१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको हिस्सा ६५ प्रतिशत

वीरगन्जकाे सिर्सियास्थित सुक्खा बन्दरगाहमा विदेशबाट आयातित सामान लादिएका कन्टेनर। फाइल तस्बिर:नागरिक

काठमाडौं – गत वर्ष सवा १३ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा करिब ६५ प्रतिशत पुगेको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा विदेशबाट १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँका वस्तु आयात गरेकोमा भारतबाट मात्र नौ खर्ब १७ अर्ब ९२ करोडको आएको हो। यो कुल व्यापारको ६४.७० प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा ०.६९ प्रतिशतले भारतसँगको व्यापार घटे पनि ठूलो हिस्सा भारतसँग नै छ। आयात मात्र नभएर निर्यात पनि भारतमा धेरै छ। गत वर्ष ९७ अर्ब १० करोड ९५ लाख रुपैयाँका वस्तु विदेश निर्यात भएकोमा ६२ अर्ब ७३ करोड १८ लाखको भारत गएको छ। यो कुल निर्यातको ६४.५९ प्रतिशत हो।

स्वदेशमा औद्योगिकीकरण नहुनु र कृषि तथा पशुजन्य वस्तुसमेत विदेशबाट आयात गर्नुपर्दा नेपालको एक सय ३५ भन्दा बढी मुलुकसँग व्यापार घाटा छ। वैदेशिक व्यापारमा दोस्रो ठूलो स्थान चीनको छ। भारतको तुलनामा निकै कम भए पनि कुल वैदेशिक व्यापारमा चीनको हिस्सा १४.४८ प्रतिशत छ। गत वर्ष चीनबाट दुई खर्ब ५५ अर्ब १८ करोड रुपैयाँका सामान आयात र त्यसतर्फ दुई अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात भएको छ। भारतको तुलनामा चीनबाट वस्तु आयात बढिरहेको छ। अघिल्लो वर्षभन्दा गत वर्ष चीनसँगको व्यापार १.६३ प्रतिशतले बढेको छ। नेपालको कुल वैदेशिक व्यापारमा भारत र चीनको संयुक्त हिस्सा ७९.१८ प्रतिशत छ। नेपालले विश्वका एक सय ६० भन्दा बढी देशसँग कारोबार गर्दै आएकोमा अन्य मुलुकसँग २०.८२ प्रतिशत मात्र व्यापार छ। २३ वटा साना मुलुकसँगको व्यापार नाफामा रहेको छ। नाफा रहेका मुलुकहरुमा इस्टोनिया, आइसल्यान्ड, सेन्ट्रल अफ्रिकन रिपब्लिक, सुडान, मालदिभ्स, रुवान्डा, पानमा लगायत छन्।

नेपालको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ। अघिल्लो वर्षभन्दा गत वर्ष आयात १३.९३ प्रतिशत, व्यापार घाटा १३.५५ प्रतिशत र विदेशसँगको व्यापार १४.२६ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार आव ०७४/७५ मा ११ खर्ब ६३ अर्ब ५० करोड रुपैयाँ व्यापार घाटा रहेकोमा गत आवमा घाटा बढेर १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यो मुलुकको कुल बजेटभन्दा पनि धेरै हो। गत आवको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो। अहिलेको वैदेशिक व्यापार संरचनामा आयातको ९३.९ प्रतिशत र निर्यातको ६.१ प्रतिशत योगदान छ।

सरकारले व्यापार घाटा घटाउन निर्यातलाई प्रोत्साहन गर्ने बताउँदै आए पनि स्वदेशी उत्पादन वृद्धि गर्न नसक्दा घाटा बढेको हो। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्दा घाटा बढ्दै गएको अर्थ क्षेत्रका जानकार बताउँछन्। यहाँको माटोमा फल्न सक्ने तरकारी, फलफूल, खाद्यान्न लगायत वस्तु पनि विदेशबाट आयात भइरहेको छ।

व्यापार घाटा न्यून गर्न सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी छ। उत्पादन बढाउन चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा स्वदेशमा उत्पादन हुने वस्तुको आयातमा कडाइ गरिएको छ। स्वदेशी उद्योगको संरक्षण गर्न यहाँ उत्पादन भएका वस्तुको प्रयोग अनिवार्य गराउने प्रयास गरेको छ। मुलुक आत्मनिर्भर भएका चिया, कफी, दूग्ध पदार्थ, घिउ, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङ्गम, पास्ता, जस्तापाता, जुत्ता–चप्पल, धागो र त्रिपाल लगायत कृषिजन्य तथा औद्योगिक वस्तु आयातमा लाग्ने भन्सार दर बढाएको छ।

निर्माण सामग्री प्रयोग गर्दा सिमेन्ट, काठ, छड, रङ लगायत स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति छ। स्वदेशी उद्योग फस्टाउन नसक्दा विदेशबाट सामान आयात बढेको सरोकारवाला बताउँछन्। मुलुकमा औद्योगिकीकरण नहुँदासम्म व्यापार घाटा बढ्ने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन्। सरकारले स्वदेशी उद्योगीलाई संरक्षण गर्ने बताए पनि औद्योगिक क्षेत्रमा अपेक्षित रुपमा लगानी बढ्न सकेको छैन।

प्रकाशित: १ भाद्र २०७६ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App