१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजधानीमा श्याम रथयात्रा

काठमाडौं– श्री श्याम सत्संग मण्डलले राजधानीको वसन्तपुरमा बिहीबार खाटु श्यामबाबाको रथयात्रा गरेको छ  । वसन्तपुरबाट श्यामबाबाको शिर प्रतिमा रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।

श्री श्याम सत्संग मण्डलका अध्यक्ष विजयशंकर चोखानीका अनुसार खाटु श्यामबाबाको रथ वसन्तपुरबाट इन्द्रचोक, न्युरोड, रानीपोखरी, दरबारमार्ग, कमलादी हुँदै कमलपोखरीस्थित अग्रवाल भवनमा पुगेर सम्पन्न भएको थियो । रथयात्रामा ३२१ देवीदेवता अंकित झण्डा भक्तजनले बोकेको अध्यक्ष चोखानीले बताए । अध्यक्ष चोखानीका अनुसार राजधानीमा ३७ वर्षयता मण्डलले रथयात्रा गरिरहेको छ ।

रथयात्रामा श्री श्याम परिवारका अध्यक्ष नन्दलाल सिंघल पनि सहभागी थिए । उनका अनुसार रथयात्रा वर्षेनी कात्तिक शुक्ल दशमीमा गरिन्छ । एकादशी र द्वादशीमा ३६ घन्टा निरन्तर भजनकिर्तन गरिन्छ ।

किंवदन्ती अनुसार महाभारत युद्धमा पाण्डवपुत्र भीमका नाति बर्बरिकको नाम नै भगवान श्रीकृष्णले खाटु श्याम राखेका हुन् । महाभारत अनुसार बर्बरिक यस्तो योद्धा थिए जसले कठोर तपस्या गरी एउटै बाणले तीनवटै लोक जित्न सक्ने वरदान भगवान शंकरबाट पाएका थिए ।

महाभारत युद्धमा भाग लिन बर्बरिकले आफ्नी आमासँग आज्ञा लिँदा आमाले उनीलाई युद्धमा हार्ने पक्षबाट लड्नुपर्ने वाचा गराउँछिन् । उता युद्धमा पाण्डवलाई जिताउन भगवान कृष्णले युद्धमा सहभागी हुने सबैभन्दा शक्तिशाली योद्धा बर्बरिक भएकाले उनलाई युद्धबाट हटाउने उपया गर्छन् । परिबन्दमा बर्बरिकको शिर छेदन गरे पनि उनले युद्ध हेर्न पाउँ भनेर बिन्ती गरेपछि श्रीकृष्णले बर्बरिकको शिर पहाडको टुप्पामा राखिदिन्छन् ।

प्रकाशित: २६ कार्तिक २०७३ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App