१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उखु किसानले अझै पाएनन् भुक्तानी

फाइल तस्बिर ।

नवलपरासी- पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका  छैनन्। चिनी उद्योगहरुले २०७५ सालमा करिब ७० करोड रूपैयाँ र २०६९ सालमा उखु दिएबापत् बाँकी रहेकामध्येको करिब चार करोड रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडाैंको रकम भुक्तानी गर्न बाँकी छ।

इन्दिरा सुगर मिल्सले २०७०  सालमा करि १६ करोड र सोभन्दा अघिल्लो वर्षको करिब चार करोड गरी २० करोड रूपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जनाएको छ। यसै गरी २०७० सालमा लुम्बिनी चिनी उद्योगको करिब १४ देखि १५ करोड र बागमती  चिनी उद्योगले  करिब ३५ करोड रूपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ।  समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत् कम मूल्यमा किसानलाई रकम  भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ। तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन्।

सरकारले उखुको प्रतिक्विन्टल मूल्य पाँच सय ३६ रूपैयाँ ५६ पैसा निर्धारण गरेकामा  चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी ६५ रूपैयाँ २८ पैसा प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ। चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी सुरु गरिसकेको जनाएका छन्। उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरिद पुर्जी सङ्कलन गरी भुक्तानी दिन सुरु गरिसकेको उद्योगहरुको भनाइ छ। आफ्नो उद्योगले अहिलेसम्म करिब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापा बताए।

उनका अनुसार उद्योगलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ। सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ। पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ। जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन्। विगत वर्षदेखि जिल्लामा सात हजार पाँच सय हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ। रासस

प्रकाशित: २९ श्रावण २०७६ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App