१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अन्यौलमा थवाङ

थवाङ गाउँ। तस्बरिः दिनेश/नागरिक

रोल्पा - निर्वाचन आयोगले विभिध कारणले रिक्त रहेका पदमा मंसिर १४ गते उप निर्वाचनको मिति तोकेको छ।  जसका लागि रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठुलोगाउँमा समेत वडा अध्यक्षका लागि चुनाब हुनेछ।  तर यहाँको निर्वाचन सोचे जस्तो सजिलो छैन। 

पहिले पनि निर्वाचन बहिस्कारको नारा लिएको विप्लवको पकड क्षेत्र मानिएको थवाङमा चुनाव गर्न सरकारलाई मुस्किल पर्ने देखिन्छ। केहि समय अगाडि मृत्यु भएका वडा अध्यक्ष फर्कबहादुर बुढा विप्लव नेतृत्वको नेकपाका गतिला कार्यकर्ता हुन।  उनले स्वतन्त्रबाट उमेद्वारी दिएर चुनाव जितेका थिए।

इतिहासमै राज्य सत्ताबाट अलग हुन चाहने थवाङीहरुले २०६४ मा ३ मत वाहेक सवै प्रचण्डलाई दिएका थिए।  २०७० सालको संविधान सभामा एकमत पनि खसालेनन्।  २०३६ सालमा सतप्रतिशत मत वहुदललाई खसालेका उनिहरुले २०१५ सालको निर्वाचनमा सवै मत थवाङकै उम्मेदवार वनेका खगुलाल गुरुङलाई दिएका थिए। 

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाङमा २०५६ मा हेलिकप्टरमा पुगेका २ जनाले मात्र मतदान गरेका थिए।  २०५४ मा चुनावै भएन।  अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो।  २०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रधामा आएका थिए। 

सामुहिक निर्णयमा सधै एक रहने थवाङ गत स्थानिय तह निर्वाचन यता विभाजित देखियो।  थवाङीहरुको भाषामा सरकारी नेकपा र बिद्रोही नेकपाको टकराब जन्मिएको त्यो चुनाव पछि यो गाउँ दुई कित्तामा रहेको छ।  प्रत्यक्ष निर्वाचनमा भाग लिएका कतिपय पनि यतिबेला सन्तुष्ट भने छैनन्। 

‘चुनाबमा भाग लिनु र नलिनुमा खासै भिन्नता छैन।  अहिले पनि उहि बिगतका जनप्रतिनिधिको जस्तै ब्यबहार र रवैया जस्तै छ।  आखिर गणतन्त्र पछिको चुनावले पनि दलाल र ठेकेदारलाई नै पदमा बसाल्ने रैछ। ’ थवाङ स्थित विप्लव नेकपाका जिल्ला स्तरीय एक नेताले भने ‘चुनाव गर्न त प्रयास गर्लान नि।  हाम्रो पार्टीको निति चुनावमा भाग लिने छैन।  बहिस्कार नै हो। ’ उनका अनुसार ‘थवाङीहरुले चाहे भने शुन्य मतदान नै गराउन सक्ने सम्भाबना रहन्छ। ’

आगामी निर्वाचनका बारेमा जिल्ला स्थित स्थानिय प्रशासनलाई कुनै औपचारिक जानकारी गराइएको छैन।  ‘चुनावका बारेमा मैले पनि संचार माध्यमबाट जानकारी पाएको हो।  आधिकारिक जानकारी छैन। ’ रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।  सुरक्षाका हिसावले खासै चुनौतिको समना गर्नु नपर्ने देखेका उनी भन्छन्,‘चुनाव गराउन सुरक्षाका हिसाबले गाह्रो हुदैन। ’

गाउँपालिकाका अध्यक्ष निर्वाचन हुनेमा ढुक्क छन।  ‘यो पटक पनि बहिस्कार वा शुन्य मतदान नै नहोला।  निर्वाचनलाई स्वीकार गर्ने समुह पनि छँदैछ।  यसपाली सकेसम्म सहमतीमा जाने सोच बनाएको छु। ’ थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले भने ‘भावनाको कुरा पनि हो। त्यसैले उहाँहरुकाे ‐विप्लवलाई नै सर्बसम्मत दिए पनि हुन्छ भन्ने मेरो सोच छ।  तर पार्टी भित्र छलफल भएको छैन। ’

प्रकाशित: २९ श्रावण २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App