१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘जिरीमा पर्यटक लोभ्याउँदै छौ’

टंक जिरेल
मेयर, जिरी नगरपालिका, दोलखा

पारिवारिक, शैक्षिक र हनिमुन यात्राका लागि जिरी सुन्दर गन्तव्य हो।  हामी ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी’ अभियानमार्फत् पर्यटन प्रवद्र्धनमा जुटेका छौं।  

कुनै समय ‘सगरमाथाको प्रवेशद्वार’का रूपमा चिनिएको जिरीमा अहिले पर्यटनको अवस्था के छ ?
सोलुखुम्बुको लुक्ला विमानस्थलमा निजि वायुसेवा कम्पनीहरूले उडान भर्न थालेपछि अधिकांश विदेशी उतैबाट सगरमाथा आउजाउ गर्न थाले।  त्यसैले जिरी विदेशी पर्यटकका हिसावले सुनसान बन्दै गयो।  नेपाली पर्यटकको आकर्षण भने दिनानुदिन बढ्दै गएको छ।  
जिरी किन घुम्ने ? जिरी उपत्यका र सेरोफेरोका प्रमुख पर्यटकीय सम्पदाहरू केके छन् ?
स्वच्छ, सफा हावापानी र प्राकृतिक सौन्दर्य जिरीका विशेषता हुन्।  यसबाहेक मठ मन्दिर, गुम्बा, चिया बगान, चिज कारखाना, च्र्योदोङ, ठूलो नागी, हनुमन्ते, ठाउँठाउँमा बनेका पार्क, झरना, ट्राउट माछा, किवी तथा आलुका परिकार पनि जिरीका आकर्षण हुन्। 

पर्यटन विकासमा देखिएका प्रमुख समस्या केके हुन् ? तिनको समाधानका लागि नगरपालिका के गर्दै छ ?
हालका लागि प्रमुख समस्या यातायातको छ।  लामोसाँघुदेखि जिरीसम्मको सडक विस्तार गरेर डबल लेन बनाइँदै छ।  त्यसैले यातायात सहज छैन।  तर, खुर्कोट–मन्थली भएर तामाकोसी हुँदै जिरी यात्रा गरेमा सहज हुन्छ।  तर, यो बाटो अलिकति लामो पर्छ।  अहिले धमाधम पर्यटकीय पूर्वाधारहरूको विकास हुँदै छ।  हामी पार्क निर्माण, सडक निर्माण, प्रतीक्षालय, खानेपानी, पोखरी लगायत पूर्वाधार निर्माणमा जुटेका छौं।  

जिरीलाई ‘पर्यटकीय नगरी’ बनाउन तपाईंको योजना ?
हाम्रो अभियान छ, ‘क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी। ’ यसकै सेरोफेरोमा हामी पर्यटन विकासमा जुटेका छौं।  पर्यटक लोभ्याउँदै छौं।  त्यसैले जिरीमा पारिवारिक भ्रमण, हनिमुन यात्रा, शैक्षिक भ्रमण, जैविक विविधता अध्ययन लगायत सबैखाले अध्ययन तथा अवलोकन गर्न सकिन्छ।  हामीले अर्गानिक उत्पादन र खानामा जोड दिएका छौं।  हामी जिरी बजार मुन्तिर ‘जिरी ताल’ बनाउँदै छौं।  त्यसका लागि डिपिआरको काम सुरु भैसक्यो।  बजारमाथि पटाँसे डाँडामा १९५ फिट अग्लो तामाको गुरु पद्मसंभवको प्रतिमा बन्दै छ।  त्यस्तै खावाडाँडामा भ्यू टावरसहितको पार्क बन्दै छ।  च्र्योदोङको विकासका लागि पटासेदेखि क्याङ्सीपोखरीसम्म सडकको स्तरोन्नती र त्यहाँ भन्दा माथि पदमार्ग बनाउँदै छौं।  त्यस्तै गुराँस पार्कमा पोखरी बनाइसक्यौं।  त्यहाँ पनि पर्यटकीय पूर्वाधार विकास गर्दैछौं।  त्यहाँबाट ठूलो नागीसम्म पदमार्ग बनाउने छौं।  त्यस्तै ऐतिहासिक हनुमन्ते डाँडामा हुनमान टावर बनाउने योजना छ।  

जिरी बजारमा होटल तथा रेष्टुराँ सुविधाको अवस्था के छ ?
जिरीमा पर्यटकीय सुविधाका होटल तथा रेष्टुराँ छन्।  तिनको सेवा र सुविधामा सुधार गर्न नगरपालिकाले विभिन्न प्रकारका तालिम दिँदै आएको छ।  हामी सुविधायुक्त होटल निर्माण र अतिथि सत्कारमा जोड दिइरहेका छौं।   
जिरीमा होमस्टे पर्यटन सुरु गराउने विषयमा के गर्दै हुनुहुन्छ ?
जिरी नगरपालिका–९ को खोल्मे गाउँमा होमस्टे सुरु भैसक्यो।  सुनुवार वस्तीमा मिठो खाना र आत्मीयता पाइन्छ।  अब हामी शेर्पा बस्ती बुलडाँडा, जिरेलको सिक्री र यलुङ उपत्यका र स्टोन पार्क नजिकै पुम्पा उपत्यकामा पनि होमस्टे सञ्चालन गर्ने तयारीमा छौं।  

प्रकाशित: २५ श्रावण २०७६ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App