१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रोश बढ्दै जाँदा सयौं पक्राउ

श्रीनगर – विशेष राज्यको दर्जा खोसिएदेखि हालसम्म भारत प्रशासित कश्मीरमा कम्तीमा तीन सय जनालाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

अस्थायी पक्राउ केन्द्रहरुमा राखिएका ती व्यक्तिमा राजनीतिज्ञ, व्यापारिक नेता र प्राध्यापकहरु पनि रहेका छन् । कश्मिर क्षेत्रमा प्रदर्शन नहोस् भन्ने उद्देश्यका साथ यी अगुवाहरुलगायतलाई पक्राउ गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ‘विशेष राज्यको दर्जा खोस्ने निर्णयविरुद्ध कश्मीरका जनतामा धेरै आक्रोश छ,’ एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

केही प्रदर्शनकारीले सुरक्षा फौजमाथि केही स्थानमा ढुंगा प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ । ‘कश्मीरका जनता एकदमै आक्रोशित भएका छन्,’ एक स्थानीय ट्राभल एजेन्ट इकबालले बिबिसीसँग भने, ‘कश्मीरका जनता ज्वालामुखी जस्तो भएर बसेका छन् जुन निश्चय पनि विस्फोट हुनेछ र यसको असरबारे भारत पूर्ण रूपमा अनविज्ञ रहेको छ ।

पक्राउ पर्नेमा जम्मु कश्मीरका दुई पूर्वमुख्यमन्त्री मेहबुबा मुफ्ती र ओमार अब्दुल्लाह पनि रहेको बताइएको छ । उनीहरुलाई पनि इन्टरनेटमा बन्देज लगाइएको भए पनि भारतले देशको संविधान ३७० खारेज गर्ने निर्णय गरेलगत्तै उनीहरुले ट्विट गरेका थिए । यद्यपि त्यसपछि भने उनीहरुबाट कुनै प्रतिक्रिया बाहिरिएको छैन ।

भारतको संविधानको धारा ३७०ले संवैधानिक रूपमै कश्मीरलाई विशेष दर्जाको मान्यता दिएको थियो । यस व्यवस्थाअनुसार जम्मु कश्मीरले वैदेशिक मामिला, रक्षा र सञ्चारबाहेक अन्य विषयमा आफ्नो कानुन आफैं बनाउन सक्ने प्रावधान रहेको थियो ।

कश्मीरलाई दिइँदै आएको विशेष दर्जा खारेज गर्ने सरकारी घोषणा आएलगत्तै आफूहरुलाई बोल्न र अभिव्यक्तिसमेत राख्न नदिएको भन्दै कश्मीरका जनता आक्रोशित बनिरहेका छन् ।यस विषयमा जो कोही पनि बोल्न सकेका वा बोल्न पाएका छन् उनीहरुले निर्णय लिनुभन्दा अघि पर्याप्त छलफल नभएको भन्दै गुनासो गरेका छन् ।

यसैबीच, कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतको संविधानको धारा ३७० खारेज गरिएपछिको अवस्थालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

प्रकाशित: २४ श्रावण २०७६ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App