिचले क्वार्टरफाइनल खेलमा फ्रान्सका लुकास पाउइलेलाई ७–६(७/२) र ६–१ ले हराए।

यद्यपि, जोकोभिचले लुकासविरुद्ध निकै संघर्ष गरेका थिए। ‘खेल निकै संघर्षपूर्ण थियो। तर, पनि जित निकाल्न सफल भएँ,’ जोकोभिचले भने, ‘आशा छ, आगामी खेलमा राम्रो प्रदर्शन गर्नेछु। १६ पटक ग्रान्ड स्लाम च्याम्पियन जोकोभिचले सेमिफाइनलमा रसियाका ड्यानियल मेडभेडेभविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

मेडभेडेभले आफ्नै देशका आन्द्रेव रुब्लेभलाई ६–२ र ६–३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए। यसअघि तेस्रो चरणमा स्विस स्टार रोजर फेडेररलाई हराउँदै सनसनी मच्चाएका रुब्लेभले आफ्नै देशका प्रतिद्वन्द्वीविरुद्ध भने राम्रा प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: १ भाद्र २०७६ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App