१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अस्तव्यस्त विराटनगर–इटहरी–तरहरा सडक

इटहरी क्षेत्रमा खाल्डाखुल्डी भएको सडक। तस्बिर: अमर/नागरिक

इटहरी - यातायातको सहजताले गर्दा प्रदेश एककै केन्द्रमा पर्ने इटहरीको चौरास्ता चोकदेखि सय मिटर दक्षिणपट्टि विराटनगर लाइनमा अनगन्ती खाल्डाखुल्डी छन्।  खाल्डाखुल्डीका कारण सन्तुलन गुमाएको ग्यास ट्यांकरले बुधबार ठक्कर दिँदा इटहरी–९ का १९ वर्षीय मोटरसाइकल चालक पाण्डप गोस्वामी घाइते भए।  को २३ प २७१६ नम्बरको मोटरसाइकललाई एनएल ०१०९१२ नम्बरको ग्यास टं्याकरले ठक्कर दिँदा मोटरसाइकल चालक गोस्वामीको बायाँ खुट्टामा चोट लाग्यो।  अहिले उनको विराट नर्सिंह होममा उपचार भइरहेको छ।

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये प्रदेश एकको राजधानी विराटनगरबाट इटहरी, तरहरासम्मको सडक निर्माणाधीन छ।  निर्माण भइरहेको सडकमा बग्रेल्ती खाल्डाखुल्डी भएकाले स्थानीय जनजीवन पूरै प्रभावित भएको छ।

सवारी दुर्घटनाको एउटा कारकमध्ये सडकको अवस्थामा खराब हुनु पनि एक भएकाले विराटनगर–इटहरी–तरहरा सडक उच्च जोखिममा रहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनायो।  ‘सडकले गर्दा सवारीचालक र पैदलयात्री दुवैले समस्या भोग्नुपरिरहेको छ,’ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक होमनाथ दाहालले भने, ‘सारसउँदो मान्छे सडकले गर्दा जतिसुकै बेला दुर्घटना र जोखिममा पर्नुपरेको छ। ’ विराटनगर–इटहरी क्षेत्रको सडकमा हुने गरेका दुर्घटनामध्ये अधिकतर खाल्डाखुल्डीले गर्दा भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‘सडकमा थुप्रै खाल्डाखुल्डी हुँदा पानी परेको बेला त अन्दाजको भरमा गाडी कुदाउने गरिएको छ,’ विराटनगर–धरान रुटमा चल्ने ना५ख १८९१ का गाडी चालक निर्मल मगरले भने, ‘पानी नपर्दा पनि सवारीसाधनको चाप हुने गरेकाले गर्दा पूरै डरमर्दो हुने गर्छ। ’ उनका अनुसार, खाल्डाखुल्डीमा गाडी गुडाउँदा यात्रु ठोकिने अनि झाेंक्किने गर्छन्।

‘कतिपय अवस्थामा त खाल्डाखुल्डीमा निस्किएका ढुंगा उछिटिएर पैदलयात्रु र मोटरसाइकल चालकलाई लाग्ने खतरा हुन्छ,’ उनले भने, ‘कतिञ्जेल यस्तो समस्यामा गाडी कुदाउनु ?’ उनले कसैले पनि आफ्नो ढंगले सहज रूपमा विराटनगर–इटहरी सडक क्षेत्रमा आउजाउ गर्न नपाएको अनुभव सुनाउँदै उनले भने, ‘सबै मान्छे बाध्यताले हिँड्नुपर्छ।  अहिले विराटनगर–इटहरी क्षेत्रको सडकमा कोही पनि आरामले हिँड्न पाएका छैनन्। ’

भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ, जसमध्ये अहिले साढे ३४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ।

निर्माणको काम भइरहेको सडक खण्डअन्तर्गत बढी मात्रामा सडक बिग्रिएको र खाल्डाखुल्डी भएका मुख्य स्थानमा इटहरी चोकदेखि उत्तरतर्फको सैनिक क्याम्प अगाडि, आँपगाछी चोक क्षेत्र, बरगाछी चोक, इटहरीदेखि दुहवी क्षेत्रमा सोनापुरको प्रगति टेक्सटायल उद्योग अगाडिको क्षेत्र र दुहवी बजार क्षेत्र छन्।

यस्तै, मोरङमा निमुवा, टंकिसिनुवारीमा हस्पिटल अगाडिको क्षेत्र र विराटनगरको महेन्द्र चोकदेखि बसपार्कसम्म बढी खाल्डाखुल्डी रहेका छन्।  बाँकी सडक खण्डमा पनि खाल्डाखुल्डी बग्रेल्ती छन्।  केही सीमित स्थानमा सडक विस्तार गरिएको छ।  तर त्यसरी विस्तार गरिएको खण्डमा पनि खाल्डाखुल्डी परिसकेका छन्।

