१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोल्ड स्टोर सञ्चालनको तयारीमा

कोल्ड स्टोरको अनुगमन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलगायत। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत- पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनको तयारीमा रहेको छ। एक करोड ७९ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर सञ्चालनमा आउन लागेको हो। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भेरीगंगा र गुर्भाकोट नगरपालिका, साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना (रिजमएफपी) नारी नागरण बहुउद्देश्यीय कृषक समूह र साना किसान सहकारी संस्थाको लगानीमा कोल्ड स्टोर सञ्चालनमा आउन लागेको हो।

‘भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ, विद्युत जडान गरेर असोजदेखि सञ्चालनमा ल्याउने तयारीमा छौं’ नारी जागरण बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ज्ञानु भूषालले भनिन्, ‘कोल्ड स्टोरका लागि कोहलपुर जानुपर्ने बाध्यताको अन्त्य हुने भयो।’ उनले कोल्ड स्टोरमा दुई सय मेट्रिकटन आलुको वीउ भण्डारण गर्न सकिने बताइन्।

‘सहकारी र समूहमा आवद्ध सबैले आलुको वीउ उत्पादन गर्ने गरेका छौं’ अध्यक्ष भूषालले भनिन्, ‘अहिलेसम्म वीउ भण्डारणका लागि कोहलपुर जाने गरेका थियौं, अव आफ्नै कोल्ड स्टोर सञ्चालनमा आउँदा धेरै सहज हुने भयो।’

असार ११ गतेको हावाहुरीले बन्दै गरेको कोल्ड स्टोरमा क्षति पुर्याएको थियो। हावाहुरीले क्षति नपुर्याएको भए भदौदेखि कोल्ड स्टोर सञ्चालनमा ल्याउने लक्ष्य थियो। कर्णाली प्रदेशमा पहिलो पटक सञ्चालनमा आउन लागेको कोल्ड स्टोरको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बुधबार अनुगमन गरेकी छन्। उनले कर्णालीलाई वीउमा आत्मनिर्भर बनाउनका लागि कोल्ड स्टोर महत्वपूर्ण हुने बताइन्।

‘कर्णालीमा कोल्ड स्टोर नहुँदा कृषकका उत्पादनहरु लामो समयसम्म भण्डारण गर्न समस्या हुने गरेको थियो’ उनले भनिन्, ‘कोल्ड स्टोर सञ्चालनमा आएसँगै कर्णालीमा वीउमा आत्मनिर्भर हुने अवस्था छ।’ उनले कोल्ड स्टोरका लागि आगामी दिनहरुमा पनि आवश्यक सहयोग गर्ने बताइन्।

 

 

प्रकाशित: २९ श्रावण २०७६ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App