१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ढुंगा उत्खनन गर्ने नियन्त्रणमा

खोटाङ – रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी आसपासबाट ढुंगा–गिटी निकालिरहेको अवस्थामा डोजरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जथाभावी ढुंगागिटी उत्खननमा रोक लगाइए पनि रातको समयमा सो कामलाई निरन्तरता दिइएको पाइएपछि नियन्त्रणमा लिइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।

रोक लगाइए पनि शनिबार राति मझुवागढीभन्दा मुनि र दिक्तेल–खानीडाँडा सडक खण्डमाथि जथाभावी ढुंगा गिटी उत्खनन गरिरहेको जानकारी प्राप्त भएपछि प्रहरी र नगरपालिकाको टोलीले निर्माण व्यवसायी कृष्ण घिमिरे, डोजरचालक र डोजरको चाँबी नियन्त्रणमा लिएको हो।  शुक्रबार स्थानीयको भेलाले आगामी दिनमा सो क्षेत्रबाट ढुंगागिटी उत्खनन नगर्ने सम्झौता गरेकै भोलिपल्ट रातको समयमा डोजर चलाएर ढुंगागिटी उत्खनन गरेको पाइएको नगरपालिकाले जनाएको छ।

रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले क्षेत्र तथा दिक्तेल–खानीडाँडा सडकको आसपासबाट अवैध रूपमा भइरहेको ढुंगा उत्खननका कारण धार्मिक तथा पर्यटकीय स्थल मझुवागढीको अस्तित्व खतरामा परेको भन्दै नगरपालिकाले सो क्षेत्रबाट ढुंगा उत्खननमा रोक लगाएको छ।  अवैध रूपमा ढुंगा खानी सञ्चालन गर्दा करिब एक मिलोमिटरमाथि डाँडामा रहेको मझुवागढीको अस्तित्वमा असर पु¥याएको, खानेपानीका मुहान सुकेको र दिक्तेल–खानीडाँडा सडकमा थुप्रिएको ढुंगामाटोले सवारीसाधनलाई आवत–जावतमा समस्या सिर्जना गरेकाले ढुंगा उत्खननमा रोक लगाइएको हो।  ढुंगा खानी सञ्चालनका कारण वातावरण र प्राकृतिक स्रोतसम्पदामा नकारात्मक असर परेकाले वातावरण प्रभाव मूल्यांकन र दर्ता प्रक्रिया पूरा गरेर मात्र खानी सञ्चालन गर्न भनिएको मेयर रिजालले बताए।

यसअघि जिल्ला प्रशासन कार्यालयले पनि सो स्थानबाट ढुंगा उत्खननमा रोक लगाएको थियो।  मझुवागढीमा कालिका भगवती मन्दिर र केही तल महादेव गुफा रहेको छ।  ढुंगाखानीले दुवै मन्दिरलाई असर पु¥याएको भन्दै स्थानीयले पटक–पटक नगरपालिका र प्रशासनको ध्यानाकर्षण गराएका थिए।

  मझुवागढीको पूर्व र पश्चिमतर्फबाट अवैध ढुंगा खानी सञ्चालन गरिँदा दिक्तेल–खानीडाँडा र दिक्तेल–मेघेचौतारा सडकलाई समेत असर पुगेको छ।  ढुंगा उत्खनन गरेको ठाउँले पहिरोको रूप लिने खतरा बढेपछि मझुवागढी संकटमा परेको गढी संरक्षण समितिका अध्यक्ष बबी चाम्लिङले बताए।

सो आसपासबाट निकालिएको ढुंगागिटी सदरमुकाम दिक्तेलमा निर्माणाधीन सरकारी भवन तथा व्यक्तिको घर निर्माणमा प्रयोग हुने गरेको छ।  ढुंगा बिक्रीबाट खानी सञ्चालकले राम्रो आम्दानी गर्दै आएका छन्।

प्रकाशित: २८ श्रावण २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App