१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वास्तविक किसानले सहयोग पाएनन्

हाटबजारमा तरकारी बिक्री गर्दै स्थानीय किसान। तस्बिर : दिनेश/नागरिक

रोल्पा (निगालपानी) – पश्चिम रोल्पाका किसानलाई यतिबेला तरकारी बेच्न भ्याइनभ्याइ छ। राज्य पक्षको कुनै पनि सहयोग अनुदान बिना आफ्नो पौरखले तरकारी उत्पादन गरिरहेका उनीहरुलाई हाट बजारमा रहेको टहरो समेत अपुग भए पछि निरास बनेका हुन्।

जिल्लामा बर्सेनि अनुदान भन्दै कृषिका नाममा लाखौं बजेट सक्ने सरोकारवालाले कृषकको समस्यामा आखा पु-याएको देखिँदैन। गतिलो टहरा नहुँदा तरकारी भिज्ने र मूल्य नपाउने समस्या नै बनेको किसानको गुनासो रहेको छ।

सातामा दुई दिन लाग्ने त्रिवेणी–४ निगालपानीको हाटबजारमा एक दिनमा करिब चार सयदेखि पाँच सय क्विन्टल तरकारी बिक्री हुने गरेको छ। यहाँबाट टमाटर, बन्दा, काउली, काक्रो, खुर्सानी, बोडी, सिमी, गाँजर, मुला, भेडे खुर्सानीलगायत सागपात निर्यात हुने गरेको छ। निगालपानी आसपासका किसानले हाटबजारसम्म डोकोमा बोकेर तरकारी ल्याउने गर्छन् भने यहाँबाट व्यापारीले दर्जनौं गाडीमा उक्त तरकारी दाङ, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, नारायणघाटसम्म लैजाने गर्छन्।

यहाँ हप्तामा नौ सयदेखि हजार क्विन्टलसम्म तरकारी निर्यात हुने गरेको हाटबजार व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर बुढामगरले बताए। उनका अनुसार बर्सेनि हजारौं क्विन्टल तरकारी उत्पादन गर्ने यो क्षेत्रमा रहेको हाट बजारमा गतिलो टहरा र वरपर ढलान नहुँदा असाध्यै समस्या परेको छ। ‘जिल्लामा हरेक वर्ष कृषि अनुदानका नाममा लाखौं खर्च हुन्छ तर वास्तविक किसानका समस्याबारे कसैले ध्यान दिएको छैन। पानी पर्दा किसानलाई हैरान हुन्छ।’

पोहोर यो सिजनमा तरकारीबाट चार लाखभन्दा बढी आम्दानी गरेका २६ वर्षिय लक्षीराम घर्तीले यस वर्ष तीन दिनको हाटबजारमा एक लाख ५० हजारभन्दा बढीको तरकारी बेचेको बताउँछन्। उनी भन्छन्, ‘तरकारी अझै टन्नै छ। मूल्य पनि राम्रो पाएका छौं। तर हाटबजार व्यवस्थित भएन। वास्तविक किसानलाई राज्यले कहिल्यै नहेर्ने भयो।’ उनका अनुसार सामान्य खेतीपाती गर्नेले पनि यो सिजनमा दुई–तीन लाखको तरकारी बेच्ने गरेका छन्।

प्रदेश, संघ र गाउँपालिका कसैले पनि कुनै सहयोग नगरेको हाटबजार व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर बुढामगर बताउँछन्। ‘पोहोर गाउँपालिकाले अनुदानमा बीउविजन र सामान्य तालिमबाहेक अरु कतैबाट सहयोग पाइएको छैन। रोल्पाली नेता वर्षमान पुन आउदा ज्ञापनपत्र पनि दिएको हो। पटक पटक भनेका छौं तर, समस्या समाधानमा चासो दिएका छैनन्। व्यापारीले पनि कहिलेकाही मनलाग्दी मूल्य गर्छन्। जताबाट पनि कृषक मारमा छन्।’ उनका अनुसार कृषि कार्यालयले उहिल्यै चार वर्षअगाडि दुईवटा टहरा बनाएको बाहेक अरु केही सहयोग गरेको छैन। ‘तरकारी भिज्यो भने मूल्य पाइँदैन,’ उनले भने, ‘त्यसैले कम्तीमा छानो त चाहियो नि।’

प्रकाशित: २६ श्रावण २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App