१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट

काठमाडाैं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ। आव २०७५/७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ। तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन्।

सङ्घीयता कार्यान्वयनसँगै कीटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो। गत वर्ष महाशाखाले प्रदेश तहमा छ करोड १७ लाख रुपैयाँ, विभिन्न स्थानीय तहमा एक करोड ६६ लाख रुपैयाँ र महाशाखाले एक करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो।

यस वर्ष सो क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ। महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, 'डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा कीटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउछ। समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन। किटबक्स पठाइ सकियो। ती निकायलाई थप पैसा कहाँबाट दिनु? अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ।' उनले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी दिएनन्।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ। चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेङ्गु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन। महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको जानकारी दिँदै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताए।

महाशाखाद्वारा डेङ्गु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले डेङ्गु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेङ्गुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए। सो जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ। यो रोग मानिसबाट मानिसमा सर्दैन। खासगरी सो जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ।

वर्षातको महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ। डेङ्गुको लक्षण महाशाखाका निर्देशक डा लालका अनुसार एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सातदिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नु लगायतका लक्षण देखन्छन्। यसबाट जोगिन मुख्य उपाय नै वातावरणीय सरसफाइ हो। साथै लामखुट्टेको टोकाइबाट बच्न आफू बस्ने वरपर पानी जम्न नदिनु र झुल टागेर सुत्नु रहेको छ।रासस

प्रकाशित: २६ श्रावण २०७६ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App