१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तीन कविता

देवान किराती

चिसो                                    

चिसोको साँच्ची नै ठीक वर्णन

न्यानोबाट नै हुन्छ

तर, अचानक हराएको छ न्यानो

र भयानक बढेको छ चिसो।

 

छुट्टीमा केटाकेटीहरू खेलिरहेका छन्

धुलोमा गंगटाझैँ

उनी लुगा लगाएकाहरू छेउबाटै

घसि्ररहेका छन् गोब्रे कीराझैँ

गोहीले घामझैँ आगो तापिरहेका छन्

नांगाहरू कुनाकुनामा

तर, थाहा छैन उनीहरूलाई

कि यो चिसो काट्न 

यो खेल कतिन्जेल खेल्ने

खेल्दाखेल्दा खेल नसकिएला, तर रात पर्ला

यो हिँडाइ कतिन्जेल हिँड्ने

हिँड्दाहिँड्दा बाटो नसकिएला, तर थाकौँला

यो आगो कतिन्जेल बल्छ र तापिरहने?

आगो मर्ला, अँध्यारो बढ्ला,

चिसो झन चि˜˜˜˜सो भएर आउला

कसरी–कसरी पो छिचोल्नु यो चिसो!

 

चिसो बढेपछि नै

मानिसले अनेक–अनेक गरे

इच्छाहरू उठाए र हिँडे

उद्देश्यहरू बोके र दौडिए

विचारहरू ल्याए र उफ्रिए

वादहरू आयात गरे र भाग लगाए

जम्मा गरे भीड

र, जुलुस लाए विचारहरूकै

राँको बाले उद्देश्यहरूकै

गीत गाए इच्छाहरूकै

भाषण गरे वादहरूकै

विश्वविद्यालय र कार्यालयहरूमा

अस्पताल र सभाहलहरूमा

बहस गरे चिसोकै

त्यसपछि झन् बढेको छ चिसो

इतिहासमा सबैभन्दा भयानक!

 

चिसो बढेपछि नै हो

मानिसले

उचाई र होचाईको कुरा ल्याए

छालाको रंगको कुरा ल्याए

प्रेमको धर्म खोज्न थाले

धर्मको जात सोध्न थाले

ईश्वरकै आँखा–नाक ताकेर

हान्न थाले मुक्का

आफै छुट्याउन थाले

चिहानझैँ सानासाना थुम्काहरू

यहीबेला हो झन्

भुइँकुहिरोझैँ चिसो शीत बोकेर अहंकार

मानिसको हृदयमा बसेको

र, चिसो बढेको हो भयानक।

 

चिसोले गुम्सिएका मानिस

आफ्नो पाइतालाबाट निस्किएको

आफ्नै जमिनको आवाज नसुनेर

दौडिरहेका छन्

अँध्यारोसिबाय 

केही नदेखिने सुरुङतिर

सायद चेतना पनि कक्रिएको छ चिसोले

मानिस आफ्नै घर बालेर

तापिरहेका छन् तातो

अब अँध्यारो हाट भर्न गएको घाम नफर्केसम्म

यहाँ मानिसमा केही हुने छैन

–सिबाय चिसो।

 

म पर्खिरहेको छु

त्यो उज्यालो–न्यानो घाम।

 

षड्यन्त्रको ताजमहल

आफ्नै अनुहारबाट हराएको

आफ्नै ओठको मुस्कान

खोजिरहेको मेरो यो समय

को हो त्यो?

जसले मेरो यै अनुहार

सुन्दर छ भनिरहेको छ

निश्चय नै

षड्यन्त्र गरिरहेको छ मविरुद्ध त्यसले।

 

सुन्दर हुन्छन् चराहरू भन्दै

झनै सुन्दर हुन्छ तिनको स्वतन्त्रता भन्दै

पिँजडामा कैद गरेको देखेको छु मैले

सुन्दर हुन्छ फूलहरू भन्दै

चुडाउँदै फूल

थुपारेर ढुंगामाथि

फूलहरूको अस्तित्व

नामेट गरेको देखेको छु मैले

को हो त्यो?

जसले मेरो रूपकै गुनगान गरिरहेको छ

निश्चय नै

षड्यन्त्र गरिरहेको छ मविरुद्ध त्यसले।

 

किन?

हरियो चिउला देखाउँदै पाठालाई

कालीमन्दिरकै बाटोतिर डोर्‍याउँदैछ कोही

किन?

तरबार उद्याइरहन्छ पूजारी

मन्दिरको मुल ढोकैअगाडि ढुंगामा

र, किन?

भनिरहेको छ कोही

तरबारको तिखो–चम्किलो धार

–ऐना हो भनेर

को हो त्यो?

जसले मेरो अनुहार त्यै तिखो ऐनामा

अझ सुन्दर देखिन्छ भनिरहेको छ

निश्चय नै

षड्यन्त्र गरिरहेको छ मविरुद्ध त्यसले।

 

किन?

आफ्नो अनुहार छोपेर

देखाइरहेको छ कोही

हाँसिरहेको तस्बिर जंगबहादुरको

र, भनिहेको छ

जंगबहादुरको तस्बिरजस्तै राम्रो

तिम्रोे अनुहार भनेर

किन?

आफ्नो अनुहार छोपेर

देखाइरहेको छ कोही

रोइरहेको तबिस्बर बुद्धको

र, भनिहेको छ

बुद्धको तस्बिरजस्तो कुरुप छैन

तिम्रो अनुहार भनेर

निश्चय नै

षड्यन्त्र गरिरहेको छ मविरुद्ध त्यसले। 

 

अहँ कसैगरी

सुन्दर देख्दैदेख्दिनँ म

हाँसेकै किन नहोस् अनुहार जंगबहादुरको

अहँ कसैगरी

कुरूप देख्दैदेख्दिनँ म

रोएकै किन नहोस् अनुहार बुद्धको

म (इतिहासको) अनुहारबाट हराएको

आफ्नै ऐतिहासिक अनुहार

खोजिरहेको मेरो यो समय

को हो त्यो?

जसले मेरो यै अनुहार

सुन्दर छ भनिरहेको छ

निश्चय नै

षड्यन्त्र गरिरहेको छ मविरुद्ध त्यसले    

निश्चय नै

यतैकतै षड्यन्त्रको ताजमहल उभ्याउँदैछ

मविरुद्ध कसैले।

 

रोटी                         

संसारकै सबैभन्दा

महान ईश्वर हूँँ म।

 

मेरै निम्ति हो

संसारका अनेकौँ चिज

पुज्छन्, पुकार्छन् मानिस

मेरै निम्ति हो

मानिस रडाँको गर्छ आपसमा

र मार्छ एकले अर्कालाई।

 

जब म

चुपचाप उभिन्छु

आगोमाथि भर्भराउँदो

सारा पसिनाको गन्ध डढाएर

यतिसम्म कि,

मानिस

आफू र आफन्त पनि बिर्सिएर

शत्रुको नामभन्दा पहिला

मेरै नाम लिन्छ– रोटी।

 

युगौँदेखि

मानिसले खोजिरहेको

जीवनको आकार, रंग र दर्शन

ठीक, त्यहीँ आएर रोकिन्छ

जहाँ छु म

र, मानिसले खोजिरहेको

ब्रह्मको केन्द्र पनि

म नै हूँ।

 

यदि कुनै दिन

म रहिनँ भने यो दुनियाँमा

के सोचेका छन् मानिसले

आफ्नो अस्तित्व रक्षार्थ?

प्रकाशित: २७ कार्तिक २०७३ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App