१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बुद्धले जवाफ नदिएका प्रश्न

गौतम बुद्ध ई.पू. ४८३ मा वर्तमान भारतको कुशीनगरमा महापरिनिर्वाण हुँदा ठ्याक्कै ८० वर्षको उमेर पुगेको थियो। ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको र त्यस उपरान्त निरन्तर धर्म उपदेश दिँदैं हिँडेको हुँदा धर्मोपदेशको समय ४५ वर्ष रह्यो। विभिन्न प्रसंगमा बुद्धले उपदेश दिएको पाइन्छ। आजपर्यन्त ती उपदेशको अध्ययन, चिन्तन तथा अभ्यास गरिन्छ। बुद्धकहाँ अनेकौं जिज्ञासु आउँथे र आफ्ना प्रश्नको जवाफ लिएर फर्कन्थे। तर, बुद्ध केही प्रश्नको जवाफ दिंदैनथे। ती प्रश्नमाथि छलफल गर्न रुचाउँदैनथे। मौन बसिदिन्थे वा अरू नै कुरा गर्थे। यस्ता प्रश्नको संख्या १० भएका कारण यसलाई दश अव्याकृत प्रश्न पनि भनिन्छ। ती प्रश्नमाथि बुद्ध किन छलफल गर्न चाहँदैनथे भन्ने थाहा पाउन सके पनि केही मात्रामा बुद्ध र उनको धर्म बुझ्न सघाउ पुग्ने हुन्छ।
दश अव्याकृत प्रश्नहरू
१. संसार नित्य छ ?
२. संसार अनित्य छ ?
३. संसारको अन्त छ ?
४. संसारको अन्त छैन ?
५. जीव र शरीर एउटै हो ?
६. जीव र शरीर एउटै बेग्लै हो ?
७. निर्वाणपछि तथागत हुन्छ ?
८. निर्वाणपछि तथागत हुँदैन ?
९. निर्वाणपछि तथागत हुन्छ पनि हुँदैन पनि ?
१०. निर्वाणपछि तथागत न हुन्छ न हुँदैन।
समाजमा ‘संसार नित्य छ’ भन्ने दार्शनिक मतवाद छ। यसलाई अर्को भाषामा शाश्वतवाद भनिन्छ। यसअनुसार आत्मालाई नित्य मान्ने गरिन्छ। तर, यसको विपरीत ‘संसार अनित्य छ’ भन्ने मान्यता राख्ने उच्छेदवाद पनि समाजमा थियो र छ। यसरी नै संसार अन्त छ वा संसार अन्त छैन भन्ने विषय पनि बहसको अर्को पाटो हो।  

बौद्ध दर्शनमा सामान्य रुचि राख्नेलाई पनि थाहा भएकै कुरा हो, यो दर्शनको त्रिलक्षणमा एउटा ‘अनित्य’ हो। यहाँ नित्य भन्ने केही छैन, सर्वम् अनित्यम्। अन्य कुरा अनित्य भए पनि आत्मा वा परमात्मा भने नित्य नै रहेको मतवाद बुद्धलाई मान्य छैन। बुद्ध अनित्यतालाई दर्साउन नै अनेक उपायले उपदेश दिइरहने गरेको यहाँ भुल्न मिल्दैन। बुद्धभन्दा निकै पहिलेदेखि विवाद वा छलफलको विषय रहँदै आइरहे पनि तिनीहरू बेग्लै प्रयोजन वा मनसायले अनित्यताको कुरा गर्ने गरेको पनि बुझ्न सकिन्छ।

निर्वाण प्राप्त नगरेसम्म चित्त, मन वा विज्ञान विद्यमान रहन्छ र तृष्णाको क्षयसँगै यसको पनि अन्त्य हुन्छ भन्ने बौद्ध मान्यता छ।

