१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

५२ बोरा नष्ट गरियाे

विषादी भेटिएको आलु खाल्डो खनेर पुरिँदै। तस्बिर : नागरिक

पोखरा – भारतबाट आयात गरिएको सेतो आलुमा विषादीको रुकावट दर बढी भेटिएको छ। पोखरामा बिक्रीका लागि आयातित आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि बिक्रीका लागि राखिएको उक्त आलु नष्ट गरिएको छ।

गत साउन १७ गते आयात गरिएको आलुको विषादी परीक्षण गरिएको थियो। पोखरा–९ स्थित कृषि उपज बजारस्थलमा रहेको द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जाँच गर्ने क्रममा खानयोग्य नभएको  पुष्टि भएको हो।

‘सेतो आलु जाँच गर्दा विषादीको रुकावट दर ४७ प्रतिशत थियो,’ बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत तथा विषादी जाँचकर्ता सञ्जीव बास्तोलाले भने, ‘४५ प्रतिशतभन्दा बढी भए खानयोग्य हुँदैन।’ उनका अनुसार ३५ प्रतिशतभन्दा कम दर रहे खान मिल्छ। ४५ प्रतिशतसम्म रुकावट दर भएको अवस्थामा केही दिन पर्खेर खान सकिने उनले बताए। ‘हामीले रिपोर्ट पठाइसकेका छौं,’ उनले भने, ‘बाँकी कारबाही गर्ने काम कृषिउपज बजार स्थलको हो।’

उनका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्वामेट र अर्गानो फस्फेट प्रयोगशालामा जाँच गरिन्छ। अरू तरकारी र फलफूलमा खासै समस्या नभएको उनको भनाइ छ। नष्ट गरिएको आलुमा कुन विषादी प्रयोग भएको भन्नेबारे यकिन जानकारी नभएको उनको भनाइ थियो। ‘आलु जाँच गरिँदा विषादीको रुकावट दर मात्रा हे-यौं,’ उनले भने, ‘कुन विषादी प्रयोग गरिएको छ भन्ने पोखरामा पत्ता लगाउन सकिँदैन।’

भारतबाट आयात गरिएको आलुमा विषादीको रुकावट दर बढी भेटिएपछि ५२ बोरा आलु नष्ट गरिएको हो।

नेपाल सरकारले भारतबाट आयातित तरकारीजन्य वस्तुमा अत्याधिक विषादी प्रयोग भएको भेटिएपछि आयातमा रोक लगाएको थियो। तर, भारतीय विरोधपछि फेरि तरकारीजन्य वस्तु भारतबाट निर्वाहरूपमा आयात हुँदै आएको छ। भारतबाट दैनिकजसो ट्रकमा तरकारीजन्य वस्तु आयात हुने गरेको छ। पोखरा आउने तरकारी तथा फलफूलमा शून्य विषादी भएका कुनै पनि वस्तु छैनन्।

पोखरामा आलु, प्याज र फलफूल पूरै भारतबाट आउँछ। अन्य तरकारी गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजनअनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवन र तराईबाट भित्रिन्छ। २० प्रतिशत हाराहारीको तरकारी फलफूल भारतबाट मात्र आयात हुने पोखराको पृथ्वीचोक शान्तिवनस्थित कृषिउपज बजार स्थलले जनाएको छ।

कृषिउपज बजारस्थलमा दैनिकजसो भित्रिने तरकारीजन्य वस्तुको विषादी परीक्षण गरिने कृषिउपज बजार शान्तिवनकी निमित्त बजार व्यवस्थापक रूपा दाहालले बताइन्। उनले बजारस्थलमा भित्रिएको सेतो आलु परीक्षण गर्दा विषादीको रुकावट दर बढी भेटिएपछि ५२ बोरा आलु नष्ट गरिएको बताइन्। ‘हामीले ५२ बोरा आलु नष्ट ग-यौं,’ उनले भनिन्।

तरकारीजन्य वस्तुमा मिहिन तरिकाले हर्ने मेसिन नभएको भन्दै उनले दैनिकजसो परीक्षण गर्दा विषादीको मात्रा बढी भएका तरकारी तथा फलफूल नष्ट गरिने उनले बताइन्। कृषिउपज बजार स्थलमा विगत तीन महिनादेखि विषादी जाँच हँुदै आएको छ। आयात गरिएको तरकारी तथा फलफूलको तथ्यांक राखिने समेत गरिएको छ। ‘विषादी बढी भेटिएको तरकारी बजारमा जाँदैन,’ उनको भनाइ छ। विषादीयुक्त आलु आयात गर्ने व्यापारीलाई बजार व्यवस्थापन समितिले आगामी दिनमा यस्ता तरकारी नल्याउने कागज गराएर छोडिएको छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App