खाल्डाखुल्डी भएको स्थानमा पानी परेको बेला सवारी कुदाउन सकस हुने गरेको छ।  अर्कोतिर जब पानी रोकिन्छ अनि घाम लागेपछि पूरै धूलो उड्छ, जसले गर्दा सडकमा आउजाउ गर्नेको स्वास्थ्यमा धुलोले असर गर्ने गरेको छ।  इटहरी वडा नं. ९ का मुना सिंहले भने, ‘कहिलेकाँही मोटरसाइकलमा विराटनगर आउजाउ गर्छु, मास्क लगाएन भने पूरै धुलोले सास फेर्ने गाह्रो हुन्छ। ’

सडकको धुलोले दम तथा क्यान्सरजस्तो जटील प्रकारको स्वास्थ्य समस्या हुने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक विकास साहले बताए।  ‘धुलोले गर्दा दम र लामो समयसम्म धुलोमा हिँडडुल गर्नेलाई क्यान्सरको खतरा रहन्छ,’ उनले भने।

सडक खाल्डाखुल्डी हुनु अनि यो सडकमा सवारीसाधनको बढी चापले गर्दा स्वास्थ्यसम्बन्धी ‘जोखिम’ उच्च छ।  ‘यात्रुबाहक बस पनि अनियन्त्रित ढंगले हाक्छन्,’ ना४ख ८४८६ नम्बरको ट्रकका चालक इटहरी घर भएका भुवन सुनुवारले भने, ‘विराटनगर–इटहरी सडक खण्डमा यतिबेला जहिल्यै त्रास छ।  लामो समयदेखि यो सडक धराप र ज्यानमारा बनेको छ। ’ उनले अहिलेसम्म विश्वकर्मा बाबाका कल्याणले ठूलो दुर्घटना नभए पनि खाल्डाखुल्डीका कारण ढुक्क हुनुपर्ने अवस्था भने नभएको बताए।

छ लेन सडक विस्तारअन्तर्गत अहिलेसम्म ठेकेदार कम्पनीले जिम्मा लिएको सडक कसैले पनि पूरा गरेका छैनन्।  इटहरी चोकदेखि उत्तरतर्फ दुईवटा ठेकेदार कम्पनीले ठेक्का लिएको सडक र मोरङ क्षेत्रमै पर्ने १५ देखि १७ किलोमिटर निर्माणको जिम्मा लिएको म्याद गुज्रिएको छैन।  नत्र अरू सबै ठेकेदार कम्पनीले म्याद गुजारेको सडक विस्तार आयोजना इटहरीका इन्जिनियर अमरेन्द्रकुमार यादवले बताए।

अहिलेसम्म ठेक्का लागेको सडक १४ वटा ठेकेदार कम्पनीले जिम्मा लिएका छन्।  जिम्मा लिएका ठेकेदार कम्पनीमध्ये इटहरी चोकदेखि उत्तर तरहरा बजारसम्म २५ प्रतिशत काम पूरा भएको छ।  रानीदेखि इटहरीको चौरास्ता चोकसम्म तीनवटा कम्पनीले ९८ प्रतिशत काम पूरा गरे पनि अरुले भने ४० प्रतिशत हाराहारीमात्र काम पूरा गरेका छन्।

छ लेन सडक विस्तार आयोजना इटहरीका इन्जिनियर यादवले ठेकेदार कम्पनीलाई हप्तैपिच्छे पत्राचार गरी काम सक्ने ताकेता गरिरहेको बताए।  ‘खाल्डाखुल्डी भएको स्थानमा पुर्ने काम ठेकेदारकै हो, बजार क्षेत्रमा धुलो उड्दा पानी पनि हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘सडक खाल्डाखुल्डी भएका स्थानमा थुप्रैपटक ग्राभेल हालिएको छ। ’

२०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिए पनि याो सडक आयोजना कहिलेसम्म टुंगिने भन्ने यकिन हुन सकेको छैन।  पूरै सडक निर्माण गर्दा सुरुमा १० अर्ब ९८ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा अहिलेसम्म निर्माणाधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको छ।  विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किलोमिटर ठेक्का लाग्न बाँकी छ।  इटहरीको तरहरादेखि धरानसम्म १५ किलोमिटर सडक पनि कहिले ठेक्का लाग्ने टुंगो लागिसकेको छैन।

दुहवीमा सरकारले २०५४ सालमै ६ सय ३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रूपमा कायम गर्ने निर्णय गरेको थियो।  त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्ररेखादेखि दाँयाबाँया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो, जसले गर्दा दुहवी क्षेत्रमा सडक विस्तारको काम अलपत्र अवस्थामा छ।

प्रकाशित: २४ श्रावण २०७६ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App