१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लास बाेकेरै लास्या बनेका रामबहादुर

रामबहादुर रावल। तस्बिरः नागरिक

टीकापुर– टीकापुर नगरपालिका–१, का रामबहादुर रावल (४१) लाई साथीभाइ लास्या रावल भनेर चिन्छन्। उनलाई साथीभाइ मात्रै होइन, धेरैजसो टीकापुरवासीले समेत यही नामले चिन्न थालेका छन्।

उनको नाम घरदेखि मसानघाटसम्म आफ्नो ट्रयाक्टरमा निःशुल्क शव (लास) बोकेर फाल्ने गरेका कारण फेरिएको हो। उनले यो काम गर्न थालेको १० वर्ष बित्यो। अहिलेसम्म एक सय ७३ जनाको शव बोकेका छन्। तीमध्ये कतिपयले थोरै रकम तेल खर्च भनेर दिन्छन्। कतिपयले दिँदैनन्। उनी आफैं कसैसँग पैसा माग्दैनन्। कसैले सम्झेर दियो भने लिन्छन्।

उनले कतिपय व्यक्तिको दाहसंस्कारमा उल्टै पैसा दिएका पनि छन्। टीकापुर नगरपालिका–२, राजीपुरका एक दम्पतीको दुई दिनको फरकमा निधन भयो। उनीहरूको आर्थिक अवस्था कमजोर थियो। उनले गाउँलेले पैसा संकलन गरेर दाहसंस्कार गरेको देखेपछि आफूले समेत आर्थिक सहयोग गरेको बताए।

यो काम गर्नुका पछाडि उनले आफैं समस्या भोगेको घटना सुनाए। उनकी साली नाता पर्ने कर्णाली नदीमा बगेर बेपत्ता भइन्। उनको शव १० दिनपछि भारतीय भूमिमा फेला प-यो। दाहसंस्कारका लागि शव घर ल्याउन जरूरी थियो। तर, कसैले शव बोक्नका लागि ट्रयाक्टर दिन मानेनन्। उनले आफ्नै ट्रयाक्टर लगेर शव बोकेर ल्याए र दाहसंस्कार गरियो।

उनलाई यो घटनाले छोयो। उनले सोचे यस्तो समस्या त धेरैले भोगेका होलान्। कतिले घरदेखि मसानघाटसम्म समेत शव बोक्न समस्या भोगेका होलान्। उनले त्यही दिनदेखि निःशुल्क शव बोक्ने प्रण गरे। उनी विगत १० वर्षदेखि शव बोक्दै आएका छन्। उनलाई यस काममा निकै आनन्द लागेको छ। ‘धर्म कमाउन कोही मन्दिर जान्छन्, कोही मस्जिद जान्छन्,’ उनले भने, ‘तर म हरेक मान्छेलाई मरेपछि चितासम्म पु-याउँछु।’

उनलाई कोही मान्छेको निधन भयो भने आफन्तले खबर गर्छन्। उनी खबर पाउने बित्तिकै ट्रयाक्टर लिएर पुग्छन्। अहिलेसम्म खबर पाएका सबै ठाउँमा पुगेको उनी बताउँछन्। कतिपय ठाउँमा जान नसकेपछि उनलाई पछुतो लाग्छ। उनी अघिपछि ट्रयाक्टरमा ढुङ्गा बालुवा बोक्छन्। उनको आम्दानीको स्रोतनै यही हो। उनले यही कामबाट ६ छोराछोरीको लालनपालन गर्दै आएका छन। उनी आफ्नो काम छोडेर समेत शव बोक्न जान्छन्।

मान्छे मरेपछि घरदेखि मसानघाटसम्म बोकेर लैजाने चलन हराएको छ। टीकापुर नगरपालिकाभित्र त्यस्तो कुनै वाहनको व्यवस्था छैन। यस्तो अवस्थामा लास बोक्नका लागि मान्छेले ट्रयाक्टरको प्रयोग गर्ने गरेका छन्। तर, सबैले पैसा तिरेर पनि ट्रयाक्टरमा शव बोक्न मान्दैनन्। ट्रयाक्टर धनीले शव बोक्न नमान्दा आममानिसले समस्या भोगिरहेका बेला यिनै लास्या रावल सबैका लागि सहयोगी बनेका छन्।

प्रकाशित: ३० श्रावण २०७६ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App