१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

आकांक्षाका बाटाहरू

निरा शर्मा

मैले मानेँ त
उचाइको कुरा गर्दा
तिमी हिमाल हौ
गहिराइको कुरा गर्दा
तिमी समु हौ।
यो पनि थाहा छ
तिम्रो सोच
आकाशजस्तै विशाल छ
तिम्रो विचार
धर्तीजस्तै फराक छ।

दुनियाँले मानेजस्तै
मानेको छु मैले पनि
तर नि
टोपी खस्ने गरी शिर ठाएर
सगरमाथाको सौन्दर्य हेर्नबाट
के तिमी मलाई रोक्न सक्छौं ?
पर्दा लगाएर क्षितिजमा
उदाउँदो सूर्यको आभालाई
के तिमी लुकाउन सक्छौ ?
तिम्रो पछि लागिरहेँ भने
बाटाहरूमा काँडे तार लगाएर
के तिमी मलाई छेक्न सक्छौ ?

हेर त,
म लेउ लागेका चिप्ला बाटाहरूमा
लड्दै उठ्दै, उठ्दै फेरि लड्दै
हात–पाउ टेकेर
तिम्रोसामु उभिएको छु
बगाएर सिधै
नदीमा पु¥याउलान् जस्ता
ठाडा खहरे
उर्लंदो भेलका खोला र खोल्सीहरू  

र, जीर्ण भइसकेका पुलपुलेसाहरू तर्दै
जिन्दगीका कठिन बाटाहरू पार गर्दै
प्रेमिल समर्पणको आधार शिविरमा
म तिम्रो छेउ आइपुगेको छु
के तिमी मलाई उतै पठाउन सक्छौ ?

अनि थाहा छ त तिमीलाई
तिमी सुन्दर दृष्य हौ
म दृष्यानुरागी
तिमी मीठो सुवास हौ
म सुगन्ध रागिनी
भन्, कसरी रोक्छौ मलाई
तिमीसँग नजिक हुनबाट ?

तर, नबिर्स
सगरमाथा पुगे पनि
फर्केर मैदानमै झर्नुपर्छ
आकाशमा उडे पनि
धर्तीमै ओर्लनुपर्छ
जोजो जहाँ पुगे पनि
मिल्नु त माटोमै पर्छ
जहाँ पुग्छु भने पनि
हिँड्नु त बाटामै पर्छ।

प्रकाशित: ३२ श्रावण २०७६ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App