१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

युनाइटेडको दमदार सुरुआत

लन्डन – मार्कुस रसफोर्डको २ गोलमा म्यानचेस्टर युनाइटेडले आइतबार चिर प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले हराउँदै इङ्लिस प्रिमियर लिगमा दमदार सुरुआत गरेको छ।

गत सिजन सुखद अन्त्य गर्न नसकेको ओले गनर सोल्सजायरको टोलीले सुखद सुरुआतका साथ उक्त निराशासमेत मेटाएको छ। यता फ्रांक लाम्पार्डले भने हारबाट सिजनको सुरुआत गरे। पहिलो हाफमा रसफोर्डको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा १६ मिनेटको अन्तरमा थप ३ गोल गरेसँगै चेल्सी फराकिलो हार सहन बाध्य भएको हो।

‘हामीले जोखिम मोल्यौं र त्यो सफल पनि भयो। जोखिम नमोली सफलता हात पार्न सकिन्न। आज हामी त्यसमा सफल भयांै,’ सोल्सजायरले भने। युनाइटेडले रक्षक ह्यारी म्यागुरी र एसोन वान बासिकालाई चेल्सीविरुद्धको खेलसँगै प्रिमियर लिगमा डेब्यु गराएको थियो। गत सिजन कमजोर रक्षापंक्ति भएको भन्दै ५४ गोल खाएको युनाइटेडले ह्यारी म्यागुरी र एसोन वान बासिकालाई ओल्ड ट्राफोर्डमा अनुबन्धन गर्न १ सय ५६ मिलियन डलर खर्चिएको थियो।

‘यो मेरो र टोलीका लागि पनि उत्कृष्ट सुरुआत हो। पहिलो हाफमा हामीले सम्हालिएको प्रदर्शन गर्न नसके पनि दोस्रो हाफमा भने खेल पूर्ण रूपमा नियन्त्रणमा लियौं,’ विश्वकै महँगा रक्षक बन्ने क्रममा ८० मिलियन पाउन्डमा भित्रिएका म्यागुरीले भने, ‘हामीले गत सिजन घरेलु मैदान ओल्ड ट्राफोर्डमा मात्र २ क्लिनसिट राखेका थियौं।  त्यसमा सुधार आवश्यक छ।’

यद्यपि रक्षक डेविड लुइसलाई सरुवा बजारको अन्तिम दिन आर्सनल पठाएको चेल्सीको रक्षापंक्ति भने युनाइटेडसामु निरीह देखिएको थियो।
लाम्पार्डले युवा खेलाडी ट्यामे अब्राहिम र मासोन माउन्टलाई पहिलो रोजाइमा अवसर दिएका थिए। चेल्सीले प्रतिबन्धका कारण नयाँ खेलाडी अनुबन्धन गर्न पाएको थिएन भने केही सिनियर खेलाडीसमेत चोटका कारण मैदानबाहिर थिए। तर लाम्पार्ड यो बहाना स्विकार्न तयार छैनन्।
‘हामीले गरेको टोली छनोटमा कुनै कमजोरी छैन। हामीले ४ गल्ती ग¥यौं, जसको युनाइटेडले शतप्रतिशत फाइदा उठाउन सफल भयो,’ लाम्पार्डले भने, ‘युनाइटेडले काउन्टर अट्याकको रणनीति लियो, जुन उनीहरूको बलियो पक्ष हो। हामीले आजको हारबाट पाठ सिक्न आवश्यक छ।’

खेलको १८औं मिनेटमा रसफोर्डले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको गोल खाता खोलेका थिए। ६५औं मिनेटमा एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर पारेका थिए। त्यसको २ मिनेटपछि नै रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता ३–० मा पु¥याएका थिए। खेल सकिन ९ मिनेट बाँकी हुँदा ड्यानियल जेम्सले बललाई जाली चुमाउँदै युनाइटेडको सानदार जित पक्का गरेका थिए। पहिलो हाफमा रसफोर्डको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा १६ मिनेटको अन्तरमा थप ३ गोल गरेसँगै चेल्सी फराकिलो हार सहन बाध्य भएको हो।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App