१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सगरमाथामा ‘जाम होइन लाम’

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०१९ को वसन्त ऋतुमा सगरमाथामा देखिएको चापलाई जाम नभएर लामको संज्ञा दिएका छन्। 

नेपालको पर्वतीय पर्यटनको सुधार गर्न गठित पाँच सदस्यीय समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनबारे धारणा राख्दै मन्त्री भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएजस्तो सगरमाथामा कुनै जाम नभई लाम मात्र भएको बताएका हुन्।

मन्त्री भट्टराईले आरोहणमा जाने सबै आरोहीलाई सगरमाथा सुरक्षित रहेको भन्दै आरोहण गर्नुपूर्व सबै मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन्। अब सगरमाथा आरोहण गर्दा सक्षम रहेको मेडिकल रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गर्ने, मौसमको सही तथ्यांक राख्ने र सम्पर्क माध्यम राम्रो बनाउने उनको भनाइ छ।
त्यस्तै उनले सगरमाथालगायत हिमाल आरोहणमा हुने अश्लिल हर्कत नगर्नसमेत आरोहीलाई चेतवानी दिएका छन्।

समितिले बुझाएको प्रतिवेदनमा मे २१ मा मौसम प्रतिकूल हुन्छ भन्ने हल्लाका कारण उच्च उचाइ तथा जोखिमपूर्ण स्थानमा पुगेर कतिपय आरोहीले त्यही बसी मे २१ को आरोहण योजना मे २२ का लागि बनाएको र मे २२ मा आरोहणको योजनामा रहेका आरोही समेतको उपस्थिति रहेको हुँदा उक्त दिन केही बाक्लो संख्यामा सगरमाथाको उच्च उचाइमा मानव उपस्थिति हुन गएको उल्लेख छ।

उक्त दिन सगरमाथामा दुई सय २३ जनाले सफल आरोहण गरेको र एकजनाको मात्र मृत्यु भएको र लामो समय उच्च उचाइमा बस्दा शारीरिक रुपमा कमजोर भई, हाइ अल्टिच्युड सिकनेस समेतको कारणबाट सगरमाथामा मे २३ का दिन तीन आरोहीको मृत्यु भएको जनाइएको छ।

विश्वव्यापी मौसम परिवर्तनका कारण सगरमाथा हिमालचुलीको मौसम पनि प्रभावित भएको र यसले आरोहीको कार्यान्वयनमा रहेको योजना उच्च उचाइमा पुगेर पर्ख र हेरको अवस्थामा रहेका कारण जाम हुन गएको प्रतिवेदनमा उल्लेख छ।

यस पटक सगरमाथा आरोहणका क्रममा पर्यटन विभागले ३७ जना सम्पर्क अधिकृत पठाएकामा २३ जना मात्रै सगरमाथा बेस क्याम्पमा पुगेको र जिम्मेवारी पूरा नगरी फर्कने अधिकृतलाई भविश्यमा उक्त सेवामा नराख्नेसम्मको सुझाव समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनमा उच्च उचाइमा अधिक ट्राफिक जाम भनेर विभिन्न सञ्चार माध्यममा भनिए पनि तथ्यांकको अध्ययन गर्दा हालसम्मकै उच्च संख्यामा आरोहण भएको मे २२ मा मृत्यु प्रतिशत उक्त दिनको सफल आरोहणमा ०.४४ मात्र रहेकाले आरोहीको मृत्यु भएको विषय तथ्यले पुष्ठि नभएको उल्लेख छ।

फानी नामक आँधीका कारण शिखरसम्म डोरी टाँग्ने कार्यमा भएको ढिलाइ भएकाले पनि उक्त दिन सगरमाथामा चाप बढ्न गएको समितिको भनाइ छ छ। यस वर्ष मौसम विगतका वर्षजस्तो नभई केही समय अनुकूल हुने र केही समय प्रतिकूल हुने अवस्था रहनुका साथै मे २४ पछिको मौसम हिउ पग्लने लगायत कारणले पनि आरोहण अनुकूल नमानिने व्यवहारिक कारणले सगरमाथा बदनाम भएको प्रतिवेदनमा जनाइएको छ। आरोहीले उच्च उचाइमा पुगेर आरोहणको योजना गरेको आकस्मिक परिवर्तन र त्यसको प्रभावकारी समन्वयले उक्त जाम पर्न गएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३० श्रावण २०७६ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App