१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पठाओको ट्याक्सी सेवा सुरु

काठमाडौं –राइडिङ सेयरिङ एप्स पठाओले दुईपांग्रे सेवा लोकप्रियतासँगै व्यवसाय विस्तार गरी ट्याक्सीबाट पनि सेवा दिन थालेको छ। तर, यसका ग्राहकले साधारण ट्याक्सीको भन्दा सय रुपैयाँ बढी तिर्नुपर्छ।

पठाओले सरकारले तोकेको भाडादर भन्दा एक सय रुपैयाँ बढी सेवाशुल्क लिएर ट्याक्सी सेवा दिन थालेको जनाएको छ। पठाओका मार्केटिङ म्यानेजर सुरक्षा हमालले सरकारले तोकेको भाडादरमा थप एक सय रुपैयाँ सेवाशुल्क लिने बताइन्। ‘हामीले सरकारले तोकेको भाडादरमा थप सय रुपैयाँ सेवाशुल्क लिएर सेवा दिँदैछौं,’ उनले भनिन्, ‘उक्त रकमबाट तीन किलोमिटरसम्म यात्रु उठाउन जान्छौं।’

हमालका अनुसार यो शुल्क टेलिफोन र प्रविधि खर्च तथा ग्राहकले बोलाएको ठाउँसम्म पुग्नको लागि लिइएको हो। ‘हामीले लिने शुल्कबारे विस्तृत जानकारी भोलि प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराउनेछौं,’ उनले भनिन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले भाडाको सवारी साधनले सरकारले तोकेको भाडादरभन्दा एक रुपैयाँ पनि बढी लिन नपाउने बताउँछन्। ‘पठाओको सेवा र सेवा शुल्कबारे अहिलेसम्म जानकारी छैन,’ उनले भने, ‘यसबारे बुझेर मात्रै बताउनेछु।’

सेवाशुल्क बापत थप सय रुपैयाँ लिने पठाओको निर्णयमा भाडाका ट्याक्सी व्यवसायीले आपत्ति जनाएका छन्। नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले पठाओले ट्याक्सी चालक र ग्राहकबीच बिचौलिया बनेर ठग्न खोजेको आरोप लगाए।

भाडादर सरकारले तोके अनुसार, थप एक सय रुपैयाँ सेवाशुल्कको रुपमा लिने

‘ट्राफिकले हाम्रा ट्याक्सी चालकलाई बढी भाडा माग्यो भनेर कारवाही गर्दै आइरहेको छ,’ उनले भने, ‘पठाओले एप्समार्फत ट्याक्सीचालक र जनताबीच बिचौलिया बनेर ठगी गरिरहेको छ। यस्तो कार्य तत्कालै बन्द हुन जरुरी देखिन्छ।’

अध्यक्ष गौतमले सामान्य ट्याक्सीचालकलाई मात्रै राज्यको कानुन लाग्ने भन्दै विरोध जनाएका छन्। ‘राज्यको ऐन, कानुन सामान्य ट्याक्सीलाई मात्रै लाग्ने दिन आइसक्यो,’ उनले भने, ‘नयाँ प्रविधिमार्फत जनतालाई जति ठगे पनि केही नहुने रहेछ।’ उनले ‘कानुन विपरीत भाडा असुुल्ने’ पठाओ ट्याक्सीलाई कारवाहीको माग गरेका छन्।

प्रकाशित: २७ श्रावण २०७६ ०४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App