१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अझै खुलेन पशुपतिनगरमा भन्सार

इलामको पशुपतिनगरस्थित भन्सार कार्यालय। तस्बिरः भीम/नागरिक

इलाम– जिल्लाको पूर्वी पशुपतिनगरमा भन्सार खुलाउन स्थानीयले लामो समयदेखि प्रयत्न गरे पनि खुल्न सकेको छैन। पशुपतिनगरमा भन्सार कार्यालय रहे पनि भारतपट्टि नहुँदा यहाँबाट आयात–निर्यातको काम हुन सकेको छैन।

पशुपतिनगरवासी मात्र होइन, सूर्याेदय नगरवासी र सिंगो जिल्लावासीले नै यहाँ भन्सार खुलाउन पटक–पटक सरोकारवालालाई आग्रह गरेका छन्। तर, अत्यन्त राम्रो व्यापार सम्भावना भएको पशुपतिनरमा भन्सार खुलाउन कसैले प्रयास नगरेको उनीहरूको गुनासो छ।

स्थानीयले उद्योग, वाणिज्यलगायत मन्त्रालयहरूमा समेत भन्सार खुलाउन माग गरेका थिए। तर, वर्षाैं बिते पनि उनीहरूको माग पूरा हुन सकेको छैन। पशुपतिनगरलाई पहाडी क्षेत्रको सुरक्षित नाका मानिन्छ। यहाँ नाका खुल्दा पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत जिल्ला प्रत्यक्ष लाभान्वित हुनेछन्। पूर्व र पश्चिम नेपाल जोड्ने मध्यपहाडी लोकमार्गको फिदिम खण्ड पुग्न यो नाकाबाट नजिक पर्ने भएकाले पश्चिमी जिल्लालाई पनि यसबाट फाइदा पुग्छ। तर, त्यसको महत्त्व सरोकारवालाले बुझ्न नसकेको स्थानीय व्यवसायी मिलन क्षेत्रीले बताए। ‘भन्सार शुल्क तिरैरै सामान आयात–निर्यात गर्न नपाएपछि यहाँबाट तस्करीसमेत हुनेगरेको प्रहरी नै सुनाउँछन्,’ उनले भने, ‘तर, नाका खोल्न कोही पहल गर्दैनन्।’

 इलाम उद्योग वाणिज्य संघले पनि नाका खुलाउन माग गरेको थियो। शाखामा आबद्ध ३ हजार हाराहारी व्यापारी–व्यवसायीले पशुपतिनगर नाका खोल्न माग गरेका थिए। मंगलबारे, पशुपतिनगर र दानाबारीलगायत व्यापारिक केन्द्रका व्यापारी–व्यवसायीले समेत नाका खुलाउन माग गरे पनि समस्या उस्तै रहेको संघले जनाएको छ। संघका पूर्वअध्यक्ष आनन्द कट्टेलले पशुपतिनगरबाट सबै प्रकारका भारतीय सामान भन्सार तिरेर ल्याउन पाइयोस् भन्ने वर्षाैंदेखिको माग रहेको बताए।

पशुपतिनगर नाका प्रयोग गर्न नपाउँदा जिल्लाका व्यापारीले झापाको काँकडभिट्टा र विराटनगरको जोगबनी नाका प्रयोग गर्नुपरेको छ। तर, त्यहाँबाट सामान आयात–निर्यात गर्दा महँगो र दूरीका हिसाबले पनि टाढा रहेकाले समस्या आइरहने गरेको व्यापारी बताउँछन्।

लामो समयको मागपछि पशुपतिनगरमा अध्यागमन कार्यालय चाहिँ खुलेको छ। तर, भारतपट्टि नखुल्दा त्यसले सेवा दिन सकेको छैन। अहिले पशुपतिनगरमा मूल भन्सार कार्यालय नै छ। तर, भारततर्फ ल्यान्ड कस्टम अफिस हुनुपर्नेमा कस्टम चेक पोइन्टमात्रै हुँदा यताको भन्सार कार्यालयले सेवा दिन नसकेको हो। भारतबाट आएको सामान बिल काटेर नेपाल पठाउने कार्यालय भारततर्फ छैन। यताबाट बिल काटेर पठाए पनि भारततर्फ सामानको राजस्व लिने निकाय छैन। दुवैपट्टि अधिकारसम्पन्न निकाय नहुँदा पशुपतिनगर भन्सारको काम चाहिँ भारतबाट चोरीका सामान आए नियन्त्रण र लिलामी गर्नेमात्रै भएको कार्यालय स्रोतले जनाएको छ। अवैध रूपमा कुनै सामान आए नियन्त्रण गर्न जनशक्तिसमेत कम छ। कार्यालयका अनुसार गस्तीका लागि प्रहरीसँग संयुक्त टोली बनाउँदा नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन।

आयात–निर्यात गर्नुपर्ने सामानका लागि यहाँ प्लान्ट क्वारेन्टाइन चेकपोस्ट नहुँदा अर्काे समस्या छ। रासायनिक मल, खानेतेललगायत अन्य उपभोग्य सामग्री भारतबाट आए कार्यालयले झापाको सुरुंगास्थित प्रयोगशाला पठाउँछ। पशुपतिनगरबाटै सामान आयात–निर्यात गर्दा किसान र व्यापारीलाई निकै सहज र सस्तो पर्ने सूर्याेदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन्। यो नाका खुल्दा अन्य जिल्लाले पनि फाइदा लिने उनले बताए।

‘पहाडको सुरक्षित स्थान भएकाले देशका कुनै पनि आन्दोलनहरूले हत्तपत्त यो नाकामा असर पनि गर्दैन,’ उनले भने, ‘नाका खुले अवैध रूपमा हुने निकासी–पैठारी पनि नियन्त्रण हुन्छ।’ पहाडी जिल्लाका अधिकतर व्यवसायीले पशुपतिनगर नाका भएरै अलैंची, अदुवा, कुचोलगायत सामान निर्यात गर्न चाहे पनि नसकेको उनले जनाए।

प्रकाशित: ३२ श्रावण २०७६ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App