१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

जनैपूर्णिमाको रौनक

काठमाडौं –  आज बिहानैदेखि जनैपूर्णिमा दिन हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) र गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै लगाउने चलन छ। तराइ तिर आजका दिनमा रक्षाबन्धन पनि भन्छन्। रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन्।

त्यस पछिजौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन्। त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण गर्दछन्।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ। जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ।

यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, जुम्लाको दानसाधु, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ।

हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणीपूर्णीमाका दिनअध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म९सूर्य०बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ।

प्रकाशित: ३० श्रावण २०७६ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App