१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महाभियोगमा पछि नहट्न शीर्ष नेतालाई खबरदारी

काठमाडौं- सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गराउनबाट पछाडि नहट्न शीर्ष नेताहरूलाई खबरदारी गरेका छन्। तिहार बिदापछि शुक्रबार बसेको संसद् बैठकमा सांसदहरूले कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न सबै दल एक ठाउँमा आएर खुट्टा नकमाई काम गर्न ध्यानाकर्षण गराएका हुन्। कार्की अदालतको न्याय सम्पादनमा अवरोध गर्नेदेखि विभिन्न गलत काममा संलग्न भएको पुष्टि भइसकेकाले पछाडि हट्न नहुने उनीहरूको भनाइ थियो।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अख्तियार प्रमुख सडकबीचमा बसेर सडक अवरुद्ध गर्ने साँढेजस्तै भएको आरोप लगाए। कार्कीलाई पशुपतिनाथ मन्दिर परिसरमा बसेको साँढेको मूर्तिजस्तै बनाउन महाभियोग लगाइएको उनको भनाइ थियो। लोकतान्त्रिक व्यवस्थामा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन भन्दै उनले अदालतको आदेश, संसद् र संसदीय समितिलाई कार्कीले गरेको अपमान नै महाभियोग लगाउन पर्याप्त आधार भएको दाबी गरे।

गुरुङले लोकमानविरुद्ध 'छापामार शैली' मा महाभियोग प्रस्ताव नआएको बरु डा. गोविन्द केसीको लामो समयदेखिको माग र आफूलगायत गगन थापा, माओवादीका श्याम श्रेष्ठले दर्ता गरेको जरुरी सार्वजनिक महŒवको प्रस्ताव र राधेश्याम अधिकारीले दिएको वक्तव्य त्यसको जग भएको दाबी गरे। प्रमुख दल मिलेर जनताको साझा एजेन्डा बनेको महाभियोगलाई एकमत भएर पारित गर्नुपर्ने उनले बताए।

केही दलका ठूला नेतामाथि मुद्दा लगाउन लागेका कारण कार्कीविरुद्ध महाभियोग दर्ता भएको भन्ने चर्चा गलत भएको गुरुङको भनाइ थियो। सर्वोच्च अदालतले योग्यतासम्बन्धी मुद्दा पुनरावलोकन हुने आदेश गरेपछि बरु उल्टै कार्कीले तीन वर्षसम्म थन्क्याएर राखेको फाइल उधिनेर ब्ल्याकमेल गर्न खोजेको टिप्पणी गुरुङको थियो। कार्कीले पदीय दुरुपयोग गरी मच्चाएको उद्दण्डताका कारण दर्ता भएको महाभियोग प्रस्ताव फेल बनाउने तानाबाना बुनिएको भन्दै गुरुङले यसलाई असफल बनाई महाभियोग पारित गर्नुपर्ने जिकिर गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार प्रमुखमा कार्कीलाई सिफारिस र नियुक्ति गर्ने नेताले संसद्मा जबाफ दिन माग गरे। 'राजाको हुकुमबाट कर्मचारी बनेर लोकतन्त्रवादीलाई दमन गरेका लोकमानको विषयमा उनलाई सिफारिस गर्ने नेताहरूलाई जानकारी थिएन र?', बैठकमा केसीले भने, 'उनीहरूलाई जानकारी भएर पनि बाध्यताबस अर्काकै करिया भई गरेका हुन्।' अहिले तिनै नेताले महाभियोग लगायौं भनी हल्ला गर्ने काम भइरहेको आरोप उनले लगाए।

'त्यति बेला उनलाई सिफारिस गर्ने दलका नेताहरूले यो सदनमा आएर हामीले यस कारण बाध्य भयौं र सिफारिस गरी गल्ती गर्‍यौं भनी माफी माग्नुपर्छ', केसीले भने, 'किन, कसको दबाबमा आयोगमा नियुक्ति गरिएको हो? अब सोही ठाउँबाट दबाब आएमा जोगाउने काम हुन्छ कि हुँदैन?'

'त्यति बेलाका राष्ट्रपतिले पछि म बाध्य भएँ भनेका थिए', केसीले भने, 'अहिले पनि मच्चियो मच्चियो थच्चियो भनेजस्तो अवस्था आउन दिनु हुँदैन।'

एमाले सांसद पुरुषोत्तम पौडेलले कार्कीले लोकतन्त्रको उपहास गरेको आरोप लगाए। पौडेलले भने, 'लोकतन्त्रमा विधिको शासन हुन्छ तर जब कसैले संविधान, कानुन र विधिको उल्लंघन गर्ने काम गर्छ, उसलाई तह लगाउनुको विकल्प छैन।' राज्यको कुनै पनि अंगमा रहेका पदाधिकारीले पदको दुरुपयोग गरेमा संविधानको प्रावधानअनुसार कारबाही व्यवस्था गरिएकाले त्यसैअनुसार कार्कीलाई महाभियोग लगाउन लागिएको उनको भनाइ थियो।

आयोगका प्रमुखले कानुन र विधिको उल्लंघन गरेर पनि पदमा बसिरहेमा त्यसले लोकतन्त्रको उपहास हुने पौडेलले बताए। यो उपहास संसद्ले टुलुटुलु बसेर हेर्न नमिल्ने उनको भनाइ थियो। 'कार्कीले अदालतलाई म्याद थमाउन दिएनन्, यसो हेर्दा यो सानो कुरा लाग्न सक्छ तर अदालतको सम्मान गर्नु सबै नेपालीको कर्तव्य हो। अख्तियार दुरुपयोग गर्नेविरुद्ध कारबाही गर्ने व्यक्तिले नै विधिको शासन उल्लंघन गरी पदमा बस्ने अधिकार हुँदैन,' उनले भने। एमालेले यो प्रस्ताव पारित गर्ने निर्णय गरिसकेको र कांग्रेसले पनि कुनै अलमल नगरी पारित गर्नुपर्ने उनले बताए।

यसैगरी मिलन राजवंशी, यशोदाकुमारी लामा, शेरबहादुर तामाङ, जगदीशनरसिंह केसी, राजाराम स्याङताङ, भरत साउद, पाँचकर्ण राई, सीता गिरी, सुरेन्› चौधरीलगायतले पनि कार्कीले उन्मुक्ति पाउन नहुने धारणा राखेका थिए। संसद्को अर्काे बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको छ।

प्रकाशित: २७ कार्तिक २०७३ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App