१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

काठमाडौँ कहर

काठमाडौँ, देशको केन्द्रीय राजधानी।  शिक्षा, स्वास्थ्य, रोजगारीलगायत हरेक सुविधा उपलब्ध र अब्बल भएको ठाउँ।  त्यसैले त काठमाडौँमा मानिसको चाप बढ्दो छ, जताततै घरघरै छन्।   सम्भवतः प्रायः गाउँघरमा वा जुनसुकै क्षेत्रमा बस्ने मानिसको पनि भित्री मनको कुनै न कुनै कुनामा भएको एउटा सपना काठमाडाैंसँग जोडिएको हुँदोरहेछ।  सपना कस्तो भने काठमाडौँमा एउटा घर होस्, त्यति नभए पनि आफ्नो नाममा थोरै भए पनि माटो (जमिन) होस्, त्यति पनि नभए एउटा कोठा भाडामा लिएर भए पनि बसौँ।  यस्तै– यस्तै हुँदारहेछन्, मानिसका आधुनिक सपना। 

काठमाडौँमा घर वा जग्गा हुँदाको मानसम्मान र इज्जतै अर्काे हुनेरहेछ।  उनीहरूको सामाजिक हैसियत एक्कासि चुलिँदोरहेछ, अझ अहिले त यसले राजनीतिक हैसियत बढाउन पनि भूमिका खेल्दोरहेछ।  गाउँघरमा पनि यस्ता मानिसका छुट्टै रवाफ हुँदोरहेछ।   काठमाडौँमा महँगा विद्यालयहरू छन्, अस्पतालहरू छन्, विभिन्न व्यवसाय छन्।  अन्यत्रभन्दा रोजगारी पनि पाइने भएको हुँदा मानिस बढी त्यता नै झुम्मिने भइहाले।  राजनीतिक केन्द्रबिन्दु भएकाले पनि अझ बढी चहलपहल त भई नै हाल्नेभयो। 

अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महत्व दिएकोचाहिँ रहेछ, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ।  काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।

अर्को हिसाबले भन्दा काठमाडौँ मानिसको हैसियतअनुसार हरेक चिज पाइने केन्द्र पनि रहेछ।  सस्ता, महँगा, राम्रा, नराम्रा, गुणस्तरीय एवं गुणस्तहीन सामान, क्षमताअनुसारका काम अन्यन्त्रका तुलनामा काठमाडौँमा बढी पाइन्छन्।  त्यसैले पनि होला, घरघडेरीसम्मको सपना देख्न नसक्नेले पनि पढाइ, जागिर वा कुनै बहानामा भाडामै लिएर किन नहोस्, आफू बस्ने कोठालाई नै सिंगो संसार ठानेर केही वर्ष भए पनि काठमाडौँ बस्ने रहर धेरैजसो मानिसमा रहेको पाइन्छ।  तर यसो गर्नुमा पनि केही रहर र केही बाध्यता छदैँ छन्। 

कुनै बेला ममा पनि काठमाडौँ बस्ने र राम्रो क्याम्पस पढ्ने सपना थियो, तर आर्थिक अभावका कारण त्यो पूरा हुन सकेन।  दाइलाई सामान्य सरकारी कलेजमा पढाउँदाको खर्च पु¥याउनसमेत कठिन भएपछि म र मेरी दिदीको काठमाडौँ बसेर पढ्ने सपना सपनामै सीमित भयो। तैपनि त्यो सपना बाँकी नै थियो, तर बिस्तारै ती रहर र सपना अहिले हराएका छन्।  अहिले ती रहर र सपना आफ्नै जिल्ला, आफ्नै गाउँ, गरिब समुदाय, विभिन्न कारणले हेपिएका, पिल्सिएका, समस्या तथा अन्यायमामा परेका भनौँ वा पारिएका मानिस, अनि गाउँका पाखा, भिर, उकाली–ओरालीमा सरेका छन्।  कुनै बेला काठमाडौँ बस्ने रहर अहिले यो गाउँ, यो जिल्ला छाड्नुपर्छ कि ? अर्थात् सिधै भन्दा कुनै बहानामा काठमाडौँ बस्नुपर्ने दिन आउँछ कि भन्ने चिन्तामा परिणत भएको छ। 

रसुवा नै बसेर भए पनि एलएलबी पढ्ने चाहना बढ्यो र काठमाडौँको क्याम्पसमा भर्ना भएँ।  गत असारमा एलएलबी प्रथम वर्षको परीक्षा दिन करिब १० दिन काठमाडौँमा बस्नुप¥यो।  हुन त यसअघि काठमाडौँ बस्दै नबसेको र त्यहाँको अनुभवै नभएको त होइन, तर पनि लगातार १० दिन बस्दाको अनुभव, देखाइ र भोगाइले काठमाडौँप्रति वितृष्णा अझ बढायो। 

पछिल्लो समय हामीले समाचारमा सुनेअनुसारको काठमाडौँ अझै होइनरहेछ भन्ने लाग्यो।  थोरै घाम लाग्यो कि धुलो र धुवाँले सासै फेर्न गाह्रो हुने ! हामीले सञ्चारमाध्यमबाट सुनेका थियौँ– ‘अब काठमाडौँमा मास्क लगाएर हिँड्नुपर्दैन, कसैले मास्क लगाउँछ भने उसले सरकारको विरोध गरेको हो।  किनकि सरकारले मास्क लगाउनै नपर्ने गरी काठमाडौँ सहरलाई सफा पारिसकेको छ। ’

