१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भोजभतेरमा प्रतिबन्धप्रति क्याटरिङ व्यवसायीको आपत्ति

काठमाडौं – सरकारले विभिन्न चाडपर्वको सिलसिलामा हुने भोज–भतेरमा प्रतिबन्ध लगाएकोमा पार्टी प्यालेस, क्याटरिङ व्यवसायीले आपत्ति जनाएका छन्। सरकारले तिजको दरखाने नाममा पार्टी प्यालेसहरूमा भोजभतेर नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो।

विकृति बढाउने भन्दै सरकारले लिएको उक्त निर्णयले खर्च गर्ने क्षमता भएका व्यक्तिको होटल, रेस्टुराँ वा पार्टी प्यालेसमा भोज गरेर पर्व मनाउने अधिकारमा अंकुश लागेको छ भने त्यस्ता व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन्।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले मंगलबार एक विज्ञप्ति जारी संस्कृति अनुसार चाड पर्वमा मिलेर शुभकामना आदानप्रदान गर्ने, मनोरञ्जन गरी सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले हुने भोजभतेरमा प्रतिबन्ध लगाएकोमा आपत्ति जनाएको छ। यसबाट पैतृक वा निजी सम्पत्ति धितो राखेर ऋण लिई सञ्चालन गरेको पार्टी प्यालेस, क्याटरिङ र रेन्टल व्यवसाय धराशयी हुने महासंघको भनाइ छ।

सरकारको निर्णयले पार्टी प्यालेस र क्याटरिङ सर्भिसमा आश्रित परिवारको रोजीरोटी गुम्ने भन्दै महासंघले यो निर्णयले पारदर्शी ढंगले चलेको व्यवसाय नै बन्द हुने अवस्था आएको गुनासो गरेको छ।

उक्त निर्णय फिर्ता नलिए महासंघले देशभरका सदस्यमार्फत नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सबै राजनीतिक दलहरूले आयोजना गर्ने सबै किसिमका कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको छ। थप आन्दोलनका कार्यक्रम पनि अगाडि बढाउने महासंघको चेतावनी छ।

प्रकाशित: २९ श्रावण २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App