१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको रोमाञ्चक जित

काठमाडौं – अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकाल्दै नेपालले घरेलु मैदानमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने संकेत गरेको छ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले ३–२ सेटमा रोमाञ्चक जित निकाल्दै राम्रो संकेत देखाएको हो। पहिलो सेट गुमाएको नेपालले त्यसपछिका दुई सेटमा जित निकालेको थियो। चौथो सेट गुमाए पनि अन्तिम तथा निर्णायक सेटमा फर्किंदै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकाल्दै आउँदै गरेको प्रतियोगितामा मनोबल बटुलेको हो।

‘नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा यतिको प्रदर्शनले प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। अफगानिस्तानभन्दा अरू टोली अझै बलिया छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीले अझै मिहिनेत गर्नुपर्छ।’

नयाँ खेलाडीसहित कोर्टमा उत्रिएको नेपालले पहिलो सेट पाहुना टोली अफगानिस्तानलाई २२–२५ ले सुम्पिएको थियो। तालमेल मिलाउन नसकेको नेपालले पहिलो सेट गुमाए पनि त्यसपछिका दुई सेटमा लगातार जित निकाल्न सफल भएको थियो। दोस्रो सेटमा २५–१७ को सहज जित निकालेको नेपालले तेस्रो सेटमा अलि संघर्ष गर्नुप¥यो। २५–२१ को  प्रतिस्पर्धात्मक तेस्रो जित निकाल्दा चौथो सेट २३–२५ ले पाहुना टोलीलाई सुम्पियो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णायक सेटमा नेपालले सुरुआतबाट नै  अफगानी टोलीलाई दबाबमा राख्यो। सुरुआतबाट नै अग्रता लिएको नेपाल १० स्कोर गर्दा बराबरीमा रोकिएको थियो। घरेलु कोर्टमा दर्शकको साथ पाएको नेपालले त्यसपछि लय सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्दा १५–१३ को रोमाञ्चक जित निकाल्न सफल भएको हो।

भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको तयारीमा रहेको नेपाललाई यतिको प्रदर्शनले नपुग्ने नेपाली टोलीका कप्तान इम रानामगरले बताए।
‘नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा यतिको प्रदर्शनले प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ,’ चौथो सेट खेल्ने क्रममा घाइते हुँदै कोर्टबाहिर निस्किएका कप्तान इमले भने, ‘अफगानिस्तानभन्दा अरू टोली अझै बलिया छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीले अझै मिहिनेत गर्नुपर्छ।’

मैत्रीपूर्ण खेलमा नेपाली टोलीले गरेको प्रदर्शनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा कप्तान इम रानाले नेपाली खेलाडीमा अनुभवको कमी रहेको प्रतिक्रिया दिए।
‘यति ठूलो प्रतियोगिता नेपालमा आयोजना हुँदा हामीले कुनै पनि अन्तर्राष्ट्रिय टोलीसँग अनुभव साट्ने मौका पाएनौं। यदि हामीले समयमा नै तयारी थालेर केही अनुभव बटुल्ने मौका पाएको भए हामीले अवश्य पनि राम्रो गर्न सक्ने थियौं,’ कप्तान इम रानाले थपे, ‘आजको खेलको पहिलो सेट तालमेलमा अभावका कारण गुमाउनुपरेको हो। दोस्रो सेटमा रणनीति परिवर्तन गर्दै खेल्दा जित हात लाग्यो। घरेलु मैदानमा हुने खेलमा हामीले राम्रो गर्नुको विकल्प छैन।’

टोलीमा समावेश भएका खेलाडीले पनि राम्रो पदर्शन गर्दा नेपाली टोलीले पहिलो मैत्रीपूर्ण खेलमा जित निकाल्न सफल भएको हो। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङको परीक्षा बुधबार सफल भएको छ। नेपालमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानबाहेक अन्य टोली शनिबार काठमाडौं आउनेछन्। अफगानिस्तान भने मंगलबार नै नेपाल आएको हो। भारत हुँदै नेपाल आएको अफगानी टोलीले भारतमा केही दिन अभ्यास गरेको थियो। केही दिनअगाडिको आगमनको फाइदा उठाउँदै नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएको हो। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा बिहीबार प्रतिस्पर्धा गर्नेछ।

नेपालसहित सात देशले सहभागिता जनाउने प्रतियोगितामा साबिक विजेता तुर्कमिनिस्तान, माल्दिभ्स, उज्बेकिस्तान, किर्गिस्तान, अफगानिस्तान र बंगलादेशले सहभागिता जनाउँदै छन्।

प्रकाशित: ३० श्रावण २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App