२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानले आर्थरसँगको सम्झौता नवीकरण नगर्ने

कराची – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले मुख्य प्रशिक्षक मिकी आर्थरसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । सन् २०१६ मेमा पाकिस्तानको प्रशिक्षण सम्हालेका ५१ वर्षे दक्षिण अफ्रिकी प्रशिक्षक आर्थरले टोलीलाई २०१७ को च्याम्पियन्स ट्रफी जिताएका थिए । हालै इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा टोलीलाई सेमिफाइनल प्रवेश गराउन नसकेपछि पिसिबी आर्थरसँगको सम्झौता अघि नबढाउने पक्षमा रहेको छ । उनीसँगै बलिङ प्रशिक्षक अजहर महमुद, ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावोर र ट्रेनर ग्रान्ट लुडेनसँग पनि पिसिबीको सम्झौता समाप्त हुनेछ ।

‘मिकी आर्थर र उनको टोलीले पाकिस्तान क्रिकेटमा पु¥याएको योगदानप्रति विशेष आभारी छौं,’ पिसिबीका इसान मानीले भने, ‘अब नयाँ प्रशिक्षकको आवश्यकता परिसकेको छ । केही दिनमै नयाँ प्रशिक्षकको टोली लाग्नेछ ।’

पिसिबीको निर्णय सार्वजनिक भएलगत्तै आर्थरले भने दुखद खबर भएको प्रतिक्रिया दिएका छन् । आर्थरको सम्झौता गत महिना सकिएको थियो । ‘पिसिबीको निर्णबाट म स्तब्ध छु,’ आर्थरले भने, ‘मैले आफ्नो जिम्मेवारी पूरा गरेको थिएँ । नतिजा सधंै सुखद आउँछ भन्ने छैन । यस पटक हामीले विश्वकपमा स्वाभाविक प्रदर्शन गर्न सकेनौं । यसमा प्रशिक्षकलाई मात्र दोष दिनु राम्रो होइन ।’

पिसिबीले इङ्ल्यान्डका प्रशिक्षक ट्रेभोर ब्लेसिसलाई नयाँ प्रशिक्षकका लागि प्रस्ताव गरेको बताइएको छ । ब्लेसिसले अस्ट्रेलियाविरुद्धको एसेस शृंखलापछि इङ्ल्यान्ड टोली छोड्ने यसअघि नै घोषणा गरिसकेका छन् । आर्थरलाई पनि इङ्ल्यान्डको नयाँ प्रशिक्षकको सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।’ आर्थरको प्रशिक्षणमा पाकिस्तानले पछिल्लो २ वर्षमा २८ मध्ये १० टेस्ट जितेको छ भने १७ हार र एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । एकदिवसीयमा पनि पाकिस्तानको प्रदर्शन उल्लेख्य छैन । ६६ खेलमा पाकिस्तान ३४ खेलमा मात्र विजयी भएको थियो भने ३४ खेल गुमाएको थियो । तीन खेल नतिजाविहीन बनेको थियो ।

 

 

प्रकाशित: २३ श्रावण २०७६ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App