१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भलिबल टोली घोषणा, फाइनल पुग्ने लक्ष्य

काठमाडौं – भदौ पहिलो साता नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि आइतबार नेपाली टोलीको औपचारिक टुङ्गो लागेको छ। मुख्य प्रशिक्षक नेदरल्यान्ड्सका हान एबिङले प्रशिक्षण दिइरहेको नेपाली टोलीको टुङ्गो लागेको भलिबल टोलीका व्यवस्थापक मंगल श्रेष्ठले जानकारी दिए। नेपालमा आयोजना हुन लागेको पाँचौं संस्करणको प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १८ सदस्यीय खेलाडीबाट १४ सदस्यीय खेलाडीको टुंगो लगाइएको हो।

आइतबार घोषणा भएको टोलीमा तीन नयाँ अनुहारले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। राजेन्द्र विष्ट, दुर्गा खड्का र टेकराज अवस्थीले पहिलो पटक नेपाली राष्ट्रिय टोलीको जर्सी  पहिरिने मौका पाएका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका तीन खेलाडीले पाएको मैकालाई सिद्ध गर्ने प्रतिबद्धता जनाए। २५ खेलाडीबाट प्रारम्भिक १८ खेलाडीको नामावली सार्वजनिक गरिएको थियो। तर अन्तिम नामावलीले आइतबार औपचारिकता पाउँदा तीन अनुहारसँगै १४ सदस्यीय टोलीको टु्ङ्गो लागेको हो। १८ जनाबाट दुर्गा महतो, राजु शेरचन, द्वारिका थापा र सरन सामरीले अन्तिम १४ मा स्थान बनाउन सकेनन्।

भदौ २ देखि ७ गतेसम्म ललितपुरस्थित आर्मीको कभर्डहलमा आयोजना हुने प्रतियोगिताअघि नेपालले अफगानिस्तासँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। अघिल्लो संस्करणमा सोचेजस्तो नतिजा निकाल्न नसकेको नेपाली टोलीको लक्ष्य यस संस्करणमा भने फाइनलसम्म पुग्ने रहेको नेपाली टोलीका कप्तान इम रानामगरले बताए।
‘निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हो। विगतका संस्करणमा हामीमा रहेको रिसिभ, ब्लक र डिफेन्सको कमजोरीलाई यस संस्करणमा विशेष प्राथमिकता साथ अभ्यास गरेका छौं,’ कप्तान रानामगरले भने, ‘विगतको भन्दा राम्रो तयारी रहेको छ। दुई महिना तयारीको समय एथेस्ट नभए पनि विदेशी प्रशिक्षकको अधिनमा रहँदा हामीले हाम्रो कमजोरीलाई राम्रोसँग सुधार गरेका छौं। त्यसैले यो संस्करणमा हामीले फाइनलसम्मको लक्ष्य राखेका छौं।’

लगनखेलस्थित आर्मीको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ देशले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा साबिक विजेता तुर्कमिनिस्तान, माल्दिभ्स, उज्बेकिस्तान,  किर्गिस्तान, अफगानिस्तान र बंगलादेशले यस प्रतियोगितामा सहभागिता जनाउनेछन्। ७ देशको सहभागिता यो प्रतियोगितामा सर्वाधिक हो। तुलनात्मक हिसाबले बलियो मानिएका टोलीसँग प्रतिस्पर्धा गर्न लागेको नेपालको वास्तविकता अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलपछि थाहा हुने टोलीका मुख्य प्रशिक्षक  हान एबिङले बताए।

‘अफगानिस्तासँगको खेलमा नेपालको परीक्षा हुनेछ। मैत्रीपूर्ण खेलपछि मात्र नेपालको अवस्था थाहा हुनेछ,’ प्रशिक्षक हान एबिङले भने, ‘हामीले प्रतियोगितालाई नै लक्षित गरेर राम्रो तयारी गरिरहेका छौं। खेलाडीले पनि राम्रो मिहिनेत गरेका छन्। खेलाडीमा उत्साह निकैे छ।’
नेपाल भलिबल संघले नेपाली टोलीको कमीकमजोरी र परीक्षाको रूपमा अफगानिस्तासँग मैत्रीपूर्ण खेलका लागि प्रबन्ध गरेको टोलीको परीक्षा सोही खेलबाट हुने प्रशिक्षक हान एबिङले बताए।

‘नेपाली टोलीमा रहेको सर्भ, रिसिभ, ब्लकको कमजोरीलाई विशेष प्राथमिकताका साथ तयारी गरेका छौं,’ प्रशिक्षक हान एबिङले थपे, ‘अफगानिस्तानसँगको खेल आउँदो प्रतियोगिताका लागि पाठ हुनेछ। मैत्रीपूर्ण खेलले नेपाललाई अवश्य फाइदा हुन्छ।’ पहिलो पटक नेपालमा आयोजना हुन लागेको यति ठूलो प्रतियोगितामा नेपाललाई घरेलु मैदानको फाइदा हुने भन्दै यो संस्करण ऐतिहासिक रहेको कप्तान रानामगरले बताए।

‘ऐतिहासिक प्रतियोगिता हाम्रो मैदानमा आयोजना हुँदा हामीले पहिल्यैबाट तयारी गर्नुपर्ने थियो। अन्य टोलीले यही प्रतियोगिताका लागि भनेर लामो समयदेखि तयारी गर्दै निखारता दिएका छन्। हाम्रा लागि यो समय छोटो हो। तर घरेलु कोर्ट छ, राम्रो खेल खेल्दै नतिजा निकाल्नेमा विश्वस्त छौं,’ कप्तान इमले थपे, ‘यो संस्करणमा बंगलादेश पनि राम्रो अवस्थामा छ। यसका अलावा किर्गिस्तान, तुर्किमिनिस्तानजस्ता टोलीलाई हाइटको एडभान्टेज छ।’

‘पछिल्ला केही खेलमा हामीले राम्रो गर्दै नेट टु नेटमा पराजित भएका छौं। सामान्य हाम्रो कमजोरीले पराजित हुनुपरेको थियो। त्यसलाई हामीले आंैल्याएर अभ्यास गरेका छौं,’ कप्तान रानाले भने, ‘नयाँ प्रशिक्षकले नयाँ खेलाडीलाई पनि मौका दिनुभएको छ। उदीयमान भाइहरूको खेलको मद्दतमा फाइनलसम्मको यात्रा तय गर्ने लक्ष्य रहेको छ।’

२०१५ मा बंगलादेशबाट सुरु भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउँदा नेपाल चौथो भएको थियो। दोस्रो संस्करण पनि बंगलादेशले आयोजना गर्दा पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए।  यो खेलमा नेपालले सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो। तेस्रो संस्करण माल्दिभ्समा २०१७ मा आयोजना हुँदा नेपाल तेस्रो बनेको थियो। यो नै नेपाली टोलीको सबैभन्दा प्रतियोगितामा सफल खेल थियो, जसमा ४ टोलीले मात्र सहभागिता जनाएका थिए। चौथो संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्दा नेपाल चौथो भएको थियो।

नेपालमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानबाहेक अन्य टोली शनिबार काठमाडौं आउनेछन्। अफगानिस्तान भने मंगलबार नै नेपाल ओर्लनेछ। केही दिनअगाडिको आगमनको फाइदा उठाउँदै नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका मिलाएको हो। अफगानिस्तासँगको खेलमा नेपालको परीक्षा हुनेछ। मैत्रीपूर्ण खेलपछि मात्र नेपालको अवस्था थाहा हुनेछ।’

प्रकाशित: २७ श्रावण २०७६ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App