१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मूल्य घट्दा भण्डारणमै थन्किए अलैंची

खोटाङ- अलैंचीको मूल्यमा आएको गिरावटले खोटाङका किसान चिन्तित बनेका छन्। विगतका वर्षमा अलैंचीबाट राम्रो आम्दानी गर्दै आएका किसान यसपल्ट अलैंचीको भाउ दोब्बर घट्दा चिन्तित बनेका हुन्।

गत वर्ष सरदर प्रतिमन ९० हजारदेखि एक लाख रुपैयाँमा बिक्री भएको अलैंची यसपल्ट प्रतिमन ४० देखि ४५ रुपैयाँका दरले पनि बिक्री हुन गाह्रो भइरहेको अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताए। उनका अनुसार किसानले अलैंचीको दाना भट्टीमा सुकाएर तयारी अवस्थामा भण्डार गरेर राखे पनि हालसम्म संकलक र ठेकेदार खरिद गर्न आएका छैनन्। यसअघिका वर्ष भदौदेखि नै अलैंची किसानका घर–घरमा आउने ठेकेदार यस वर्ष नआएको किसान बताउँछन्।

बेंसी क्षेत्रमा भदौ अन्तिमदेखि नै अलैंची टिप्ने गरिन्छ भने लेक क्षेत्रमा कात्तिक अन्तिमतिर टिप्ने गरिन्छ।

बेच्न आफैं सहर लैजाने गरेका किसानले पनि यसपल्ट भाउ नभएकाले अलैंची थन्क्याएर बसेका छन्। 'अहिले अलैंचीको भाउ घटेर मनको ४० हजारदेखि ४५ हजार रुपैयाँमा झरेको हल्ला छ, तर किसानले त्यतिमा पनि बिक्री गर्न पाएका छैनन्,' अध्यक्ष तामाङले भने, 'घरैमा आइपुग्ने ठेकेदार अहिलेसम्म अलैंची खरिद गर्न आएका छैनन्।'

नक्कली अलैंचीको हल्लाको असरले जिल्लाका सक्कली अलैंचीको भाउ घटाएको किसानको गुनासो छ। सुरुका दिनमा प्रतिमन ८० देखि ९० हजार रुपैयाँमा किनबेच भइरहेको अलैंची क्रमशः घट्दै प्रतिमन ४० हजारदेखि ४५ हजारमा झरेको हो। बेंसी क्षेत्रमा अलैंची टिप्ने र सुकाउने काम सकिए पनि बजार भाउ नभएकै कारण अधिकांश नयाँ अलैंची बजारसम्म पुग्न सकेको छैन। पछिल्लो समय अलैंचीको आम्दानीले लोभिएका किसान यसपल्ट भाउ नपाउँदा निराश छन्।

मूल्यमा आएको गिरावटले किसानभन्दा अलैंची संकलक समस्यामा परेको बाँझेच्यानडाँडा– ९ मबुस्थित डाँडाखर्क बहुउद्देश्यीय कृषि स्रोत केन्द्रका सञ्चालक संग्राम राईले बताए। ऋण काढेर अलैंची संकलन गर्ने कतिपय संकलक अलैंची किनबेचमा उतारचढाव आउँदा समस्यामा परेको उनको भनाइ छ। 'किसानलाई चिन्ता छैन, यसपल्ट बिक्री नभए अर्कोपल्ट बिक्री हुन्छ,' संग्रामले भने, 'तर ऋण लिएर अलैंची संकलन गरेर नाफा कमाउँदै आएका संकलक साँच्चिकै समस्यामा परेका छन्।' तत्कालका लागि बिक्री नभएको अलैंची अर्कोपटक बिक्री हुने भएकाले किसानले हार खानुपर्ने अवस्था नभएको उनको भनाइ छ ।

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष ०७१/७२ मा ८० करोड रुपैयाँको अलैंची खोटाङबाट निकासी भएको थियो। त्यस्तै, ०७२/७३ मा ९० करोडभन्दा बढी अलैंची उत्पादन तथा निकासी भएको थियो। उत्पादित अलैंची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड र भारत हुँदै अन्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ।

जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले यस वर्ष उत्पादन भएका अलैंचीको परिमाणका विषयमा तथ्यांक संकलन भइनसकेको बताए। 'यस वर्ष जिल्लामा कति अलैंची उत्पादन भयो भन्ने तथ्यांक मंसिर ५ गते मात्र टुंगो लाग्छ, तयारी अवस्थाका अलैंचीले पनि भाउ पाउन सकेको छैन,' घिमिरेले भने, '१५ वर्षभन्दा पुरानो बगानलाई नहटाइएकाले र व्यवस्थापन पक्षमा ध्यान नदिइएकाले अलैंचीको गुणस्तरमा प्रश्न उठेको देखिएको छ।' जिल्लामा आर्थिक वर्ष ०७१/७२ मा चार सय ४० मेटि्रक टन तथा आर्थिक वर्ष ०७२/७३ मा पाँच सय ६४ मेटि्रक टन अलैंची उत्पादन भएको थियो।

अलैंची मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुन्छ। भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको नौ सय ४० हेक्टरमा खेती गरिँदै आइएको छ। सुंदेल, फेदी, पाथेका, खार्ताम्छा, दिप्सुङ, राखा, बाकाचोल, बास्पानी, बाक्सिला, ऐसेलुखर्क, नेर्पा, दोर्पा, मात्तिम, टेम्मा, याम्खा, रतन्छा, बाँझेच्यानडाँडा, खिदिमा, चिसापानी, बड्कादियाले, सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी, डाँडागाउँ, बोपुङ, चिप्रिङ, इन्द्रेणीपोखरी, छोरम्बुलगायत जिल्लाका ३४ भन्दा बढी गाविसमा व्यावसायिक रूपमा अलैंची खेती हुँदै आएको छ। जिल्लाका ६४ गाविसको एक हजार एक सय ५० हेक्टर क्षेत्रमा अलैंची खेती गर्न सकिने सम्भावना छ। जिल्लाका कतिपय एउटै गाविसबाट समेत करोडौंको अलैंची निकासी हुने गरेको छ। अन्य बालीको तुलनामा थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय जिल्लाका कृषक अलैंचीतर्फ आकर्षित हुँदै गएका छन्।

प्रकाशित: २७ कार्तिक २०७३ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App