१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपनिर्वाचनबाटै पार्टीको एकता सुरुवातः देउवा

पोखरामा कांग्रेसको गण्डकी प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिको भेलाका सहभागि नेताहरु। तस्बिरः नागरिक

पोखरा-आगामि मंसिरमा हुने उप–निर्वाचनले कांग्रेसको दुई गुटलाई एउटै पार्टी बनाउने गरि एकता गराउनुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताए। प्रतिनिधिसभातर्फ कास्की–२ लगायतका क्षेत्रमा उपनिर्वाचन हुँदैछ। सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय प्रशिक्षणमा सभापति देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए। एमाले र माओवादी दुईवटा पार्टी मिलेर एक बनिरहँदा सिंगो पार्टी रहेको कांग्रेस दुईवटा देखिएको उनले बताए। त्यसैले एकपार्टी बनेर निर्वाचनमा जित हासिल गर्नुपर्ने उनले बताए।

‘उप–निर्वाचनमा कांग्रेस दुईपार्टी जस्तो हुनु भएन। कम्युनिष्टको दुई पार्टी एउटा जस्तो देखिएको छ, तर, सिंगो कांग्रेस दुइवटा जस्तो देखिएको छ,’ देउवाले भने, ‘अब कुनै पनि हालतमा दुई पार्टी जस्तो हुनु भएन। चुनावमा टिकट एउटाले पाउँछ, टिकट पाउनेलाई हराउने काम गर्न पाइदैन। चुनावमा सबै एक भएर लाग्नुपर्छ।’ कुनैपनि हालतमा चुनाव जिताएर देखाउनुपर्ने उनले बताए। पार्टीको एकताको सुरुवातको परिणाम उपनिर्वाचनबाटै देखिनुपर्ने उनले बताए। ‘सबै लागेर चुनाव जित्नुपर्छ। चुनाव जितेपछि पार्टीलाई एक बनेको देखाउनुपर्छ,’ उनले भने, ‘पार्टीलाई दुइवटा बनाउनेलाई कारवाहि गरिन्छ।’

सभापति देउवाले अहिलेको सरकारले बिस्तारै बिस्तारै एकदलीय व्यवस्थाको सुरुवात गर्न थालेको बताए। ‘प्रजातन्त्रमा बोल्न, लेख्न पाउने अधिकार हुन्छ, तर, सरकार त्यो अधिकार खोस्दैछ,’ उनले भने। सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकार एकदलिय शासन लाद्न चाहेको उनले बताए। सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको पनि देउवाले बताए।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई पहिलो बनाउन चुनौती रहेको बताए। जनताले अहिले कांग्रेसलाई भरोसा गरेको पार्टीको रुपमा खोजेको पौडेलको भनाई छ। ‘कम्युनिष्टले देश बनाउँछन् की भनेर जनताले हिजो दुईतिहाई मत दिएका थिए, तर, अहिले सरकारको कामले जनता निराश बनेका छन,’ उनले भने, ‘ सरकारको कामले जनतामा नयाँपन पलाएन। सरकारले धाँधलीको शासन चलाउन खोजेको, आफ्नो मान्छेलाई बजेट र ठेक्का दिने, अर्थतन्त्रमा लुट मच्चाएको गुनासो आउन थालेको छ।’ जनताले भोट दिएर गलत गर्‍यौ भन्ने बुझन थालेको उनले बताए।

कांग्रेसको गुटबन्दी व्यक्तिका लागि हुन नहुने उनले बताए। अहिले व्यक्तिगत स्वार्थका लागि गुटबन्दी रहेकोमा अब व्यक्ति नभई पार्टी बलियो हुनुपर्ने पौडेलले बताए। उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताए। उनले पनि सबै मिलेर अबको निर्वाचनमा अघि बढ्नुपर्ने बताए।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए। उनले नयाँ चेतनाको झन्डा बोकेर अघि बढ्न सक्नुपर्ने बताए। ‘अब पार्टीभित्र आफैलाई ‘करेक्सन’ गरेर कार्यकर्तामाँझ पुर्‍याउनुपर्छ,’ सिटौलाले भने, ‘केन्द्रदेखि नै पार्टीमा सच्चाउन जरुरी छ।’

अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले ३६४ दिन कांग्रेस बनेर एकदिन अरु पार्टीमा भोट दिने गरेकोले अब घात प्रतिघात हुन नहुने बताए। प्रष्ठिानका निर्देशक पुरुषोत्तम दाहालका अनुसार गण्डकी प्रदेशको यो भेलापछि बाँकी अरु प्रदेशमा पनि हुनेछ। आगामि दिनमा कांग्रेसलाई प्रजातान्त्रिक मियो बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए।

 

 

 

 

प्रकाशित: ३१ श्रावण २०७६ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App