जीव अर्थात् आत्मा र शरीर एउटै हो वा फरक–फरक हो भन्ने पनि मान्छेको चासोको विषय रहँदै आएको पाइन्छ। आत्मा र शरीर बेग्लाबेग्लै हुन् र शरीरको मृत्युपछि आत्माले चोला फेरेजस्तै अर्को शरीरमा प्रवेश गर्छ र कहिल्यै मर्दैन बरु परमात्मामा विलय हुन जान्छ भन्ने मतवादविरुद्ध आत्मा भन्ने कुनै पृथक् तत्व नभएको र शरीरसँगै आत्माको पनि मृत्यु हुन्छ भन्ने मान्यता राख्नेहरू पनि छन्। बुद्ध नित्य आत्माको अस्तित्वलाई मान्दैनन्। तर, पूर्वजन्म र पुनर्जन्मको कुरा बडो महत्वका साथ गर्छन्। मृत्युपछि अर्को योनिमा वा उही योनिमा जन्मन्छन् तथा एउटा जन्ममा गरेको सुकर्म वा दुश्कर्मको फल अर्को जन्ममा लिएर जान्छन् भन्ने मान्यता पनि राखिन्छ। ठिक यही कुरा समातेर अक्सर झटारो हान्ने गरेको पनि पाइन्छ। आत्माको अस्तित्वलाई मान्दैन भने पुनर्जन्म कसको हुन्छ वा कर्मफल बोकेर जाने को हो ? यस सन्दर्भमा बौद्धहरू चित्त, मन वा विज्ञान शब्दको प्रयोग गर्छन्। यहाँ शब्द फरक भए पनि अर्थ एउटै हो। आत्मा शब्दले नित्यताको कुरा गर्ने हुँदा यो शब्द बौद्ध जगतलाई मान्य भएन। यसलाई अनित्य भनी अर्थ दिनसके सम्भवतः आत्मा शब्दको प्रयोग गर्नमा बौद्धहरूलाई खासै आपत्ति हुँदैनथ्यो। तर, यो शब्दसँगै नित्यताको अर्थ रहँदै आएका कारण चित्त, मन वा विज्ञान जस्ता शब्दलाई ग्रहण गर्नुपरेको छ। निर्वाण प्राप्त नगरेसम्म चित्त, मन वा विज्ञान विद्यमान रहन्छ र तृष्णाको क्षयसँगै यसको पनि अन्त्य हुन्छ भन्ने बौद्ध मान्यता छ।

निर्वाणपछि तथागत हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि दार्शनिक समाजमा बहसको विषय हुन्थ्यो। बहसकै क्रममा निर्वाणपछि तथागत हुन्छ पनि हुँदैन पनि वा न हुन्छ न हुँदैन भन्ने तर्कवितर्क गरिन्थ्यो। तर्कका लागि तर्क मात्रै गरेर बस्ने समाजसँग बुद्ध खासै रुचि राख्दैनथे। कतिपयको समस्या यिनै प्रश्नहरू हुन्थ्यो। तसर्थ जवाफ पाउन दूरदराजबाट मान्छे बुद्धसँग भेट्न र प्रश्न गर्न आउँथे। तर, बुद्ध तिनीहरूलाई जवाफ दिएर बस्नुको सट्टा मौन भइदिन्थे। अथवा यस्तो उपदेश दिन्थे जुन बुझिसकेपछि ती प्रश्नको जवाफको जरुरत पर्दैनथ्यो र सन्तुष्ट भएर फर्कन्थे। यसका सम्बन्धमा राम्रोसँग व्याख्या गरिएका दुई चूलमालुंक्यसुत्त र पोठ्ठपादसुत्त प्रसिद्ध छन्।

उल्लिखित दस प्रश्नको जवाफ दिन बुद्ध किन अनिच्छुक थिए त भन्ने प्रश्न महत्वपूर्ण छ। पोठ्ठपाद परिव्राजकलाई दिएको जवाफ बुद्धकै शब्दमा– ‘यो न अर्थयुक्त (प्रयोजनीय) छ, न धर्मयुक्त छ, न आदिब्रह्मचर्यको निमित्त छ, न उपशान्तको निमित्त छ, न अभिज्ञाको निमित्त छ, न त सम्बोधिको निमित्त छ तथा न त यसले निर्वाणमा पु-याउँछ। त्यसैले यसलाई हामीले नबताएका हौं।’

उसो भए के बताइएको छ त ? भनेर गरिएको प्रश्नको जवाफमा बुद्धले यसरी जवाफ दिएका थिए, ‘यो दुःख हो भन्ने कुरा हामीले बताएका छौं, यो दुःख समुदाय हो भन्ने कुरा हामीले बताएका छौं, यो दुःख निरोध हो भन्ने कुरा हामीले बताएका छौं तथा यो दुःखनिरोधको मार्ग हो भन्ने कुरा हामीले बताएका छौं।’

पोठ्ठपाद परिव्राजक पुनः प्रश्न गर्छन्, ‘यो कुरा किन बताउनुभएको हो त ?’ जवाफमा बुद्ध भन्छन्, ‘यो अर्थयुक्त छ। यो धर्मयुक्त छ। यो आदिब्रह्मचार्यको निमित्त उपयुक्त छ। यो निर्वेदको निमित्त छ। यो विरागको निमित्त छ। यो निरोधको निमित्त छ। यो उपशान्तको निमित्त छ। यो अभिज्ञाको निमित्त छ। यो सम्बोधिको निमित्त छ तथा यसले निर्वाणमा पु-याउँछ। त्यसैले यसलाई हामीले बताएका हौं।’

