१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुरसारै छैन नारायणहिटी पुनर्निर्माण

काठमाडौं- दिनहुँ हजारभन्दा बढी सर्वसाधारण ऐतिहासिक नारायणहिटी दरबार हेर्न धाउँछन्। राजतन्त्र र राजसंस्कृतिको इतिहासका अवशेष बोकेको नारायणहिटी संग्रहालय हेर्ने उनीहरुका उत्सक आँखा भने जीर्ण भवन र भग्नावशेष हेरेर फर्कन्छन्।

किनकि, वैशाख १२, २०७२ को भूकम्पले भत्काएका दरबार घेर्ने पर्खाल र भित्रका भग्न दरबार पुनर्निर्माणको अहिलेसम्म सुरसारै छैन।

भूकम्प गएको १८ महिनासम्म ऐतिहासिक दरबार र परिसराका संरचना पुनर्निर्माण सुरु नहुँदा त्यहाँ पुग्ने जोसुकैको मन खिन्न हुन्छ।

भूकम्पले कुल ७ सय ५४ रोपनीको दरबार परिसर घेर्ने २.७ किमी पर्खालमध्ये २.४ किमी पूरै ढलेको छ भने बाँकी पनि जुनसुकै बेला ढल्ने अवस्थामा छ।

पर्खालसँगै दरबारभित्र रहेको पुरानो नारायणहिटी दरबारको अवशेष र जंगबहादुर राणाका भाइ रणोद्वीपको हत्या भएको रणोद्वीप दरबार पनि भूकम्पबाट पूर्ण रुपमा भत्किएका छन्। बनाउन त के, यी संरचनाका भग्नावशेषसमेत हटाइएको छैन। दक्षिणतिर (जयनेपाल हलतर्फ)को कलात्मक प्रवेशद्वार (पुरानो मुख्य द्वार) आधा भत्किएर धराप बनेको छ।

'यो धरापले जोखिम मात्र होइन, दरबारकै संरचनालाई कुरुप बनाएको छ,' नाराणयहिटी दरबार संग्रहालय प्रमुख रोहित ढंुगानाले नागरिकसँग भने, 'पहिल्यै हटाउनुपर्थ्यो तर अहिलेसम्म सकिएको छैन,' उनले थपे, 'त्यसलाई पनि बजेट चाहिन्छ, त्यही नभएर काम हुन सकेन।'

सम्बन्धित निकायमा बजेट माग्दा नपाएकाले जोखिमयुक्त संरचना हटाउन नसकिएको उनले गुनासो गरे।

ऐतिहासिक दरबार घेरिएको पर्खाल उठाउन नसक्दा सहरकै सुन्दरतामा आँच आएको स्थानीय व्यापारी सुनाउँछन्। नेपाली सेनाले भत्किएको पर्खाललाई काँडेतारले घेरे पनि दरबार वरपर हिँड्दा अझै भूकम्पको झल्को आउने उनीहरुको भनाइ छ।

'दरबारवरपर हिँडिरहनुपर्छ,' बटुवा नारायण उप्रेतीले भने, 'पर्खालको भग्नावशेष देख्दा वैशाख १२ कै झल्को आउँछ।' नारायणहिटी दरबार संग्रहालय भ्रमणमा आउनेहरु दरबार पुनर्निर्माण थाल्न ढिलाइ भएकोमा दुःख व्यक्त गर्छन्। 'ऐतिहासिक दरबार पुनर्निर्माण चाँडो गरिनुपर्छ,' इतिहास जान्न भ्रमणमा आएकी रत्नकुमारी लुइँटेलले भनिन्।

त्यसो त संग्रहालयले दरबार पुनर्निर्माण थाल्न समयमै तदारुकता नदेखाएको होइन। 'भूकम्प गएको चार महिनामै हामीले क्षति विवरण र पुनर्निर्माणको अनुमानित बजेट माग गरी सम्बन्धित निकायमा पठाएका थियौं,' संग्रहालय प्रमुख ढुंगानाले भने, '१५ महिनासम्म बजेट त के, कुनै खबरसम्म आएको छैन।' दरबारमा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि २५ करोडका लाग्ने आँकडा संग्रहालयको छ जसमध्ये ८ करोड रुपैयाँ पर्खालमै लाग्नेछ। संग्रहालयका अनुसार अब बन्ने संरचना तथा पर्खाल ऐतिहासिक स्वरुप नबिग्रने गरी भूकम्पप्रतिरोधी बनाइनेछ।

कहिले सुरु हुन्छ त दरबार पुनर्निर्मार्ण?

यसको जवाफ स्वयं पुनर्निर्माण प्राधिकरणसँग छैन जुन भूकम्पले ढालेका संरचना उठाउनकै निम्ति गठन गरिएको हो। प्राधिकरणका प्रवक्ता राम थपलिया प्राधिकरण निर्देशन समिति बैठकले बजेट विनियोजन नगरेकाले दरबार पुनर्निर्माण कहिलेबाट हुन्छ यकिन गर्न नसकिने बताउँछन्। 'निर्देशन समितिले निर्णय नगरी बजेट उपलब्ध गराउन मिल्दैन,' थपलियाले भने, 'पछिल्लो बैठकसम्म यस्तो निर्णय भएको छैन, अब बस्ने बैठकमा होला।' निर्णयपछि मात्रै पुनर्निर्माणबारे बताउन सकिने उनले औंल्याए।

संग्रहालय भ्रमणमा दैनिक १ हजारमाथि सर्वसाधारण पुग्ने गर्छन्। भ्रमणमा आएकाको प्रवेश शुल्कबाट मात्र दैनिक एक लाख हाराहारी राजस्व संकलन हुने गरेको संग्रहालयको तथ्यांक छ।

दरबार परिसरमा हाल परराष्ट्र मन्त्रालयको राहदानी विभाग, सुरक्षा निकाय (नेपाल आर्मी र नेपाल प्रहरी), नारायणहिटी दरबार संग्रहालय र पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको निवास छ।

प्रकाशित: २६ कार्तिक २०७३ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App