१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीको मिलोमतोमा काठ तस्करी

बर्दिया - बर्दियामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका समिलबाट काठ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। अन्य जिल्लातर्फ भइरहेको काठ तस्करीमा वन कर्मचारीकै मिलेमतो रहेको पाइएको छ। वन कर्मचारीले सिल गरेको ट्रक बुधबार नियन्त्रणमा लिइएपछि घटना बाहिर आएको हो। त्यसबार अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। ‘काठ तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सम्भावित ठाउँमा निगरानी बढाएको थियो,’ उनले भने, ‘सिल लागेका ट्रकमा बढी काठ भएको सूचना प्रहरीसँग थियो। त्यस्ता ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा वन कर्मचारीको मिलिमतोमा कागज मिलाई काठ तस्करी भइरहेको पाइएको छ।’

गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको ना२ख ८८९४ नम्बरको ट्रकसहित चिरान काठ अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बेला सिल लगाएको ट्रकमा अवैध काठ भेटिएको थियो। प्रहरी उपरीक्षक बास्तोलाका अनुसार वन डिभिजन कार्यालयले दिएको छुट पुर्जीभन्दा बढी परिमाणको काठ फेला परेपछि कागज मिलाएर तस्करी भइरहेको पुष्टि भएको हो। सिल लागेको ट्रकलाई नेपालगन्जको छुटपुर्जी दिइएको थियो। काठको परिमाण जाँचबुझ गर्न प्रहरी, वन कर्मचारी र अख्तियारको टोलीको रोहवरमा डिभिजन वन कार्यालय बाँकेमा काठको नापी गर्दा कागजमा भन्दा दुईगुना बढी अवैध काठ भेटिएको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए।

वन कर्मचारीको मिलिमतोमा कागजमा प्रहरीलाई झुक्याएर लामो समयदेखि काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको पुष्टि भएको छ। ट्रकमा सिसौ, सिरिस र सागुनलगायत रूखका काठ रहेको प्रहरीको भनाइ छ। वनले दिएको छुटपुर्जीमा सिसौं चिरान १ सय २४ थानको १ सय १४ घन फिट, सिरिस चिरान ६ थानको ९ दशमलव ४६ घन फिट, स्ट्रिप ९ सय किलो ग्राम र बकाइनो ५ सय किलोग्राम उल्लेख छ।

वनरक्षक राजन उपाध्यायले तयार गरेको सिलबन्दी पुर्जीमा सहायक वन अधिकृत आनन्द शाहले दरपीठ गरेका छन्। यस्तै स्थानान्तर पुर्जी वन डिभिजन कार्यालय निमित्ति वन अधिकृत सितेश महतोले दिएका छन्। सबै प्रक्रिया पूरा गरेर भइरहेको काठ तस्करी नियन्त्रण गर्न प्रहरी सफल भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए। उनका अनुसार यस घटनामा संलग्न जोकोही कानुनी दायरामा आउनेछ।

प्रकाशित: ३२ श्रावण २०७६ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App