१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ला लिगाको खेल शुक्रबारबाटै

मड्रिड – स्पेनिस अदालतको आदेश दिएपछि साबिक विजेता बार्सिलोना र एथ्लेटिक बिलबाओबीच शुक्रबार हुने खेलसँगै यस सिजनको स्पेनिस ला लिगा सुरु हुने भएको छ।

दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले गत साता ला लिगाका खेल अनुमतिबिना शुक्रबार र सोमबार खेलाउन नमिल्ने बताएपछि बार्सिलोना र बिलबाओबीचको खेल अन्योलमा परेको थियो। यद्यपि अदालतले शुक्रबारको खेललाई मान्यता दिए पनि सोमबार भने खेल खेलाउन नमिल्ने बताएको छ। मड्रिडको अदालतको निर्णयपछि शुक्रबार खेलाइने भनिएको तीन साताको खेलले पूर्वनिर्धारित समयमा नै हुनेछ भने सोमबारका लागि निकालिएको खेलतालिका भने परिवर्तन गर्नुपर्ने भएको छ। बार्सिलोनाविरुद्ध जिरोनाको खेल घरेलु मैदानमा अनुमति नदिँदा यो विवाद उत्कर्षमा देखिएको हो।

यता शुक्रबार र सोमबार खेल सञ्चालन गर्ने लक्ष्यमा रहेको ला लिगाले यस निर्णयविरुद्ध पुनः अपिल गर्ने बताएको छ। ‘अदालतको आदेशले केही मात्रामा मात्र हाम्रो मागको सम्बोधन भएको छ तर पूर्ण रूपमा हाम्रो पक्षमा आएको छैन। त्यसैले यो निर्णयविरुद्ध पुनः अपिल गर्नेछौं,’ ला लिगाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिलबाओले अगस्ट  १६ मा सान मामेस रंगशालामा बार्सिलोनालाई आतिथ्य प्रदान गरेसँगै नयाँ सिजनको ला लिगा सुरुआत हुनेछ।

यस निर्णयपछि अगस्ट १९ (सोमबार) का लागि तय गरिएको इबर र मालोर्का तथा रियाल बेटिस र रियाल भालाडोलिडबीचको खेल सार्नुपर्ने भएको हो। दी रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले अदातलको आदेश आफ्नो पक्षमा आएको दाबी गरेको छ। आरएफइएफले भनेको थियो, ‘स्पेनिस फुटबल समर्थक उक्त समयमा फुटबल खेल चाहँदैनन्। विशेष गरी समर्थकले सोमबार फुटबलको मज्जा लिन सक्दैनन्।’ ‘अदालतको आदेशबाट हामी सन्तुष्ट छौं,’ आरएफइएफका प्रमुख लुइस रुबालेसले भनेका छन्, ‘यो ऐतिहासिक निर्णय र दिन हो। हामीले स्पेनिस फुटबल र यहाँका समर्थकको पक्षमा गरेको प्रयास पूरा भएको छ।’
 

प्रकाशित: २७ श्रावण २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App