२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अत्यासलाग्दो शैक्षिक अवस्था, चार शिक्षकमा भरमा क्याम्पस

नव नेपाल क्याम्पस। तस्बिर: दिनेश/नागरिक

रोल्पा - त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको छ।  सुन्दा पत्याउनै नसकिने रहे पनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुवै विषयका शिक्षक छैनन्।  एकजना क्याम्पस प्रमुख अंग्रेजीका फुलटाइम शिक्षक हुन् भने बाँकी तीनजनाले पार्टटाइम नेपाली पढाउँछन्।

प्रथम वर्षमा ४९, दोस्रो वर्षमा ३२ , तेस्रो वर्षमा ३८ र चौथो वर्षमा २१ जना विद्यार्थी भर्ना भए पनि शिक्षक अभावका कारण यहाँ दैनिक आउने विद्यार्थीको संख्या मुस्किलले दस÷बाह्रजना मात्र हुन्छ।  क्याम्पस प्रशासनका अनुसार सबै विद्यार्थी नियमित आउँदैनन्।  ‘जनसंख्या विषयमा थोरै मात्र विद्यार्थी भर्ना भएका छन्।  उनीहरू नियमित नआउने भएकाले शिक्षक नै नराखेको हो।  स्वास्थ्य पढ्ने अधिकतर विद्यार्थी कि कर्मचारी कि अन्य पेसा–व्यवसायमा व्यस्तहरू छन्,’ क्याम्पस प्रमुख गोपिन्द्रबहादुर केसीले भने, ‘क्याम्पस आर्थिक सकसमा छ।  पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन। ’

यहाँ स्वास्थ्य विषयको प्र्याक्टिकल गराउनुपर्ने बेला भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिएको छ।  रोल्पा जिल्लामै स्वास्थ्यको पढाइ नहुने भएपछि विभिन्न गाउँका विद्यार्थीहरू जुगारस्थित नवनेपाल क्याम्पसमा भर्ना हुन आउने गर्दछ।  विद्यार्थीको शुल्कका भरमा तलब र अन्य व्यवस्थापन गरिरहेको क्याम्पसलाई जीवित राख्नै हम्मेहम्मे परिरहेको स्थानीय बताउँछन्।  क्याम्पस प्रमुख थप्छन् ‘मुख्य समस्या आर्थिक नै हो।  विद्यार्थी नभएको वा पठनपाठन अब्बल नभएको भने होइन। ’

आर्थिक समस्याका कारण पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन।  स्वास्थ्य विषयको प्र्याक्टिकल गराउनुपर्ने बेला भने छिमेकी क्याम्पसबाट शिक्षक बोलाउने गरिन्छ क अभाव भन्दै पर्याप्त शिक्षक नराखे पनि भवन भने थप गरिएको छ।

‘पहिले पूरै शिक्षक राख्यौं, विद्यार्थी रेगुलर आएनन्।  शिक्षक हटाउनुप¥यो।  यो क्याम्पसका बारेमा स्थानीयस्तरमा बहस नै चलेको छ,’ स्थापनाकालदेखि नै क्याम्पस सञ्चालक समितिका अध्यक्षका रूपमा रहेका रमेशबहादुर वलीले भने, ‘अब प्राविधिक शिक्षातिर लैजाने सोचमा छौं।  यस्तो प्रकारको पढाइले विद्यार्थीको स्तर उठ्ला जस्तो लागेन। ’

क्याम्पसमा पूर्वाधार भने हालका लागि पर्याप्त छ।  पठनपाठन सञ्चालन भइरहेको क्याम्पस भवनभन्दा अलि पर स्थानीयले दान दिएको जग्गामा सभाहलसहितको भवन बनाइएको छ।  पहिला स्थानीय चंखबहादुर वलीले ११ रोपनी जग्गा दिए।  त्यसैमा भवन बन्यो।  कक्षा सुरु भयो।  पछि फेरि स्थानीय कुलानन्द गिरीले १४ रोपनी जग्गा दिए त्यही जग्गामा सभाहलसहितको नयाँ भवन बनाइएको हो।  आर्थिक अभाव भन्दै पर्याप्त शिक्षक नराखे पनि भवन भने थप गरिएको छ।

२०६४ सालमा स्थापना भएकोे यो क्याम्पस आर्थिक अवस्थाले थलिएको नजिकबाट बुझेको त्रिभुवन विश्वविद्यालयले भने सुधारका लागि कुनै पहल गरेको छैन।  विद्यार्थीका लागि राजनीति गर्छौ भन्ने स्ववियु सभापति परीक्षामा चिट काण्डका परेर तीन वर्षका लागि निस्कान भएपछि विद्यार्थीका पक्षमा बोल्नेसमेत कोही छैन।  औपचारिकताका लागि मात्र जस्तो देखिने क्याम्पस व्यवस्थित तरिकाले चलाउन सक्ने हो भने बर्सेनि लाखौं खर्च गरेर बाहिरी जिल्ला पढ्न जान बाध्य रोल्पाली विद्यार्थीले राहत पाउने थिए।

यता, सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पसको हालत पनि उस्तै छ।  न पर्याप्त विद्यार्थी छन्, न भर्ना भएकाहरू पनि नियमित पढ्न आउँछन्।  सधैं आर्थिक अभाव भएको गुनासो गर्ने यो क्याम्पसले अघिल्लो पटक स्ववियुको निर्वाचनताका भर्ना गरिएका तीन सय विद्यार्थीको भर्ना शुल्क चुनाव नभएपछि फिर्ता गरेको थियो।  पठनपाठन गतिलो बनाउन नसकेको भन्दै जिल्लाका अधिकतर विद्यार्थी पढ्नका लागि घरनजिकको क्याम्पस छोडेर बाहिरी जिल्ला जाने गरेका छन्।  मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धनप्राप्त जलजला क्याम्पसमा सधैं विद्यार्थीको खडेरी लाग्ने गरेको छ।

प्रकाशित: २४ श्रावण २०७६ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App