बुद्धका अनुसार समस्त प्राणी दुःखमा छ। जन्मनु मर्नुको चक्र नै दुःख हो तसर्थ यो चक्र नै तोड्नु पर्छ। बुद्धको मुख्य आसय नै दुःखको अन्त्य हो। हामीमा भएको तृष्णाले नै सबै समस्याको सिर्जना गर्छ। तसर्थ, तृष्णा क्षय गर्दा जन्मनु र मर्नुको चक्र तोडिन्छ अथवा दुःखको मूल सुक्छ तसर्थ यसतर्फ ध्यान दिनुपर्छ। मनुष्य जीवन निकै छोटो छ, यो छोटो समयमै जे जति राम्रो गर्ने हो गर्नु पर्छ, विवादमा फसेर बस्दा समयको मात्रै बर्बादी हो। यसै सन्दर्भमा विषयुक्त वाण कसले हानेको, किन हानेको, महिला वा पुरुष, कुन जात वा वर्णले हानेको भन्नेजस्ता प्रश्नको जवाफ नआउन्जेल उपचार गर्दिन भनेर बसुन्जेल ढिलो भइसक्ने हुँदा यावत प्रश्नलाई छाडेर उपचारतिर लाग्नु पर्ने बुद्धको भनाइ मननीय छ। तसर्थ, यतातर्फ मान्छेहरू अल्झिनु भनेको दुःखमा फस्दै गर्नु हो। दस अव्याकृत प्रश्नमाथि जति नै माथापच्ची गरे पनि वा निष्कर्षमै पुगे पनि प्राणीको समस्यामा यसले केही भूमिका खेल्दैन तसर्थ यो मान्छेको समस्यासँग सम्बन्धित छैन।

ईश्वर छ कि छैन ? दर्शन क्षेत्रमा ईश्वरको अस्तित्व एउटा अहम् प्रश्न छ। कुनै सम्प्रदाय सारा जीवन र जगतको सत्ता ईश्वरमा रहेको, तर ईश्वर अदृश्य र अविनाशी भनी व्याख्या गर्छन्। यसको व्याख्या विभिन्न सम्प्रदायले आ–आफ्नै ढंगले गरी अत्यन्तै श्रद्धाका साथ लिने गर्छन्। यसको विपरीत अरु पनि केही सम्प्रदाय छन् जसले ईश्वरको अस्तित्वलाई ठाडै अस्वीकार गर्छन्। वेदसँग सम्बन्धित दार्शनिक सम्प्रदायमा सांख्यले ईश्वरको अस्तित्व नमान्ने तर अरुले मान्ने गरेको पनि पाइन्छ। ईश्वरको अस्तित्वलाई मान्ने वा नमान्ने दुई दृष्टिकोण बीचको मतभद नौलो होइन, अत्यन्तै प्राचीनकालदेखि विवादको विषय बन्दै आइरहेको छ। बुद्धको समयमा पनि यो विवाद थियो नै। ईश्वरको अस्तित्वलाई उपहास समेत गरेको प्रसंग बौद्ध ग्रन्थमा परेको छ।

ईश्वरसम्बन्धी प्रश्न पनि बुद्धको चासोको विषय भएन। यही भएर कसैकसैले यसलाई पनि दस अव्याकृतमध्ये एक हो भन्ने धारणा राखेको पाइन्छ तर यो बेगलै विषय हो। बौद्धहरू अनिश्वरवादी भएकोमा शंका छैन। अनिश्वर भएकै आधारमा कतिपय भौतिकवादी बौद्ध धर्मदर्शनको मुक्तकण्ठले प्रशंसा गर्छन्। अनात्मावादी भएका कारणले पनि त्यसरी नै मुक्तकण्ठले प्रशंसा गर्छन्। तर, बुद्ध र बौद्ध धर्मदर्शन उनीहरूले सोचेजस्तो भौतिकवादी भने कदापि होइन। यो बुझ्न नसकेर वा नचाहेर बरु बुद्ध र बौद्ध धर्मदर्शनकै अपव्याख्या गरिटोपल्छन्। वा बुद्धको शिक्षालाई उनैका अनुयायीहरूले विकृत पारेको भन्दै बौद्धहरूलाई गाली गर्ने गरेको पनि पाइन्छन्।

बौद्ध धर्मदर्शनमा पाँचौं आर्यसत्यका रूपमा चर्चित ‘प्रतीत्यसमुत्पाद’ बुझ्न सके बौद्ध धर्मलाई बुझिने वा बौद्ध धर्मलाई बुझ्न सके प्रतीत्यसमुत्पाद बुझिने कथन छ। एकको कारण अर्को कुरा उत्पन्न हुने तथा कारणलाई नष्ट गर्नसके उत्पन्न नहुने अर्थात् कार्यकारणको सिद्धान्त नै प्रतीत्यसमुत्पाद हो। यसअनुसार भवचक्र चलिरहेको पाइन्छ, न कि ईश्वर वा कुनै सत्ताले चलाइरहेको। बौद्ध मान्यताअनुसार ईश्वरको जस्तै दस अव्याकृत प्रश्नहरूको पनि सम्बन्ध जीवनको समस्यासँग छैन। तसर्थ यी कुरा चासोको विषय नै रहेन।

प्रकाशित: २५ श्रावण २०७६ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App