१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘नोट साट्ने विकल्प चाँडै खोजिदेऊ’

नेपालगन्ज- भारतीय बजारमा सामान खरिद गर्न भनी घरबाट निस्केका जुम्ला, पाण्डुगुफा–८ निवासी रतन भण्डारी तीन दिनदेखि नेपालगन्जमा भौंतारिरहेका छन्। भारतीय एक हजार र पाँच सयका नोटको गड्डी बोकेर सीमा प्रवेश नगर्दै नोटमा प्रतिबन्ध लागेपछि उनी झस्किए। नोट सटहीका लागि धेरै ठाउँमा पुगे। दलालले एक हजार भारु सटही गरिदिएबापत नेपाली एक हजारमात्रै दिने बताइरहेका छन्। तर, उनले साट्ने आँट गरेका छैनन्। ‘जता गएपनि भारु पाँच सय र एक हजारको नोटलाई बेवास्ता गर्दा रैछन्,’ भण्डारीले नागरिकसँग भने ‘घाटा सहेर नोट साट्ने कि गोजीमा त्यत्तिकै राख्ने? सरकारले हामीलाई कुनै विकल्प खोजिदिए हुन्थ्यो।’

भारत सरकारले एक्कासि नोटमा प्रतिबन्ध लगाएपछि सबैभन्दा बढी मर्कामा सीमावर्ती क्षेत्रका नागरिक परेका छन्। हरेक कामका लागि भारतीय बजारको भर पर्दै आएका व्यापारी, सर्वसाधारणलगायतले बढी समस्या खेप्नुपरेको हो। भारतले आफ्ना देशका नागरिकका लागि नोट सटहीको व्यवस्था गरे पनि नेपाल सरकारले आफ्ना नागरिकका लागि कुनै पहल नगरेको उनीहरूको गुनासो छ।

व्यावसायिक कामको सिलसिलामा नेपालगन्ज आइपुगेका अछाम, विनायक–५ का बजिर शाही पनि भारु सटही गर्ने दौडधूपमा छन्। तर, अहिलेसम्म उनले कुनै भेउ पाएका छैनन्। ‘सामान किन्न भारु एक हजार र पाँच सयका नोट बोकेर आएँ, साट्न पाएको छैन,’ उनले भने।

भारतीय सीमासँग जोडिएको नेपालगन्जमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीलाई पनि भारतीय नोट प्रतिबन्धको असर परेको छ। व्यापार व्यवसायका लागि सीमापारिका बजारमा पुगिरहने भएका कारण यहाँका प्रायः व्यापारीले भारु एक हजार र पाँच सयका नोट राखेका छन्।

नेपालगन्ज–३ घरबारीटोलका व्यापारी टेकबहादुर खड्काले आफूसँग एक हजार दरको करिब २५ हजार भारतीय रुपैयाँ भएको बताए। ‘प्रतिबन्ध लागेको भोलिपल्टदेखि नोट साट्ने कोसिस गरिरहेको छु, अहिलेसम्म साट्न सकेको छैन,’ उनले भने। भारतीय नोटमा लगाइएको प्रतिबन्धले सबैभन्दा बढी नेपाली नागरिकलाई मर्का परेको उनको बुझाइ छ। खड्काले भने, ‘भारत सरकारले आफ्नो देशका नागरिकका लागि त साट्ने व्यवस्था गरेको छ रे, नेपालीसँग भएको भारु नोटको विकल्प के होला?’ भारतीय एक हजार र पाँच सयका नोट सटहीका लागि भारतसँग समन्वय गरेर नेपाल सरकारले चाँडोभन्दा चाँडो कुनै विकल्प खोज्नुपर्ने उनले बताए। ‘चाँडै विकल्प नखोजिए नेपाली जनतालाई ठूलो धक्का पुग्ने निश्चित छ,’ उनले भने।

भारतीय नोटमा प्रतिबन्ध लागेपछि सटहीको विकल्पबारे सोधपुछका लागि नेपाल राष्ट्रबैंक नेपालगन्जमा दिनहुँ सर्वसाधारण घुइँचो लाग्ने गरेको छन्। कर्मचारीबाट कूटनीतिक पहल भइरहेको आश्वासन पाएपछि सर्वसाधारण फर्किन्छन्। राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरुप्रसाद पौडेलले भारतीय नोटमा लगाइएको प्रतिबन्धको असर नेपाली समुदायमा प्रत्यक्ष परिरहेको स्वीकार गर्दै भने, ‘राष्ट्र बैंकले केन्द्रीय तहबाट कूटनीतिक पहल गरिसकेको छ, भारतबाट कस्तो निर्णय आउँछ, अहिले नै भन्न सकिन्न।’

एक वर्षअघि नै भारतीय रिजर्भ बैंकले एक हजार र पाँच सयका नोट अधिकतम २५ हजारसम्म मात्र राख्न पाउने निर्णय गरेको र त्यसको सूचना राष्ट्र बैंकले पनि जारी गरेको स्मरण गराउँदै उनले भने, ‘भारतीय रिजर्ब बैंकले नेपाली नागरिकसँग भएको नोट सटही गरिदिने व्यवस्था गरिहाल्यो भनेपनि २५ हजारसम्म मात्र गर्ला।’

प्रकाशित: २७ कार्तिक २०७३ ०२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App