१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक बालबालिकाको सरकारी व्यवस्थापन

काठमाडौं– उपत्यकाका सडक बालबालिकाको सहारा बालबालिका खोजतलास समन्वय केन्द्र बनेको छ। केन्द्रले सडक बालबालिकाको उद्दारपछि उचित व्यवस्थापन गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।

अधिकारीका अनुसार केन्द्रले बालबालिकाको उद्दार, मनोविमर्श, संरक्षण, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुनर्मिलनलगायत पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ। अभिभावक गुमाएका सडक बालबालिका पहिचान गरी केन्द्रले उद्दार गर्ने र उनीहरूको उचित पालनपोषण, शिक्षादीक्षाको व्यवस्था गर्न बालगृहरूमा पठाउने अधिकृत अधिकारीले बताए।

१ वर्ष २ महिनायता उपत्यकामा उद्दार गरेका ३ सय ४८ जना बेबारिसे सडक बालबालिकामध्ये २ सय ४० जनालाई परिवारसँग परामर्श गरी अभिभावकको जिम्मा लगाइएको केन्द्रले जनाएको छ। केन्द्रले ९४ जना बालबालिका विभिन्न बाल संरक्षणगृहमा राखेका जनाएको छ।

केन्द्रले बालबालिका फेरि सडकमा नआउने वातावरण बनाउने बताउँदै अधिकारीले उनीहरूको उद्दार गर्न वा बालबालिका हराए, अपहरण परे, बेवारिसे फेला परे, ओसारपोसार तथा बेचबिखन हुन लागे, बन्धकमा परिएमा, बालत्कारमा परेमा, हत्या भए वा जोखिमा परेका भए खोजतलास गर्न, तुरुन्त कारबाही गर्न केन्द्रको फोन नम्बर १०४ मा टेलिफोन गरी जानकारी दिन सकिन्छ ।

केन्द्रले उपत्यकामा भ्वाइस अफ चिल्ड्रेन, एपीसी नेपाल, शक्ति समूह, कोसिस नेपाल, बालमन्दिर, ओसिड नेपाल, छोराछोरी नेपाललगायत विभिन्न संघसंस्थासँग समन्वय गरी सडक बालबालिका संरक्षण गरिरहेको जनायो। बालबालिकाका समस्या समाधान गर्न विसं २०६३ मंसिर २२ गते बालबालिका खोजतलाश समन्वय केन्द्र स्थापना भएको थियो।

प्रकाशित: २५ कार्तिक २०७३ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App