तर अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महŒव दिएकोचाहिँ रहेछ, प्रयास पनि गरेको देखियो, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ।  काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।  घाम लाग्दा धुलो उडेर हिँड्न नसकिने, पानी पर्दा हिलो र खाल्डाखुल्डीमा डुबिएला भन्ने पिर !  फोहोर व्यवस्थापन गरिएको छैन, हप्तौँसम्म उठाइँदैन।  भाडामा बस्नेहरूको कोठा फोहोरले भरिनलाग्दा पनि फाल्ने वा व्यवस्थापन गर्ने ठाउँ नभएको अवस्था देखियो। 

बिहान घरबाट सुकिलो कपडा लगाएर कलेज, अफिस गएकाहरू सम्बन्धित ठाउँमा पुग्दासम्म गैरीखेतमा रोपाइँ गरेजस्तो हिलाम्मे हुँदारहेछन्।  बेलुकी घर/कोठा फर्केर कपडा धुन खोज्यो, पानी हुँदैन।  काठमाडौँ बसेर सिंहदरबारमा काम गर्ने लोककुमारी दिदी भन्छिन्, ‘१० बजे अफिस पुग्न बिहान ८ बजे नै खाना खाएर हिँड्नुपर्छ, त्यति गर्दा पनि कहिले जाम, कहिले केले समयमा पुग्न गाह्रो हुन्छ, घरबाट अफिस पुग्दा हिलो, धुलो र फोहोरले कपडा हेरिसाध्य हँुदैन।  साँझ ५ बजे अफिस छुट्टी भएर निस्क्यो, घर पुग्दा ७ बज्छ। ’ उनी अगाडि थप्छिन्, ‘न यात्रु हिँड्ने बाटोको सुविधा छ, न भनेको समयमा गाडी पाइन्छ, न त चढेको गाडी जाममा नपरी समयमा पुग्छ।  न लुगा धुने, नुहाउने पानी नै छ।  काठमाडौँको बसाइजस्तो अत्यासलाग्दो त कहीँँ छैन होला।  बरु गाउँकै डाडाँ–पाखा, भिर–पहरा र खेतीपाती नै ठीक लाग्यो।  कहिलेकाहीँ त लाग्छ– नर्क भनेकै यही (काठमाडौँ) हो कि ? यति भन्दाभन्दै पनि बच्चाको पढाइ तथा जीविकाका लागि काठमाडौँ बस्नैपर्ने बाध्यता छ !’

केही दिनअघि मेरा एकजना बहिनी मलाई भेटेर घर फर्किंदै थिइन्।  घर पुग्नै लाग्दा भुलवश भुइँमा खसेको मोबाइल पानीमा डुबेर बिग्रेको सुनाउँदै थिइन्।  भन्नुको तात्पर्य कहीँ–कतै सुरक्षित र व्यवस्थित छैन, काठमाडौँमा।  पाइला–पाइलामा ठगिएको महसुस हुन्छ।  काठमाडौँ बसाइका क्रममा एक दिन फलफूल किन्न गएकी थिएँ।  दुई किलो अनार आफैँले छानेर जोख्न दिएँ।  व्यापारी दिदीले तराजुमा राखेर पूरा २ किलो जोख्नुभयो, तर  जब झोलामा अनार खन्याउँदै हुनुहुन्थ्यो, तब ती दिदीले दुईवटा अनार अर्कोपटिट् कुनामा लुकाउनुभयो, मलाई पो लाज लाग्यो र नभनौँजस्तो लाग्यो।   तर सोचेँ– किन नबोल्ने, आखिर पैसा तिरेर किनेको पो हुँ।  त्यसपछि भनेँ– ‘दिदी हजुरले त जोखेको अनार किन झोलामा नहालेर उता राख्नुभयो त ?’ दिदीले मैले देखेको छैन भन्ठान्नु भएछ, मैले भनेपछि लाजले अनुहार रातो बनाउनुभयो र ए, म त झुक्किएछु भन्दै झोलामै हालिदिनुभो।  यो त एउटा सानो उदाहरण मात्रै हो, लेखपढ गर्न नसक्ने, अक्षर नचिन्ने तथा ठगिँदा पनि बोल्न नसक्नेहरूको हालत के होला ? वास्तवमा प्रायः व्यापारीले सामान सही रूपमा जोख्दै जोख्दैनन्। 

काठमाडौँ बस्ने धेरैसँग कुराकानी गर्दा निकै ठूलो पीडा रहेको पाएँ।  त्यसमा पनि गाउँबाट सहर पसेका, कोठा भाडामा लिएर बस्नेहरूको समस्या त अझ चर्काे छ।  घरभाडा बढ्दो छ, तरकारी, फलफूल मात्र होइन, दैनिक उपभोग्य सामानको मूल्य अस्वभाविक रूपमा बढ्दो छ।  तर मानिसका आम्दानी भने सीमित छन्।  गरिब तथा मध्यम वर्गका लागि त काठमाडौँको बसाइ सजायजस्तै छ।  प्रतिव्यक्ति मासिक कमाइ १० देखि बढीमा २० हजारसम्म छ, जसले वर्षैपिच्छे बढ्ने कोठाभाडा, किलोको सय रुपैयाँभन्दा तल नपाइने विषादीयुक्त तरकारी, दिनप्रतिदिन चुलिँदो महँगी, पाइला–पाइलामा ठगिनुपर्ने, सानो समस्याले अस्पताल गयो, उस्तै खर्च, धान्न मुस्किल छ।  मलाईचाहिँ काठमाडौँ अझै उस्तै अस्तव्यस्त लाग्यो। 

प्रकाशित: २९ श्रावण २०७६ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App