१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारका सय दिन त्यतिकै खेरगयोः सचिव ज्ञवाली

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले वर्तमान सरकारले यो मुल्यवान समय खेर फालेको आरोप लगाएका हुन्। उनले भने,‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ, निर्वाचनकालागि यो सरकारले कुनै उल्लेखनीय काम गर्न सकेको छैन।’

उनले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको संविधान कार्यान्वयनको योजना समेत यो सरकारले बेवास्ता गरेको आरोप लगाए। ज्ञवालीले भने, ‘अहिलेसम्म निर्वाचनको मिति तोकिएको छैन, निर्वाचनको क्यालेण्डर अहिलेसम्म सरकारले दिन सकेको छैन, चैतसम्म स्थानीय निकायको निर्वाचन नभए, अरु निर्वाचन कहिले हुन्छ ? यो गम्भिर प्रश्न हो।’

उनले छिमेकीसँगको सम्बन्धमा यो सरकारले असन्तुलन कायम गरेको आरोप लगाउँदै भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बिथोलियो, चीनसँगको पारवहन सम्बन्धी बैठक अनिश्चित भयो।’ उनले अहिले उत्तरी छिमेकी चीनसँगको सम्बन्ध हिउँजस्तै चिसिएको अवस्थामा पुगेको समेत गुनासो पोखे। सरकारले यो तीन महिने कार्यकालमा कुनै उल्लेखनीय काम नगरेपनि आफूहरु यो सरकारको विकल्प खोज्ने पक्षमा अहिले नै नरहेको समेत जिकिर गरे। ज्ञवालीले भने,‘सरकार परिवर्तन मुलुकको आवश्यकता होइन, सत्ता परिवर्तनको खेलमा एमाले अहिले लाग्दैन।’

प्रधानमन्त्री दाहालले दलीय सहमतिकालागि बाक्लो भेटघाट गरेपनि अहिलेसम्म परिणाम आउन नसकेको टिप्पणी गर्दै उनले थपे,‘भेटघाटमा समसामयिक विषयमा कुराकानी भएपनि, आजको मितिसम्म एमालेसँग संविधान संशोधनको एजेण्डामा छलफल भएको छैन।’

उनले सीमांकनको विवाद मिलाउने नाममा समस्या नै नरहेको ५ नम्बर प्रदेशलाई टुक्र्याउने माग कसको भन्दै प्रश्न समेत गरे। उनले थपे,‘मधेसी दलहरुलाई खुशी बनाउने नाममा विवाद नै नभएको ठाउँमा विवाद उत्पन्न गराउने काम भएको छ, यो हामीलाई मान्य छैन्, सरकारले अहिले एमाले आए आउँछ नआए देखाइदिन्छौं भन्ने प्रवृत्ति देखाएको छ।’

 

प्रकाशित: २७ कार्तिक २०७३ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App